ओमनका रोजगारदाताको पहिलो रोजाइमा नेपाली : कार्यवाहक राजदूत थापा
खाडीमुलुक ओमनमा झण्डै २० हजार नेपालीले रोजगारी गर्दै आएका छन्। यसमा महिलाको संख्या अत्याधिक छ। प्राय : नेपाली महिला यहाँ घरेलु कामदारको रुपमा कार्यरत छन्। सरकारले घरेलु कामदारको रुपमा विदेश जान प्रतिवन्ध लगाए पनि अवैध बाटो हुँदै नेपाली महिला ओमन पुग्ने गरेका छन्। यसरी अवैध बाटोमार्फत यहाँ आइपुगेका कयौं महिला समस्यामा परिरहेका हुन्छन्।
घरेलु श्रमिकबाहेक ओमनको अन्य क्षेत्रमा समेत नेपाली कार्यरत छन्। कोभिड महामारीले ओमनमा पनि आतंक मच्चायो। संक्रमणको असर यहाँका विभिन्न क्षेत्रमा परेको थियो। जसका कारण केही नेपालीले रोजगारी समेत गुमाए।
कोभिडपछि ओमनमा नेपालीको अवस्था, घरेलु महिला कामदारका समस्या, रोजगारीको सम्भावना, ओमन र नेपालबीच हुने भनिएको श्रम सम्झौताको प्रगति, दुई देशबीचको कुटनैतिक सम्बन्धलगायत अन्य विविध विषयमा केन्द्रीत रहेर मस्कटस्थित नेपाली दूतावासमा कार्यवाहक राजदूतको जिम्मेवारी निर्वाह गरिरहेका सोमेश थापासँग प्रवास खबरका लागि बिनेश खनालले गरेको कुराकानीको सम्पादित अशं :
महामारीपछि अहिले ओमनको अवस्था कस्तो छ ?
कोभिडको पहिलो र दोस्रो लहरमा यहाँ (ओमन) अलि बढी नै असर गर्यो। तेस्रो लहर भने अन्यत्र जस्तै सामान्य नै रहयो। पहिलो र दोस्रो लहरको सिकाइले पनि होला तेस्रो लहरमा सावधानी बढी अपनाइयो, लकडाउन भएन। तेस्रो लहर त्यत्ति धेरै आक्रामक नभएकोले पहिला जस्तो डर पनि भएन। समग्रमा भन्नुपर्दा तेस्रो लहरले यहाँको व्यापार, व्यवसाय र रोजगारीलाई खासै प्रभाव पारेन।
तेस्रो लहरको अवधिमा दूतावास पनि निरन्तर सञ्चालनमा नै रहयो। यहाँबाट प्रवाह हुने सेवा रोकिएनन्।
कोभिडको पहिलो र दोस्रो लहरले यहाँको रोजगारीलाई कस्तो असर पार्यो ? कति नेपालीले रोजगारी गुमाए ?
अवश्य पनि, पहिलो र दोस्रो लहरमा रोजगारीको क्षेत्रमा असर पर्यो। पहिलो लहरमा त लकडाउनका कारण चहिरहेका कम्पनी, व्यापार, व्यवासय सबै बन्द भए। सबैलाई के गर्ने, कसो गर्ने ? भएको थियो। त्यत्तिबेला यहाँ रहेका नेपालीहरु धेरै आत्तिनु भयो।
हामी नै (दूतावासका कर्मचारी) दुई तीन महिना जत्ति त ढोका थुनेर बस्नुपर्ने अवस्था आयो। त्योबेला अनलाइनबाट नै काम सञ्चालन गरेका थियौँ। त्यत्तिबेला यो समस्या कहिलेसम्म रहला भन्ने अनिश्चत थियो।
त्योबेला उडान प्रतिबन्धका कारण थुप्रै नेपाली समयमै घर फर्किन पाउनु भएन। रोजगारी गुमाएर रित्तो हात बस्न बाध्य हुनुभएका नेपाली रोकिएपछि हामीले नेपाल सरकारका विभिन्न निकायसँग समन्वय गरेर चार्टर्ड उडानको व्यवस्था गर्यौँ।
हामीले सबैभन्दा सस्तो दरमा ७ वटा उद्धार उडानमार्फत १ हजार १८९ जना नेपालीलाई स्वदेश पठाएका थियौँ। ११५ ओमनी रियल भाडामा नेपालीलाई फर्काउन सफल भएका थियौँ, जुन नेपाल सरकारले तोकेको भाडाभन्दा कम थियो। त्योबेला हामीले निकै स्यावासी पनि पाएका थियौँ।
पहिलो चरणमा नेपाल फर्किनु भएका धेरेजसो त पछि फर्किनु भयो। तर, डेढ/दुई सय जना नेपालमै बस्नु भयो। उताबाट फर्किनेलाई पनि दूतावासले समन्वय गरेको थियो।
त्यसपछि हामीले दोस्रो चरणको सामाना गर्यौँ। दोस्रो चरण धेरै लामो समय रहेन, तीन महिना जति मात्रै रहयो। रोजगारीमा पहिलो चरणमा जस्तो असर दोस्रोमा परेन।
अहिले यहाँका कम्पनीले नेपालबाट श्रमिक माग गरेका छन् कि छैनन् ?
