यूएईमा नेपाली कामदारको संख्या बढेसँगै जिम्मेवारी पनि थपिएको छ : राजदूत ढकाल
यूनाटेड अरव इमिरेट्स (यूएई) भन्ने बित्तिकै भिजिट भिसाको विषय जोडिन्छ। भम्रणको बाहानामा धेरै नेपाली युवाहरु भिजिट भिसामा काम गर्नका लागि यूएई भित्रिएका छन् । यहाँका रोजगारदाताले पनि कामदार सजिलै र थोरै मूल्यमा नै पाउने भएपछि तिनै भिजिट भिसामा आउनेलाई काममा नियुक्त गर्ने गरेको छ । तर, यो नेपाल सरकार र यूएई सरकारबीच भएको श्रमसम्झौता विपरित हो। भिजिट भिसाको समस्या, नेपाली कामदारको अवस्था र यसमा दूतावासले खेलेको भूमिका, दुई देशबीचको कुटनैतिक सम्बन्ध तथा हालै यूएईमा चलिरहेकाे दुबई एक्स्पो २०२० केन्द्रित रहेर हामीले यूएईका लागि नेपाली राजदूत कृष्णप्रसाद ढकालसँग कुराकानी गरेका थियौ।
ढकाल सन् ६ मार्च २०१९ मा यूएईका लागि राजदूत नियुक्त भएका हुन्। यसअघि ढकालले नेपाल सरकारको विभिन्न तहमा बसेर काम गरिसकेका छन् । त्यस्तै नेपाल सरकारको प्रतिनिधित्व गर्दै विभिन्न विदेशी परियोजनामा पनि काम गरेको अनुभव ढकालसँग छ। उनले दिल्लीमा रहेको नेपाली दूतावासमा बसेर समेत जिम्मवारी निर्वाह गरेका थिए।
उनै ढकालसँग प्रवास खबरका लागि बिनेश खनालले गरेको कुराकानीको सम्पादित अशं :
भिजिट भिसामा आएका थुप्रै नेपाली समस्यामा परेका छन्। यस्तो भइरहँदा पनि यूएई सरकार किन मौन छ ? नेपाल सरकारको तर्फबाट हजुरले के गर्दै हुनुहुन्छ ?
हो, भिजिट भिसाले समस्या सृजना गरेको छ । वैदेशिक रोजगारीमा जानका लागि नेपाल सरकारले तोकेको कानूनी प्रक्रिया अनुरुप श्रम स्वीकृति लिएर आउँदा आउने व्यक्तिलाई सबैभन्दा धेरै फाइदा हुन्छ । र, उहाँहरुलाई आवश्यक परेको बेलामा राज्यले सहयोग गर्न पनि सहज हुन्छ। तर, भिजिट भिसामा आएर खोजेर काम गर्दा समस्या सबैभन्दा धेरै तिनै व्यक्तिहरुलाई पर्छ। बीचमा ठगिने, भनेजस्तो काम नपाउने, गैरकानूनी हुने, त्यसैगरी विभिन्न जरिवाना लाग्ने, कानूनी झमेलामा पर्ने, बिरामी हुँदा वा अर्को अझ दुखद अवस्था आउँदा सहयोग गर्न राज्य संयन्त्रलाई पनि कठिन हुन्छ। किनभने हामीलाई पनि वैदेशिक रोजगार बोर्डबाट प्राप्त रकम परिचालन गर्न कानूनी रुपमा कठिनाइ छ।
त्यसैले यो एउटा गम्भीर समस्याको रुपमा देखा परेको छ। र, यो समस्याको समाधानका लागि नेपाल सरकारका सबै सम्बन्धित निकायले सहयोग गर्न आवश्यक छ। यसका लागि हामीले यूएई सरकारलाई पनि सहयोग गर्न अपिल गरेका छौं। यूएई सरकार समस्या समाधानका लागि तत्पर रहँदै आएको नै छ। खासगरी नेपाल सरकारका सबै निकायहरुबीच समन्वय हुनुपर्ने, आम जनस्तरमा पनि विदेशमा काम गर्न जान त श्रम स्वीकृति लिएर जानुपर्छ, भिजिट भिसा भनेको त घुम्नका लागि जाने हो भन्ने किसिमको चेतना गाँउगाँउमा स्थानीय निकायहरुमार्फत् सचेतना जागृत गर्ने कुरामा लाग्नुपर्नेे देखिन्छ।
भिजिट भिसामा विदेश पुगेर अलपत्र पर्ने नेपालीको संख्या बढेपछि पछिल्लो समय त नेपाल सरकार आफैंले पनि रोकिरहेको छ। जो अहिले यूएईमा समस्यामा परिरहेका छन्, उनीहरुको समस्या समाधान गर्न तपाईंहरुको तर्फबाट के कस्तो पहल भएको छ ?
