राजनीतिक पार्टीको सर्कुलरले चुनाव जित्न खोज्नु ‘आचार्य टिम’ को दिवा सपना हो : विनय अधिकारी

राजनीतिक पार्टीको सर्कुलरले चुनाव जित्न खोज्नु ‘आचार्य टिम’ को दिवा सपना हो : विनय अधिकारी

विनय अधिकारी गैरआवासीय नेपालीको अभियानमा लामो समयदेखि सक्रिय व्यक्ति हुन्। उनले गैरआवासीय नेपाली संघ (एनआरएनए) को आसन्न निर्वाचनमा ‘टिम रवीना’ को तर्फबाट महासचिवमा उम्मेदवारी दिने घोषणा गरेका छन्। बेलायतलाई आफ्नो कर्मभूमि बनाएका अधिकारी पेशाले ‘कन्सल्ट्याण्ट’ हुन्। राजनीतिक रूपमा नेपाली कांग्रेसमा आवद्ध भएपनि उनी एनआरएनएमा भइरहेको राजनीतिप्रति ब्यंग गर्छन।

उनको एक मात्र सिद्धान्त छ, एनआरएनए विशुद्ध गैरराजनीतिक संस्था हो, त्यसैले यसको गरिमालाई कायम राख्नुपर्छ। ‘टिम कुल आचार्य’ ले चुनाव रोक्न गरिरहेको चलखेल उनलाई मन परेको छैन। एकातिर चुनाव रोक्न परराष्ट्र मन्त्रालय धाउने र अर्कोतर्फ पदाधिकारीमा उम्मेदवारी दिने ‘टिम कुल आचार्य’ को कामलाई उनी ‘दुई मुखे प्रवित्ति’ भन्न रुचाउँछन्।

परराष्ट्रले हालै दोस्रो पल्ट एनआरएनएको चुनाव रोक्न दिएको निर्देशनलाई उनी संस्थामाथिको ठाडो हस्तक्षेप भन्छन्। आफ्नो कुरा स्पष्ट राख्ने उनै विनय अधिकारीसँग प्रवास खबरले गरेको कुराकानीको सम्पादित अंशः

एनआरएनएको आगामी कार्यकालका लागि महासचिव पदमा उम्मेदवारी घोषणा गर्नुभएको छ । तर, परराष्ट्र मन्त्रालयको निर्देशनले चुनाव नहुने देखियो। यसलाई कसरी लिनु भएको छ?

निर्वाचन तोकिएकै समयमा हुनु पर्दथ्यो। चुनाव समयमै हुनुपर्छ भन्ने म लगायत हाम्रो टिमको माग पनि हो। तर, दुर्भाग्यवस अहिले संघभित्र राजनीतिक खिचातानी सुरु भएको छ। स्वतन्त्र संस्थामाथि राजनीतिक दलका मान्छे मिलेर जसरी हस्तेक्षप गरिरहेका छन्, यो निकै दुःखदायी छ। एनआरएनए जस्तो पवित्र संस्थामा राजनीतिक दलले एउटा उम्मेदवारलाई काखी च्यापेर हिँड्नु कत्तिको जायज हो भन्ने बुझ्न आवश्यक छ।

विदेशमा बस्ने नेपालीको ‘साझा फुलबारी’ मा नेपालको राजनीति गन्ध मिसाइएको छ। यो हामी सबै गैरआवासीय नेपालीका लागि ठूलो दुर्भाग्य हो। आखिर यसरी नै हस्तेक्षप गर्ने हो भने राजनीतिक दल अनुसारको छुट्टाछुट्टै एनआरएनए गठन गर्नेपर्ने अवस्था नआउँला भन्न सकिदैन्। राजनीतिक हस्तक्षेपविरुद्ध सबै एकजुट हुनुपर्ने बेला आएको छ, किनभने संघलाई संकटबाट बचाउन पर्ने अवस्था छ। आखिर राजनैतिक हस्तक्षेपको प्रतिकारको लागि पनि मेरो महासचिवमा उम्मेदवारी हो।

तपाईं पनि राजनैतिक पृष्ठभूमिकै व्यक्ति होइन र?

हो। मेरो पनि राजनीतिक पार्टीसँग संग्लनता छ। त्यो मेरो निजी विचार हो। तर, एनआरएनए भनेको गैरराजनीतिक संस्था हो। यसमा आउँदा राजनीतिक रङ बाहिरै पखालेर आउनुपर्छ, यसमा म पूर्ण सचेत छु। संस्थालाई राजनीतिमुक्त गराउन म कठिबद्ध छु।

महाधिवेशन प्रतिनिधि छनोटमा धाँधली भएको भन्दै परराष्ट्रमा उजुरी परेका छन्। यही कारण देखाउँदै परराष्ट्रले निर्वाचन प्रक्रिया स्थगित गर्न निर्देशन दिइसकेको छ। यसमा तपाईंको भनाइ के हो?

