मलेसियन प्रहरीको नियन्त्रणमा रहेका दूतावासका कर्मचारी सम्पर्कमा

मलेसियन प्रहरीको नियन्त्रणमा रहेका दूतावासका कर्मचारी सम्पर्कमा

काठामाडौं। शुक्रबार दिउँसो पक्राउ परेका क्वालालम्पुरस्थित नेपाली दूतावासका कर्मचारी पासाङ लामालाई मलेसियन प्रहरीले छाडेको छ।

सोधपुछपछि आफूलाई राति सवा १२ बजे छाडेको लामाले प्रवास खबरलाई बताए।

दूतावासमा ड्राइभरको रुपमा कार्यरत लामालाई शुक्रबार दिउँसो मलेसियन प्रहरीले लिएको थियो। यसविषयमा प्रवास खबरले समाचार समेत छापेको थियो।

शनिवार अपरान्ह प्रवास खबरसँग सम्पर्कमा आएका उनले आफूलाई सामान्य सोधपुछ गरेर छाडेको बताएका हुन्।

कर्मचारीलाई प्रहरीले नियन्त्रणमा लिएपछि दूतावासले परराष्ट्र मन्त्रालयमा समेत जानकारी गराएको थियो।

प्रवास खबरसँग लामाले आफ्नो पक्राउबारेमा यसरी बताए :

म खाजा खानको लागि दूतावास नजिकैको रेष्टुरेण्टमा जाँदै थिएँ। सोही क्रममा सादा पोसाकमा रहेका प्रहरीले केही नेपालीलाई कागजात देखाउ भनेर चेकजाँच गर्दै रहेछन्। ती नेपाली साथीहरुले पनि सर हामीलाई यहाँ कागजात मागिरहेको छ, कुरा गर्दिनुस् न भनेर भन्नु भयो। अनि मैले मेरो आइडी देखाएर उनीहरु (सादा पोशाकमा खटिएका प्रहरी) सँग कुरा गरें। मैले किन रोक्नु भएको भनेर उनीहरुलाई सोधे ? त्यसपछि उनीहरुले पासपोर्टलगायतका कागजात चेक गर्नलाई हो भने। त्यसपछि मैले नेपाली साथीहरुलाई कागजात देखाइदिनुस् न त प्रहरी नै रहेछन् भनेर नेपाली रेष्टुरेण्ट तीर गएँ।

केहीबेरमा रेष्टुरेण्टबाट मःम खाएर फर्किदै थिएँ, सायद उनीहरुलाई रिस उठिरहेको हुनुपर्छ। सुरुमा भिडियो खिचिस भनेर भनिरहेका थिए। मैले होइन भने। पछि पासपोर्ट पनि मागे। मसँग साथमा पासपोर्ट थिएन। पासोपोर्ट बोकिनस् भन्ने निहुँमा पछि उनीहरुले मलाई लगेर गए। त्यसपछि प्रहरी कार्यालयमा दूतावासका पीआरओ टेक सर आउनु भएको थियो, उहाँले नै सहजीकरण गर्नुभयो। मेरो गल्ति केही नदेखिएपछि राति सवा १२ बजे छाडेको हो। म अहिले आफ्नै कोठामा छु।

यो पनि पढ्नुहोस्

क्वालालम्पुरस्थित नेपाली दूतावासका कर्मचारी मलेसियन प्रहरीको नियन्त्रणमा