भिजिट भिसामा आएर खान बस्न समस्यामा पर्यो, काम पाएनौं, पासपोर्ट भएन, नेपाल फर्कन पाएनौं भन्ने गुनासाहरु दूतावासमा असाध्यै धेरै आईराखेका छन् । पछिल्लो दिनहरुमा नेपाल सरकारले रोक लगाएपछि गुनासोहरु अलिकति घटेको छ। तर, पहिला एक महिना अगाडिको तथ्य हेर्ने हो भने देखि त्यस्ता गुनासाहरु ज्यादै धेरै थिए र उहाँहरुलाई नेपाली दूतावासले सक्दो सहयोग गर्दै आएको छ। हामीले एकजना दुईजना मात्र होइन, दर्जनौं मान्छेहरुलाई पासपोर्ट उपलब्ध गराउने, खान बस्नका लागि नेपाली कम्युनिटीसँग हातेमालो गर्ने, त्यसैगरी यूएई सरकारका सम्बन्धित निकायहरुसँग समन्वय गरेर नेपाल फिर्तिको लागि सहजीकरण गर्ने, दुःखद निधन भएकाको शव नेपाल लैजानका लागि सहजीकरण गर्ने लगायतका कामहरु गर्दै आइराखेका छौं। त्यसमा धेरै हदसम्म हामीलाई सफलता पनि मिलेको छ। र, यस क्रममा हामीलाई यूएई सरकारबाट असाध्यै सकारात्मक सहयोग मिल्दै आइराखेको छ । तर, यसको समस्या चाहिँ के छ भने मैले अघि नै पनि भनेँ, वैदेशिक रोजगार बोर्डबाट प्राप्त भएको रकम परिचालन गरेर उहाँहरुलाई सहयोग गर्न कानूनी कठिनाइ छ। जसले गर्दा भिजिट भिसामा आएकाहरुलाई हामीले चाहेको जस्तो सुविधाहरु दिन र चाहेजस्तो सहयोग गर्न कठिन छ। तैपनी हामीले हाम्रो क्षमताले भ्याएसम्म, रिसोर्सले भ्याएसम्म सहयोग गर्दै आएका छौँ। धेरैलाई सहयोग पुगेको पनि छ। साथै यी यस्ता समस्या समाधानमा नेपाल सरकारका सम्बन्धित निकाय र यूएई सरकारका सम्बन्धित निकायहरुसँग समन्वय पनि गरेका छौं। उहाँहरुबाट भरपुर सहयोग पनि मिल्दै आइराखेको छ।
भिजिट भिसामा रोक लगाउनु नै समस्याको अन्तिम समाधान होइन भनेर पनि कुराहरु उठिरहेका छन् । जस्तो, केहीदिन अघि गृह मन्त्रालयले रोक त लगायो, तर आउनै पर्ने नेपालीहरुलाई पनि यस किसिमको रोकले गर्दा असर प¥यो भन्ने छ, यस बारेमा के भन्नुहुन्छ ?
