अष्ट्रेलियामा बिरामीलाई थप्पड हान्ने नेपाली नर्स प्रहरी नियन्त्रणमा

अष्ट्रेलियामा बिरामीलाई थप्पड हान्ने नेपाली नर्स प्रहरी नियन्त्रणमा फोटो : नाइन न्यूज अष्ट्रेलिया

काठमाडौं। अष्ट्रेलियमा एक नेपाली नर्स पक्राउ परेकी छिन्। वृद्ध बिरामीलाई कुटपिट गरेको आरोमा नेपाली नर्स अस्मिता पाण्डे पक्राउ परेकी हुन्।

स्थानीय सञ्चार माध्यमका अनुसार पाण्डेले एक ९५ वर्षीया वृद्ध बिरामीलाई थप्पड हानेर धकेलेकी थिइन्।

सिड्नीको इपिङस्थित एस्टिया हेल्थ (वृद्ध हेरचाह केन्द्र) मा कार्यरत पाण्डेले त्यहाँ रहेका वृद्धलाई थप्पड हानेकी हुन्। पाण्डे नेपालबाट वर्किङ भिसामा अष्ट्रेलिया पुगेकी थिइन्।

पाण्डेले थप्पड हानेको र धकेलेको स्वीकार गरेकी छिन्।

उनले त्यहाँ राखिएका वृद्ध–वृद्धालाई निरन्तर हातपात गर्थिन्। एक–पटक वृद्धलाई सावरले हिर्काएको देखिएको थियो। पाण्डेले चिया कोठामा सहकर्मीहरू सामू आफूले अर्को एक वृद्धको अनुहारमा मुक्का हानेको भन्दै गर्वसाथ बताएकी थिइन्।

गत वर्ष नै सहकर्मीहरूले उनका हिंसात्मक क्रियाकलापबारे प्रहरीमा रिपोर्ट गरेका थिए। त्यसपछि प्रहरीले थालेको अनुसन्धानमा उनले आफूमाथिका आरोपहरू स्विकार गरिन् र प्रहरीले हिरासतमा लियो।

पाण्डेले कुटपिट गर्ने पीडितमध्ये एक ९५ जोन मुरे थिइन्।

‘हेरचाहाका लागि राखिएको आफनो मान्छेलाई दुर्व्यवहार गरिएको छ भनेर फोन आउँदा तनाब हुँदो रहेछ,’ उनकी छोरीले स्थानीय मिडियासँग भनेकी छिन्।

‘यदि साक्षीहरू अगाडि नआएको भए उनले सायद अझै पनि यो अपराध गरिरहेकी हुन्थिन्’, अर्की पीडित परिवारका सदस्यले अदालत बाहिर मिडियासँग भनेका छन्।

एस्टिया हेल्थका प्रमुख कार्यकारी अधिकृत सिन बिल्टनले यो घटनामा पीडित परिवारसँग माफी मागेका छन्।

‘हामी कहाँ रहेका वृद्ध–वृद्धाको सुरक्षा र कल्याण हाम्रो पहिलो प्राथमिकता हो,’ बिल्टनले भनेका छन्, ‘कुनै पनि प्रकारका दुर्व्यवहार सहन गर्दैनौं।’

अहिले गर्भवती भएकी पाण्डेलाई स्वास्थ्य सेवामा काम गर्न प्रतिबन्ध लगाइएको छ।

उनलाई कस्तो सजाय हुनेबारे आगामी मार्चमा त्यहाँको स्थानीय न्यायालयले फैसला सुनाउनेछ।