क्वालालम्पुरस्थित नेपाली दूतावासका कर्मचारी मलेसियन प्रहरीको नियन्त्रणमा

क्वालालम्पुरस्थित नेपाली दूतावासका कर्मचारी मलेसियन प्रहरीको नियन्त्रणमा

काठमाडौं। मलेसियाको क्वाललम्पुरस्थित नेपाली दूतावासका एक कर्मचारीलाई मलेसियन प्रहरीले नियन्त्रणमा लिएको छ। दूतावासमा ड्राइभरको रुपमा कार्यरत पासाङ लामालाई शुक्रबार दिउँसो मलेसियन प्रहरीले पक्राउ गरेको हो।

क्वाललम्पुरस्थित श्रोतले प्रवास खवरलाई दिएको जानकारी अनुसार दिउँसोको खाना खाएर रेष्टुरेन्टबाट फर्किने क्रममा उनलाई मलेसियन प्रहरीले पक्राउ गरेको हो।

‘सादा पोसाकमा खटिएका प्रहरीले अन्य व्यक्तिलाई बाटोमा चेकजाँच गरिरहेका थिए। लामाले चेकजाँच गरिरहेका ती प्रहरीको मोवाइलबाट भिडियो खिचेको भन्ने कुरा छ। त्यसैकारण उनलाई प्रहरीले पक्राउ गरेको भन्ने छ। तर,उनी पक्राउ पर्नुको कारण अन्य पनि हुन सक्छ,’ श्रोतले भन्यो।

कर्मचारी पक्राउ परेपछि दूतावासले काठमाडौंमा परराष्ट्र मन्त्रालयलाई यसबारेमा जानकारी गराएको छ। लामा अहिले पनि मलेसियन प्रहरीको नियन्त्रणमा रहेको श्रोतको दावी छ।

लामा सम्पर्कविहीन भएपछि दूतावासले आफ्नो कर्मचारी हराएको भन्दै प्रहरीमा खवर गरेको थियो। तर, प्रहरीले अहिलेसम्म लामाको बारेमा दूतावासलाई जानकारी गराएको छैन।

‘लन्च ब्रेकमा हिडेका कर्मचारी पाँच बजेसम्म पनि नआएपछि दूतावासले यसविषयमा प्रहरीलाई जानकारी गराएको थियो। तर, अहिलेसम्म पनि प्रहरीले दूतावासलाई जानकारी गराएको छैन। शनिवार र आइतबार यहाँ सरकारी विदा छ। सोमबार मात्रै सबै कुरा थाहा होला,’ दूतावास श्रोतले प्रवास खबरसँग भन्यो।

मलेसियाका लागि कार्यवाहक राजदूत मोतिलाल श्रीसले पनि कर्मचारी पक्राउ परेको स्वीकार गरेका छन्। तर, ती कर्मचारीलाई बेलुका नै छोडिसकेको श्रीसले प्रवास खबरलाई बताए।

‘उहाँ (लामा) खाना खाएर फर्किनेबेला चेकजाँचमा पर्नु भएको रहेछ। उहाँको साथमा कागजात रहेनछ। त्यसैले उहाँलाई नियन्त्रणमा लिएको रहेछ,’ उनले प्रवास खबरसँगकाे टेलिफोन कुराकानीमा भने, ‘कागजात साथमा नभएपछि प्रहरीले नियन्त्रणमा लिनु स्वभाविक हो। बेलुका नै उहाँलाई छोडिसकेको छ।’

उनले परराष्ट्र मन्त्रालयमा जानकारी गराएको पनि स्वीकार गरे। श्रीसले थपे, ‘हामीले जानकारी गराउने निकाय नै परराष्ट्र हो। जानकारी गराएका थियौँ। यो स्वभाविक हो।’

दूतावासले लामा नियन्त्रणमुक्त भइसकेको बताएपनि यो सत्य नभएको श्रोत बताउँछ। ‘दूतावासले आफ्नो बचाउ मात्रै गरेको हाे। लामाको अहिलेको अवस्थाबारेमा दूतावासलाई पनि केही थाहा छैन,’ श्रोतले भन्यो।