काम खोज्नका लागि, रोजगारीको प्रयोजनका लागि भिजिट भिसाको प्रयोग गर्नुहुँदैन । तर, त्यो बाहेक घुम्नका लागि, पारिवारिक मिलनका लागि वा अन्य सहि कारणका लागि भिजिट भिसामा आउनुपर्ने मान्छे त हुन्छन्, स्वभाविक कुरा हो। त्यसलाई रोक्ने नेपाल सरकारको उद्देश्य, प्रयोजन हो जस्तो पनि हामीलाई लाग्दैन। नेपाल सरकारले खालि काम खोज्नका लागि, काम गर्नका लागि भिजिट भिसाको प्रयोग चाहिँ नहोस् भन्न मात्रै चाहेको हो। त्यसको कारण पनि के हो भने उहाँहरु नै समस्यामा पर्नुभयो, उहाँहरु नै ठगीमा पर्नुभयो, उहाँहरु नै गैरकानूनी हुनुभयो, उहाँहरुलाई नै खान बस्न समस्या भयो र उहाँहरुलाई उद्दार गर्ने काम पनि प्रभावकारी बनाउन सकिएन। त्यो भएको हुनाले काम खोज्ने प्रयोजनका लागि मात्रै व्यवस्थापन र नियमन गर्न खोजेको हो भन्ने हाम्रो बुझाइ छ र सही कारणले आउनुपर्ने मान्छेहरु हुन्छन्। उहाँहरुलाई सहजीकरण नेपाल सरकारले त्यही अस्तिकै सूचनाबाटै पनि सहजीकरण खुल्ला गरेको छ। सहजीकरण हुँदै पनि आइराखेको छ, दूतावासले पनि त्यसमा सहजीकरण गर्छ, गरिरहेको छ र गरिरहने छ।
यूएईलाई ट्रान्जिट बनाएर मानव तस्करी बढिरहेको छ भन्ने कुराहरु आइरहेको छ र त्यस्तो भएको पनि छ । जस्तो युरोप जाने क्रममा, केही नेपालीहरु अमेरिका छिर्ने क्रममा केही नेपालीहरुलाई दुबई फर्काइएको, मस्कोबाट फर्काइएको भनिएको थियो । यस विषयलाई तपाईँले कसरी हेर्नुभएको छ ? यहाँको निकायसँग समन्वय वा सहकार्य गरेर त्यस्ता समस्याहरुलाई निराकरण गर्न गर्न तपाईहरुले कस्तो प्रयास वा पहलकदमी लिनुभएको छ ?
हामीले पनि यस्ता कुराहरु सुनेका छौं । नेपाल सरकार र यूएई सरकारले पनि मानव तस्करी नियन्त्रणलाई प्राथमिकता दिँदै आइरहेका छन् । दुवै निकायका सम्बन्धित पक्षहरुको बीचमा यो विषयमा संवाद, छलफल, सहकार्य भइपनि राखेको छ, र आगामी दिनमा पनि हुँदै जानेछ । तर, एउटा कुराचाहिँ के हो भने सम्बन्धित व्यक्तिले पनि अलिकति सचेत हुनुपर्ने जस्तो देखिन्छ । जस्तो कि, म कहाँ जाँदैछु ? किन जाँदै छु ?, कसरी जाँदै छु ?, त्यहाँको वस्तुस्थिति कस्तो छ ? मलाई सम्भावित जटिलताहरू के आउन सक्छ ? यस्तो अवस्थामा मलाई कसले सहयोग गर्न सक्छ ? यस्ता कुराहरुमा सचेत हुनुपर्ने देखिन्छ।
केही दिनपछि यूएई र नेपालको श्रम सम्झौतापछिको दोस्रो, दुईपक्षिय बैठक हुने भनिएको छ । यसमा नेपालको तर्फबाट कस्ता कस्ता विषयहरुलाई प्राथमिकता दिइनेछ?
यसमा श्रम मन्त्रालयले आवश्यक गृहकार्य गरिराखेको हामीले बुझेका छौं । खासगरी २०१९ मा सम्पन्न भएको कदम हो यो। यसलाई प्रभावकारी रूपमा कार्यान्वयन गर्ने कुरा नै प्राथमिकतामा पर्छ । त्यसमा नै दुबै मुलुकहरु नै सहकार्यमा छन्।
उहाँहरु आउने मितिको टुंगो लागिसकेको हो ?
छैन, अर्को हप्ता तिर हुने बुझिएको छ । अझैं निश्चित भइसकेको छैन।
अस्ति भर्खर श्रममन्त्री यूएई आउँदा दुबईमा कन्सुलेट खोल्नुपर्छ भन्ने कुरा उठेको थियो। यसमा मन्त्री पनि सकारात्मक भएको भन्ने कुरा थियो । के हुँदै छ त ?