धेरै माग भएको छ। ओमनको श्रम बजारमा नेपालीहरुलाई हेर्ने दृष्टीकोण एकदमै राम्रो छ। नेपाली इमान्दार र मिहेनिती हुन्छन् भन्ने छाप यहाँका नागरिकमा परेको छ। त्यसैले नेपालीको माग राम्रो छ। श्रमिक चाहिएको खण्डमा यहाँको रोजगारदाताको रोजाइमा नेपाली नै पहिलो प्राथमिकतामा पर्दछन्।
अहिले प्रावधिक कारणले त्यत्ति धेरै संख्यामा माग भएको छैन। किनभने अहिले यहाँ कुनै पनि नयाँ व्यवसायहरु सञ्चालन भएका छैनन्। पुराना कम्पनी जे छन् तीनै मात्र चलिरहेका छन्।
यहाँका कम्पनी वा सरकारी कार्यालयमा जाँदा नेपाली भनेपछि राम्रो कमेण्ट आउने गर्छ। उनीहरुले नेपाली नै चाहिन्छ भन्छन्।
ओमनमा घरेलु महिला कामदारका समस्या बढी आइरहन्छन्। अहिले अवस्था कस्तो छ ?
अहिले हाम्रो अनुमानमा यहाँ झण्डै ८ हजार नेपाली महिला घरेलु श्रमिकका रुपमा काम गरिरहनुभएको छ। अवैधानिक बाटो हुँदै ओमन आएका महिलाको संख्या धेरै छ। यसरी आएका महिला दिदिबहिनीसँग हामिले सोध्दा सबैले आ–आफ्नै समस्या बताउनुहुन्छ। आर्थिक समस्याकै कारण महिलाहरु जोखिम मोलेर विदेश आउने गरेको देखिन्छ। कतिपयलाई भने दलालले झुक्काएर, प्रलोभन देखाएर बेचेको पनि पाइन्छ। उनीहरु सबैलाई हामीले सम्झाएर पठाउने गरेका छौँ।
यहाँ महिलाका समस्या छन्। महिनामा झण्डै १० जना महिला दिदिबहिनीलाई हामीले दूतावासको सेल्टरमा नै राख्नुपर्ने अवस्था हुन्छ। यो संख्या ‘इन’–‘आउट’ भइरहन्छ।
श्रम स्वीकृति नलिइ आएका महिला समस्यामा परे भने उनीहरुको उद्धार कसरी गर्नु भएको छ ?
श्रम स्वीकृति नलिइ र लिइ आएको पनि दुई वटा कुरा छ। श्रम स्वीकृति लिएर आएमा नेपालको हक लाग्ने मात्र हो। श्रम स्वीकृति लिएको छ भने त्यसको रेकर्ड सरकारसँग हुन्छ र यसको हेरविचार सरकारले गर्छ।
ओमन आइसकेपछि सबै नेपाली हुन् र, श्रम स्वीकृति ल्याइस्, ल्याइनस् भनेर यहाँ विभेद हुँदैन। होला कानूनी तह फरक पर्छ किनकि उद्धार खर्च, क्षत्तिपूर्तीका हिसावमा खर्च गर्न सक्दैनौँ। तर, हाम्रो पहल भने सबैलाई बराबर रहन्छ।
समस्यामा परेका घरेलु कामदारका लागि अदालतमा मुद्धा लड्न सहयोग गर्ने यहाँ विभिन्न सरकारी तथा गैर–सरकारी सहयोगी संस्था छन्। यस्तै नेपाली संघसंस्थासँग पनि समन्वय गरेर हामीले पीडितलाई सहयोग पुर्याउँदै आएका छौँ।
श्रम स्वीकृति लिएर आएको खण्डमा भने वैदेशिक रोजगारको कोषबाट रकम खर्च गर्न सहज हुन्छ। श्रम स्वीकृति नलिइ आउने भनेको घरेलु कामदारले हो। यहाँको नियमअनुसार रोजगारदाताको स्वीकृति बिना पीडितको उद्धार सम्भव हुँदैन। हामीले रोजगारदातालाई दूतावासमै बोलाएर छलफल गरेर समाधान खोज्छौँ।
राजदूतको कार्यकाल सकिएर फिर्ता गएपछि अहिले तपाईँले नै यहाँको नियोग प्रमुखको जिम्मेवारी सम्हालिरहनु भएको छ। नेतृत्वमा रहँदा के कस्तो अनुभव भइरहेको छ?
