बेलायतमा नेपाली युवाको हर्कत : चर्चित टेनिस खेलाडीलाई ‘माया गर्छु’ भन्दै घरमै पुगेर तनाव दिए

बेलायतमा नेपाली युवाको हर्कत : चर्चित टेनिस खेलाडीलाई ‘माया गर्छु’ भन्दै घरमै पुगेर तनाव दिए

लण्डन । चर्चित बेलायती टेनिस खेलाडीलाई घरमै पुगेर तनाव दिएको प्रकरणमा एक नेपाली दोषी ठहर भएका छन्। एड्ग्वेयर बस्दै आएका ३५ वर्षीय अमृत मगर टेनिस खेलाडी एम्मा र्‍याडुकानुलाई पिछा गरेको अभियोगमा दोषी ठहरिएका हुन्।

मगरलाई शुक्रबार ब्रोम्ली मजिस्ट्रेटको अदालतले दोषी ठहर गरेको हो। स्थानीय मिडियाका अनुसार उनलाई केही समयपछि सजाय सुनाइनेछ।

१९ वर्षीया र्‍याडुकानुआफ्ना बुवाआमासँग साउथ लण्डनस्थित घरमा बस्दै आएकी छिन। सोही घरको ढोकाको क्यामेराको फुटेजमा कैद गरिएको प्रमाणको आधारमा मगरका गतिविधिमाथि शंका गरिएको थियो।

र्‍याडुकानुले आफू एक्लै बाहिर निस्कन डराएको अदालतमा बयान दिएकी छिन।

‘यो सबै घट्ना भएदेखि, विशेषगरी एक्लै हुँदा मलाई बाहिर निस्कन एकदम डर लाग्छु,’ उनले प्रहरीसँगको एक बयानमा भनेकी छिन्, ‘मलाई मेरो स्वतन्त्रता खोसिएको जस्तो लाग्छ। म लगातार डर महशुस गर्छु र यो घटना फेरि हुन सक्छ भनेर चिन्तित छु।’ उनले आफ्नै घरमा असुरक्षित  महशुस गरेको दूखेसो पोखेकी छिन।

गत वर्षको डिसेम्बर महिनामा मगर राडुकानुको घरमा धेरैपटक गएका थिए। अमेजन कम्पनीमा डेलिभरी ड्राइभरको काम समेत गरेका मगर एकपटक लण्डनबाट २३ माइल हिँडेर उनको घरसम्म पुगेका थिए। त्यत्तिबेला मगरले उनलाई ‘तिमी मायाको लागि योग्य छौ’ लेखिएको एउटा नोट पनि छोडेको बताइएको छ।

यूएस ओपन च्याम्पियन र्‍याडुकानु डिसेम्बरमा बीबीसी स्पोर्ट पर्सनालिटी अफ द इयर’ समेत घोषित भएकी थिइन्।