हो, त्यो हाम्रो पनि उच्च प्राथमिकतामा छ । यो हामीले पनि महसुस गरेको कुरा हो। यूएईमा भएका झन्डै झन्डै ७० प्रतिशतभन्दा बढी नेपालीहरु दुबई, शारजाह लगायतका क्षेत्रमै हुनुहुन्छ । संसारका धेरै मुलुकले दुबईमा कन्सुलेट खोलेको देखिन्छ । र, हाम्रो पनि आवश्यकता हो । लाखौं नेपालीहरु यहाँ भएका कारणले, व्यापारको पनि सम्भावना भएको दृष्टिकोणले, र अरु धेरै दृष्टिकोणले पनि त्यो आवश्यक देखिन्छ। त्यसकारणले त्यसको लागि हामीले सम्बन्धित निकायमा अनुरोध गरेका छौं।
केही दिन अघि लन्डनस्थित एउटा अन्तर्राष्ट्रिय संस्था, जसको नेपालमा पनि शाखा रहेको छ। त्यसले हाल यूएई चलिरहेको दुबई एक्स्पोमा कार्यरत नेपालीहरु शोषणमा परेको भनेर एउटा अध्ययन रिपोर्ट प्रकाशित गरेको थियो। यसलाई नियोगले कसरी लिएको छ ? एक्स्पोमा कार्यरत नेपाली श्रमिकबाट त्यस्ता गुनासा दूतावासमा आएका छन् कि छैनन् ?
एक्स्पोमा काम गर्दै गरेका हाम्रो नेपाली श्रमिकहरुबाट समस्यामा परें भन्ने किसिमको गुनासो दूतावासमा आएको छैन।
प्रसँग बदलौँ, यूएईको लागि तपाईंले राजदूतको जिम्मेवारी सम्हालेको पनि तीन वर्ष पूरा भइसकेको छ । यो अवधिमा हाँसिल गरेका मुख्य उपलब्धि के ठान्नुहुन्छ ?
यस विषयमा तपाईहरुले पनि हेर्नु भएकै छ। नेपाल र यूएईबीचको सम्बन्धलाई नयाँ उचाईमा लैजान, नेपालको कुटनैतिक उपस्थितिलाई आबुधाबी, यूएईमा मजबुत बनाउन, दूतावासलाई व्यवस्थित बनाउन, दूतावासवाट प्रवाह हुने सेवाहरुलाई छिटोछरितो,पारदर्शी, सम्मानजनक र सेवाग्राहीमैत्री बनाउन हामीले विभिन्न पहल र प्रयत्न गर्दै आइरहेका छौं। यसमा हामीलाई केही ठोस उपलब्धि हाँसिल पनि भइसकेको छ। केही हांसिल हुने क्रममा रहेको छ ।
जस्तै ?
जस्तो, उदाहरणको लागि हामीले डिजिटल टोकन सिस्टम लागू गर्यौं । सम्भवतः नेपाल सरकारका थोरै कार्यालयहरूमा मात्रै डिजिटल टोकन सिस्टम लागू भएको छ। हामीले डिमाण्डलाई अनलाइन बनाउने प्रयासमा छौं। अहिले पनि धेरै हदसम्म अनलाइनमा गइसकेको छ। त्यसैगरी दूतावासमा सेवाप्रवाहलाई सेवाग्राही मैत्री बनाउनका लागि त्यही किसिमको सेटअप बनाउने, त्यही किसिमको कल्चरको विकास गर्ने, त्यही किसिमको अभ्यास गर्ने काम हामीहरुले गरिराखेका छौं।