महामहिम ज्यु हुँदाखेरी हामीलाई एउटा मुल नेतृत्व हुन्छ। राजदूतले चाँहि बाहिरबाट कुटनैतिक तहमा धेरै फरक पर्छ। मन्त्रालयदेखि अन्य देशका राजदूतावासले हेर्ने दृष्टिकोण फरकहुने रहेछ, राजदूत भनेपछि। कार्यवाहक राजदूत भनेपछि छोटो समयका लागि हो। जसले गर्दा अलिकति दृष्टिकोण फरक पर्दाे रहेछ।
दैनिक चल्ने प्रशासनिक काम सरल तरिकाले चलिरहेको छन्। तर, कुटनैतिक कार्यमा भने २०/१९ हुन्छ कि भन्ने मलाई महसुस भइरहेको छ। अरु बाँकी काम त दूतवासमा निरन्तर चलिरहेको छ, कुनै कमजोरी छैन।
तर, राजदूत हुँदा पक्कै फरक हुन्छ। उहाँहरुलाई निश्चित उदेश्य लिएर पठाइएको हुन्छ। राजदूतले निरन्तर सरकारसँग संवाद गरेर गर्ने किसिमको काम हुन्छ।
नेपालले ओमनसँग शुन्यलागतमा श्रमिक लैजानेगरी श्रम सम्झौता गर्न लागेको भनिएको थियो। श्रम सम्झौताको प्रक्रिया अन्तिम चरणमा पुर्याइएको पनि बताइएको थियो। तर, अहिलेसम्म दुईदेशबीच सम्झौतामा हस्ताक्षर भने हुन सकेन, किन होला ?
श्रम सम्झौता लागि नेपालले पठाएको मस्यौदा ओमन सरकारबाट स्वीकृत भइसकेको छ। यसलाई हामिले नेपाल पठाएका छौँ।
दुई देशबीच आउँदो मार्चभित्रमा श्रम सम्झौता हुने अब चाँहि लगभग फाइनल भइसकेको छ। सम्झौताको लागि श्रममन्त्री स्वयम् ओमन आउनुहुन्छ होला। यस विषयमा श्रममन्त्री ज्युले पनि नेपालबाट विशेष चासो दिइरहनु भएको छ। यसमा हामी पनि लागिरहेका छौँ।
नेपाल र ओमनको सम्बन्ध थप उचाइमा पुर्याउने उद्धेश्यले २०१७ मा दुईदेशबीच कूटनीतिकस्तरमा द्विपक्षीय संयन्त्र स्थापना गर्ने सम्झौता भएको थियो। त्यसपछि भने द्विपक्षीय बैठक नै हुन सकेन्, किन ?
हो, प्रधानमन्त्री शेरबहादुर देउवाको ओमन भ्रमण तथा दुवै मुलुकबीचको कूटनीतिक सम्बन्ध स्थापना भएको ४० औँ वर्ष पुगेकोे अवसरमा यो सम्झौता भएको थियो। दुवै मुलुकका तत्कालिन परराष्ट्रमन्त्री तथा अन्य उच्च अधिकारीको उपस्थितिमा ओमनका लागि तत्कालिन राजदूत महामहिम सर्मिला पराजुलीले सम्झौतापत्रमा हस्ताक्षर गर्नुभएको थियो।
सम्झौतापछि द्विपक्षीय बैठक बस्नु पर्ने थियो। तर,कोभिडलगायत अन्य कारणले बैठक बस्ने सकेन। अब भने आउँदो १५ मार्चमा द्विपक्षीय परामर्श सम्बन्धी पहिलाे बैठक बस्दैछ। दुई देशबीचका सचिवस्तरीय बैठक मस्कटमा हुनेछ।
यसअघि ओमनमा दूतावासको आफ्नै भवन बनाउने भनेर जग्गा लिजमा लिनुभएकाे थियो। भवन बनाउने प्रक्रिया कहाँ पुग्यो ?
दूतावासको आफ्नै भवन निर्माणको लागि अहिले प्राविधिक कुराहरुमा अध्ययन भइरहेको छ।
तत्काल अरु पनि केही हुँदैछ कि ?
पाइप लाइनमै रहेको अर्काे विषय भनेको नेपाल र ओमनबीचको पर्यटन सम्झौता हो। यो विषय पनि अन्तिम चरणमा छ। छिट्टै दुई देशबीच सम्झौता हुनेछ।
अन्त्यमा ओमनमा रहेका नेपालीलाई के भन्नुहुन्छ ?
नेपाली दूतावासले जहिले पनि नेपालीकै हितमा काम गरिरहेको हुन्छ। केही समस्या भए दूतावासमा सम्पर्क गर्नुहोस्। दूतावासमा आउनु भयो भने तपाईँको समस्या समाधानका लागि हामीले सहजीकरण गर्छाैँ।