नेपालीले अष्ट्रेलियामा चलाए ‘राजदूत भगाउ’ अभियान

नेपालीले अष्ट्रेलियामा चलाए ‘राजदूत भगाउ’ अभियान अष्ट्रेलियाका लागि नेपाली राजदूत कैलाश राज पोखरेल

काठमाडौं। अष्ट्रेलियाका केही नेपालीले ‘राजदूत भगाउ’ अभियान सुरु गरेका छन्।

नेपाली समुदायका समस्यामा क्यानबेरास्थित दूतावास संवेदनशील नभएको भन्दै उनीहरुले राजदूत कैलाश राज पोखरेललाई फिर्ता बोलाउन माग गरेका हुन्।

राजदूत पोखरेलको कार्यशैलीप्रति असन्तुष्टि जनाउँदै अहिले नेपालीले ‘राजदूत भगाउ’ अभियान नै चलाएर संगठित हुन थालेका हुन्।

‘मृत्युका घटनाहरूमा पनि दूतावास संवेदनशील छैन। शव नेपाल पठाउन पनि दूतावासले चासो देखाएको छैन,’ सिड्नीमा कार्यरत हरि पोखरेलले भने, ‘यस्ता बेकामे राजदूत यहाँ चाँहिदैन। सरकारले तुरुन्तै फिर्ता बोलाउनपर्छ।’

पोखरेल विगत २५ वर्षदेखि अष्ट्रेलियामा छन्। उनले अष्ट्रेलियामा आप्रवासीलाई कानूनी साहयता प्रदान गर्दै आएका छन्।

‘म यहाँ बसेको २५ वर्ष भइसक्यो। मलाई अहिलेसम्म दूतावासको सहयोग आवश्यक परेको थिएन। अहिले परिवारमा दुस्खद घटना घट्यो,’ उनले प्रवास खबरसँग भने, ‘तर, दूतावासको गैर–जिम्मेवार पन र लाचार देख्दा साह्रै चित्त दुखेको छ।’

केहीदिन अघि सिड्नीमा एकै हप्ता विभिन्न कारणले ४ नेपालीले ज्यान गुमाएका थिए। तीमध्ये एक उनकी २१ वर्षीया भान्जि सम्पदा निरौला थिइन्। बेलुकाको समयमा समुन्द्रको छेउमा फोटो खिचाउने क्रममा एक्कासी आएको छालमा परी उनी गम्भिर बनेकी थिइन्। १५ दिन आइसीयूमा उपचार गरेपछि उनको मृत्यु थियो। उनीसँगै फोटो खिच्न पुगेका अन्य २ नेपाली भने बाँच्न सफल भएका थियो।

यो घटनापछि शव नेपाल पठाउन दूतावासको सहयोग मागिएको थियो। तर, दूतावास र राजदूत भने यसमा संवेदनीशल नबनेको तर्क पोखरेलको छ।

‘राजदूत भनेको विदेशमा बसेका नेपालीहरूसो अभिभावक हो। उहाँको भूमिका जिउँदो नागरिकको सेवा मात्र हैन मरेकालाई पनि उत्तिकै हुन्छ,’ उनले भने, ‘जिउँदो नेपालीको त कुरा छोडौं, मरेका लाशको पनि उनलाई केही मतलब छैन।’ आफ्नै देशका राजदूतको बारेमा यसरी टिप्पणी गर्नुपर्दा आफैलाई लाज लागेको उनले बताए।

दूतावासमा राजदूतसँग भेटका लागि पूर्वस्वीकृति ‘अपोइमेण्ट’ लिनुपर्ने व्यवस्था लागू गरेकोप्रति पनि उनले आपत्ति जनाए।

‘दूतावासमा सेवाग्राहीलाई प्रवेश निषेध गरिएको रहेछ। आफ्नै देशको राजदूत भेट्न पनि अनलाइनबाट अनुमति लिनुपर्ने यो कस्तो नियम हो ?,’ उनको प्रश्न छ।

भेटका लागि १५ दिनपछि मात्र समय पाइने उनको भनाइ छ। यसअघिका राजदूत हुँदा यस्तो नियम नभएको उनले बताए।

‘पहिलो पटक यो नियम कैलाश पोख्रेल ज्युबाटै लागू गरिएको रहेछ,’ उनले भने, ‘उहाँको कर्तव्य के हो ? दूतावासमा किन यस्तो भइरहेको छ ? म छक्क परिरहेको छु।’

पटक–पटक प्रयास गर्दा समेत आफूहरुले राजदूतलाई भेट्न नपाएको गुनासो उनको छ।

‘विदेशमा आपत पर्दा राजदूत नै खोजिन्छ। हामीले पनि त्यसै गर्‍यौं। फोन सम्पर्क गर्दा उहाँको सहकर्मीले राजदूत व्यस्त रहेको जानकारी दिदै भन्नुभयो–हजुरलाई राजदूतज्युले केही समयपछि फेरि सम्पर्क गर्नुहुनेछ,’ उनले भने, ‘तर, त्यो फोन आजसम्म पनि आएको छैन। अनि हामि हार खाएर शवको कुरा लिएर राजदूतावास पुग्यौं।’

४ नेपालीले ज्यान गुमाउँदा राजदूत पनि सिड्नमै रहेको दावी उनको छ। ‘४ नेपालीको शव सिड्नीमा लडेको छ। उहाँ परिवारसहित सिड्नी भम्रणमै हुनुहुन्थ्यो,’ उनले आक्रोश पोख्दै भने, ‘आफ्नै देशका नागरिक मर्दा साहनुभूति भन्ने हुँदैन ?मानवता भन्ने कहाँ गयो ? राजदूत भन्ने के–का लागि ?’

गैरआवासीय नेपाली संघ (एनआरएनए) का प्रतिनिधिले घटनामा चासो देखाएको तर, दूतावासभने मुकदर्शक बनेको उनको आरोप छ।

‘एनआरएनएले भिजिट गर्‍यो। कानूनी प्रक्रिया त दूतावासमार्फत नै गर्नुपर्छ। सुविधा त दिनुपर्छ नि !,’ उनले भने।

दूतावासमा राहदानी बनाउनकै लागि ६ महिनासम्म कुर्नुपर्ने झन्झटिलो प्रक्रिया भएको उनले बताए।

‘राहदानी बनाउन ६ महिनासम्म कुनुपर्छ भने यहाँ राजदूतको काम के भयो ? यस्ता राजदूत चाँहिदैन,’ उनले भने, ‘अबको राजदूत हामीलाई काम गर्ने सक्षम र राम्रो चाहिन्छ।’

‘राजदूत खेदाउने’ अभियानको संयोजन पोखरेलले नै गरेका छन्। यो अभियानबाट गृहमन्त्री रवी लामिछानेको हटलाइन तथा परराष्ट्र मन्त्रालयमा फोन तथा इमेल पठाएर दवाव सिर्जना गरिएको उनले बताए।