त्यस्तै, यहाँलाई विधितै होला, सम्भवतः नेपालको इतिहासमा नेपालको झण्डालाई सबैभन्दा भव्यरुपमा हामीले विश्वकै अग्लो टावर ब्रुज खालिफामा प्रदर्शित गर्ने, त्यसलाई झल्मलाउने संस्कारको सुरुवात गरेका छौं। झन्डै १ सय ८० तले त्यत्रो बु्रज खालिफामा। त्यसैगरी आबुधाबीमा रहेको यो एन्डप बिल्डिङमा त्यो चाहिँ सुरुवात भएको छ।
साथै कोभिड—१९ को अवस्थामा यूएई सरकारले नेपाललाई ठूलो सहयोग उपलब्ध गराएको छ। त्यसका लागि पनि हामीले यूएई सरकारलाई अनुरोध गरेका थियौं । औपचारिक रुपमा यसलाई म कसरी भनौं, तर के हो भने मध्यपूर्वबाट सरकारी तहमा कोभिड पछाडि गएको सहयोग यहीबाट हो।
सन् २०२० मा ‘इन्टरनेसनल रिन्यूएवल ईनर्जी एजेन्सी’ र ‘आबुधाबी फण्ड फर डेप्लप्मेन्ट’ यी दुईवटा संस्था मिलेर नेपालमा ‘वेस्ट टु ईनर्जी’ भन्ने एउटा प्रोजेक्ट १ अर्ब १५ करोड रुपैयाँको सहयोग सहायता निर्णय भएको छ। त्यो घोषणा भएको छ। सम्भाव्यता मध्यपूर्वबाट एकैचोटि एकमुष्ट यत्रो रकम गएको यो पहिलो पटक हो।
त्यसैगरी, यूएई सरकारका विभिन्न तहहरुमा हामी सम्पर्कमा छौ। यहाँहरुले देखिरहनु भएकै छ हामीले काउन्सिलसँग, यहाँका विभिन्न मन्त्रीसँग भेटघाट गरेर दुई पक्षीय सम्बन्ध मजबुत बनाउने, त्यसैगरी नेपालीहरूको हकहितका लागि सहकार्य गर्ने अनुरोध गर्ने कामहरु गर्दै आइराखेका छौं । म यहाँ आएलगत्तै, भनौं ४/५ महिना पनि नहुँदै नयाँ श्रम सम्झौता यूएई र नेपालको बीचमा सम्पन्न भयो । त्यसैगरी, नेपाल र यूएईकोबीचमा हवाई सम्झौता सम्पन्न भएको छ, कैयौँ सम्झौताहरु पाइपलाइनमा छन्। यी कुराहरु चाहीँ हामीले गर्दै आइरहेका छौं । यी लगायत अन्य धेरै कुराहरु हामीले गरेका छौं, र गर्दै आइरहेका छौं।
मैले जानेर नेपाल र नेपालीको अहित हुने कुरा गरेको छैन। मैले जानेर सेवा प्रवाहको क्रममा कसैलाई अन्याय र पक्षपात गरेको छैन। मैले कुनै किसिमका गतिविधिमा (नराम्रा) जानेर संलग्न भएको छैन। अन्जानमा मानवीय कमजोरीको रुपमा भएको हुनसक्छ। मैले यहाँ आएपछि नेपाल सरकारले तोकेको भन्दा बढी एक कप चिया पनि खाएको छैन, जसप्रति मलाई गर्व छ।
महामारीको बेलामा सेवाप्रवाह गर्ने कुरामा दूतावासले त्यति धेरै रेस्पोन्स नगरेको भन्ने कुराहरू बढी सुनिएको थियो । खासगरी महामारीको बेलामा तपाँईहरुले कस्तो भूमिका निभाउनुभयो ? गुनासो व्यवस्थापनमा कमजोरी भएकै हो त ?
महामारीको बेलामा हामीले १५ हजारभन्दा बढीलाई चार्टर्ड फ्लाइटमा उद्वार गरेर नेपाल पठायौं। त्यसमा हामी मात्रै छैनौं, नेपाल सरकारका सम्बन्धित निकाय, यूएई सरकारको सहयोग, नेपाली कम्युनिटीको सहयोग लगायत धेरै कुराहरु रहेका छन्। तर, हामी त्यसमा एकदमै महत्वपूर्ण भूमिकामा थियौं। पछि ३५ हजारभन्दा बढीलाई अरु विभिन्न फ्लाइटहरुमा पठायौं। पाँच हजारभन्दा बढी नेपालीलाई नेपाली कम्युनिटीसँग समन्वय एवं सहकार्य गरेर हामीले बस्ने, खाने कुरामा सहजिकरण गर्यौँ।
यस विषयमा नेपाली कम्युनिटिलाई जस दिनुपर्छ। त्यसमा हामीले पनि समन्वय गर्यौं । त्यस्तै कैयौँ मानिसहरुको लागि बस्ने व्यवस्था गरायौं । चेतना अभिवृद्धिका कार्यमा हामी सक्रियतापूर्वक लाग्यौं । तर, त्यतिमात्रै होइन, तपाईहरुले यहाँका अरु साथीहरुसँग कुरा गरेपनि हुन्छ, त्यतिखेर हामी एक किसिमको परामर्श गर्ने भूमिकामा या भनौँ कन्सल्टेन्ट जस्तो भूमिकामा पनि थियौं। आत्तिएर, रोएर, कराएर, कति नेपालीहरु त कोभिड लागेर होइन कि कोभिड लाग्छ र दुःख पाइन्छ कि भन्ने डरमा सुसाइड गरेको अबस्था पनि रह्यो । त्यस्तो दुखद अबस्था पनि रह्यो। हामीले त्यतिखेर कतिपयलाई काउन्सिलिङ गर्ने भूमिकामा पनि रह्यौं । हामीले सक्दो सहयोग, समन्वय र सहजीकरण गर्यौं । तर, त्यति हुँदाहुँदै पनि महामारी त आखिर महामारी नै हो नी। महामारीको बेलामा हेर्नु, सामान्य अवस्थामा सिँचाइ गर्न बनाएको कुलोमा बाढी पस्यो भने त्यसले थेग्न सक्दैन नि, हाम्रो अवस्था पनि त्यही हो। हाम्रो दूतावासको क्षमता, हाम्रो रिसोर्सहरु, हाम्रो तयारी, हाम्रो अवस्था भनेको त सामान्य अवस्थाको कुलाको हो। तर, महामारी त एउटा बाढीजस्तो आएको थियो। त्यतिखेर कमीकमजोरी हुनु, सबैलाई चाँही टेलिफोन सर्भिस उपलब्ध गराउन नसक्नु, समस्या भएकालाई तत्काल सहयोग गर्न नसक्नुस त्यो एक किसिमको स्वाभाविक पनि हो। हामीले चाहँदाचाहँदै पनि हाम्रो क्षमताले भ्याउँदैनथ्यो। दिनमा हजार भन्दा बढी फोन आउँथ्यो। त्यो यस्तो परिस्थिति थियो कि सम्झँदा पनि अब त्यस्तो नभइदिए हुन्थ्यो भन्ने प्रार्थना गर्न मन लाग्छ। त्यो हिसाबले गर्दाखेरि कहिँ कतै कमीकमजोरीहरु भएनन् भन्ने लाग्दैन, भए होलान्। तर, हाम्रो सीमित स्रोत साधनले, हाम्रो क्षमताले भ्याएसम्म हामीले एकदम हदैसम्मको कोसिस गर्यौँ। त्यतिखेर हामी चाहिँ कैयौं दिनसम्म राति १२ बजेसम्म खटेर काम गरेका छौं।
त्यसैगरी, विभिन्न पक्षहरूसँग समन्वय गर्ने काम गर्यौं। तपाईलाई म एउटा उदाहरण भन्छु, यो चाहिँ एकदमै उल्लेखनीय छ। रातिसाढे १ बजेतिर चार महिनाको बच्चा च्यापेर सुतेको एम्बेसीको एकजना महिला स्टाफको यूएईको एयरलाइन्स, अनि यहाँको अथोरिटीसँग समन्वय गरेर रेस्क्यु फ्लाइट उडाउन सहयोग गरेको रेकर्ड मसँग छ । राती साढे १ बजे हामीले अनुमति पायौं भनेर पठाएको इमेल अझै सुरक्षित छ। त्यो मैले गर्नु ठुलो कुरा हुँदैनथ्यो । त्यो पाँच महिनाको बच्चा काखीमा राखेर सुतेको एकजना महिला डिप्लोम्याटले गरेको काम हो। त्यस्तो किसिमले हामीले खटेर गरेका छौँ । हामीले हाम्रो क्षमताले, योग्यताले भ्याएसम्म त्यतिखेर गरेकै हौं । त्यसमा यूएई सरकारको अभूतपूर्व सहयोग रह्यो। नेपाली कम्युनिटिप्रति हामी एकदमै कृतज्ञ छौं । हामी त एक किसिमले फर्मले औपचारिक भूमिकामा भएका मान्छे हौं। नेपाली कम्युनिटीले स्वैच्छिक रुपमा रातदिन नभनीकन खटेर, जोखिम लिएर जुन किसिमले सहयोग, समन्वय गर्नुभयो त्यसप्रति हामीलाई गर्व महसुस हुन्छ । त्यसमा नेपाल सरकारका सम्बन्धित निकायहरुले पनि गरेका छन् , र त्यो क्रममा एउटा स्वभाविक कमीकमजोरी बाहेक हाम्रो तर्फदेखि हामीले गर्न सक्ने सम्पूर्ण पहल र प्रयत्न गर्यौँ।
दूतावासमा जनशक्तिको अवस्था के कस्तो छ ? तपाईँहरुलाई अहिले पर्याप्त जनशक्ति भएको अवस्था हो ?
अहिले हामी नौ जना डिप्लोम्याट छौं। यस्तै स्थानीय स्टाफ सात जना छन्। तपाईंहरुलाई थाहा नै होला, यहाँ नेपालीहरूको संख्या तीव्र रुपमा बढि राखेको छ। मान्छेहरूको संख्या थपिए सँगै उनीहरुका चाँसो, समस्या र सम्बोधन गर्ने विषयहरु पनि थपिने नै भए। त्यसैगरी दूतावासका कामहरुलाई पनि हामीले एकपछि अर्को गरेर अनलाइन गर्ने, सिस्टमेटिक गर्ने गर्दै आइराखेका छौं। कामहरू थपिंदै गइरहेका छन्। जस्तो अहिले लेटेस्ट तपाईँलाई भनौँ, पासपोर्ट बनाउँदा खेरी हामीले पासबुक लाइभ ईन्रोलमेन्ट गर्यौ। फोटो खिचेर पठाइन्थ्यो, अनि त्यसको भेलिडिटेसन चाहिँ पासपोर्ट विभागले गर्यौ। पछिल्ला दिनहरुमा चाहिँ त्यो भेलिडिटेसनको काम पनि यहीँबाट गर्नुपर्ने भएको छ। त्यसैगरी कामहरु पनि थपिंदै गइराखेका छन्। जस्तै डिमान्ड एसेप्टेसनका कामहरु सुरुवाती चरणमा खासै हुँदैनथ्यो, तर पछिल्लो ५ वर्ष देखि यहीँबाट गर्नुपर्ने अवस्था भएको छ। यसरी नेपालीहरूको संख्या थपिएको, उहाँहरुका समस्या थपिएको र दुतावासमा कामहरु पनि थपिएका छन् र त्यही अनुपातमा कर्मचारीहरु पनि थप गर्दै जानुपर्ने अवस्था छ। यसमा हामी सम्बन्धित निकायलाई अनुरोध गरेकै छौं। सम्बन्धित निकायहरू पनि संवेदनशील छ।
अहिले चलिरहेको दुबई एक्स्पोमा नेपालको कमजोर प्रस्तुति भयो भन्ने कुरा आइरहेको छ। अस्ति मात्रै नेपाल डे पनि सम्पन्न भयो । अन्य देशको प्रधानमन्त्री स्वयं नै आएर, कुनै देशको मन्त्रीहरु पनि आएर सहभागी हुनुभयो, नेपालको चाहिँ भएन नी भन्ने कुरा आएको छ । यसलाई कसरी लिनुभएको छ ? नेपालको प्रस्तुती कमजोर नै हो त ?
छोटो सूचना र तयारीमा हामीले जुन किसिमको नेसनल डे सेलिब्रेटी गर्यौं, त्यो नेशनल डेमा हामीले राम्रै गर्ने प्रयन्त गरेका हौं। राम्रै भयो भन्ने हामीलाई प्रतिक्रियाहरु पनि प्राप्त भएका छन् । हामीलाई दर्जनौ मेसेजहरु आएका छन्। एकदम गर्व गर्न लायक क्षण थियो र एकदम राम्रो भयो भन्ने कुरा भयो। त्यो कार्यक्रममा सम्माननीयज्यूहरु अर्थात् माथिल्लो स्तरको सहभागिता भएको भए अझै राम्रो हुन्थ्यो। तर, कोभिड लगायत पछिल्लो परिस्थितिका कारणले त्यो हुन सकेन । र, अरु मुलुकहरुले पनि, सायद त्यो अन्य साथीहरुले पनि भन्नु भयो होला । अनि अरु कैयौं मुलुकहरुले पनि राजदूत स्तरमै गरेको पनि देखिन्छ। कतिपय देशहरुबाट राष्ट्रप्रमुख, सरकारप्रमुख पनि आउनुभएको देखिन्छ। त्यसैले त्यो कोभिडको उतारचढाबले गर्दा अलिकति समस्या भएको हो । तर, यूएई सरकारसँग नेपालको अत्यन्तै उच्चस्तरको र सुमधुर सम्बन्ध छ। हाम्रो उच्चस्तरीय भेटघाट र भ्रमणहरू आगामी दिनमा सुचारु नै हुनेछन् । एक्स्पोमा नेपालको प्रतिनिधित्वलाई प्रभावकारी बनाउन प्रयत्न भएकै छ।
तपाईलाई थाहा नै छ नेपालको एक्स्पोमा जुन किसिमको नेपाल प्याभिलियनमा हामीले प्याभिलियन बनाउन सकेनौं । तर, त्यो प्याभिलियनमा जुन किसिमको प्रदर्शनीहरु गरिएको छ, जुन किसिमका सांस्कृतिक झाँकीहरु प्रस्तुत गरिएका छन्। त्यसको आफ्नै मौलिकता, आफ्नै विशेषता र आफ्नै एक किसिमको सम्मोहन चाहिँ महसुस गरिएको छ। अरु कतिपय प्याभिलियनमा जाँदा डिजिटल फर्महरुमा भिडियो देखि चित्र देखिने त्यस्तो खालको देखिन्छ । हामीकहाँ रियल कुराहरु नै छन्। हामीले रथ नै देखाएका छौं । हामीले चाहिँ त्यो हिस्टोरिकल आर्टस एन्ड आर्टिफेक्ट्स देखाएका छौँ। यसको बेग्लै आकर्षण हामीले महसुस गरेका छौ । आगामी दिनमा नेपालको प्रतिनिधित्वलाई बलियो बनाउने, नेपाललाई अझ प्रभावकारी ढंगले प्रमोट गर्ने गर्न सकिन्छ। सुधार गर्नसक्ने ठाउँहरु प्रशस्तै छन्।
अन्त्यमा यूएईमा रहेका नेपालीहरुलाई के भन्न चाहनुहुन्छ ?
यूएईमा रहेका नेपालीहरुले नेपाल र नेपालीहरूको शिर उच्च बनाउन, नेपालको प्रतिष्ठा उच्च अभिवृद्धि गर्न र नेपालीहरु कति मेहनती, कति इमान्दार, कति परिश्रमी हुन्छन् भन्ने कुराको उदाहरण प्रस्तुत गर्न अभूतपूर्व योगदान गर्नुभएको छ। कोभिड—१९ को जटिल, कठिन अवस्थामा यूएईमा भएका नेपालीहरुलाई हातेमालो गरेर सहयोग गर्नुभयो । सद्भाव प्रदर्शन् गर्नुभयो र दूतावाससँग पनि नजिकबाट सहकार्य गर्नुभयो। त्यतिमात्रै होइन, कठिनाइमा रहेका नेपालमा रहेका दाजुभाई दिदीबहिनीहरुलाई पनि सहयोग गर्नुभयो। त्यसका लागि हार्दिक आभार व्यक्त गर्न चाहन्छु। दूतावास उहाँहरूको हित, उहाँहरूको भलोका लागि अविछिन्न रूपमा क्रियाशील रहँदैआएको छ । आसन्न श्रमसम्झौता सम्बन्धित बैठकले त्यो कुरालाई अझ प्रभावकारी बनाउने पर्यत्न नै गर्दैछ ।