अहिले परराष्ट्रमा जुन मुद्धा हालियो, यो सहि छैन। यसले सामान्य विवादमा पनि मुद्धा मामिला नै गर्नुपर्छ भन्ने परम्मपराको सुरुवात भएको छ। पवित्र सामाजिक संस्थामा यस्ता मुद्धा मामिला गर्नु उपयुक्त मानिदैन। सबै मिलेर अगाडि बढ्ने बेलामा घरभित्रको झगडा बाहिर ल्याइएको छ। यसको असर भविस्यमा नराम्रो पर्नेछ। एनआरएनएलाई बदनाम गराउन जसरी मुद्धा मामिला गरियो, यसमा मेरो घोर आपत्ति छ। वास्तवमा संस्थाप्रति साच्चिकै माया हुन्थ्यो भने उहाँहरूले यसो गर्नु हुँदैन्थ्यो। उहाँहरूले संस्थालाई बर्वाद गराउँदै हुनुहुन्छ भन्ने मलाई लागेको छ। म अझै पनि ‘प्लिज’ यसो नगर्नुहोस्, यसले तपाईलाई फाइदा हुने केहि छैन।

तपाईं आफै लोकतान्त्रिक विचारधारा राख्ने मान्छे। ‘डेमोक्रयाट्’ खेमाकै ‘टिम कुल आचार्य’ मा नपरेपछि रवीना थापालाई उचालेर ‘टिम’ बनाउनु भएको हो?

यी सबै मलाई बदनाम गराउन चलाइएको हल्ला हुन्। यसमा कुनै सत्यता छैन। पहिलो त संघभित्र प्यानल निर्माण गर्न पाइँदैन। एक–अर्कामा सहयोग गर्ने कुरा फरक भयो। प्यानलन नै बनाएर लड्ने प्रवृत्तिविरुद्ध मेरो आपत्ति छ।

दोस्रो कुरा के हो भने, जसरी कुल आचार्यलगायत प्रतिस्पर्धीहरू राजनैतिक प्यानल बनाएर बाहिर देखिरहनु भएको छ, यो आपत्तिजनक छ। हाम्रो टिमको कुरा गर्नुहुन्छ भने अहिलेसम्म हामीले कुनै दलको पछाडि छैनौं। किनकि हामी गैरआवासीय नेपाली संघको विधानलाई सम्मान गर्न चाहान्छौं, गर्नुपर्छ। हामी संसारभर रहेका नेपालीलाई फुलको गुच्छा जसरी गाँस्ने अभियानमा छौँ। सामाजिक संस्थालाई राजनैतिक दलको अखडा बनाउने हाम्रो उद्धेश्य होइन।

तपाईंले भनेजस्तो म कुनै टिममा नपरेर अर्काे समूह खडा गरेको होइन। यो त हाम्रो भावना मिल्ने साथीहरूको समूह हो। सांच्चिकै भन्नु पर्दा कुल आचार्यकै टिमका मान्छे हाम्रो टिममा आउन खोजिरहनु भएको छ। संस्था जोगाउन तपाईंको टिमको विकल्प छैन् भन्दै उहाँहरु आइरहनु भएको छ। सायद खुल्मखुल्ला राजनीतिक छिरेर होला उहाँहरू विचार बदलेर हाम्रो साथमा आउन थाल्नु भएको छ। हाम्रा अभिभावाकले देखेको सपना हामीले चकनाचुर पार्न दिन हुन्न। २० वर्षको इतिहास धरायसयी हुन दिनु हुन्न।

तपाईं पनि कांग्रेसकै मान्छे, तपाईको टिमको अध्यक्ष पदको प्रत्यासी रवीना पनि कांग्रेसी नै। कांग्रेसले किन तपाईंहरूलाई छोडेर कुल आचार्यलाई रोज्यो?

म प्रजातान्त्रिक आस्थामा विश्वास राख्ने मान्छे हुँ। मेरो परिवार पनि प्रजातान्त्रिक पृष्ठभूमीको हो। तर, संघभित्र मेरो राजनैतिक विचार छैन। किनभने यो विशुद्ध सामाजिक संस्था हो। नेपाली राजनीतिमा नेपाली कांग्रेसको भूमिका महत्वपूर्ण छ। यो पाटीभित्र धेरै राम्रा मान्छे हुनुहुन्छ। नेपालको विकासमा पनि कांग्रेसको योगदान अतुलनीय छ।

तर, गैरआवासीय नेपाली संघ भनेको विशुद्ध गैरराजनैतिक संस्था हो। यसमा नेपालका कुनै पनि पार्टीले आँखा लगाउनु हुँदैन। यो जायज पनि हुँदैन। एनआरएनए भनेको विदेशमा रहेका कांग्रेस, माओबादी, एमाले सबै अट्आउने संस्था हो।

पछिल्लो समय जसरी नेपाली काँग्रेसबाट एउटा उम्मेदवारलाई जिताउन पर्छ भनेर सर्कुलर जारी भएको छ, यो ठिक होइन। मलाई यो सत्य पनि होइन जस्तो लाग्छ। यहाँ ठूलै चलखेल भएको छ। होइन भने एउटा पार्टीले यसरी एउटा टिमलाई मात्र उचाल्दैनथ्यो होला। कसैलाई आर्थिक प्रलभोनमा पारेर पनि यस्तो हर्कत भएको हुन सक्छ। यर्थात छिट्टै बाहिर आउने छ। कुलको टिममा मात्र कांग्रेसी विचार अंगालेका मान्छे छैनन्। अन्य टिममा पनि कांग्रेसी विचार बोक्ने मान्छे छन्। पछिल्लो समयको सर्कुलरले संगठनलाई नै विभाजित गर्न बल पुर्याएको छ।

त्यसो भए बिदेशमा रहेको कांग्रेस निकट जन–सम्पर्क समिति कसको पक्षमा उभिएको छ त?

हेर्नुस्। मैलै धेरै पटक भनिसके एनआरएनए भनेको गैरराजनीतिक संस्था हो। यहाँ कसैले पनि राजनीतिक शरण लिएर आफ्नो स्वार्थपरिपूर्ती गर्न हुँदैन। विदेशमा रहेका जन–सम्पर्क समितिको कुरा गर्नुभयो, यसबारेमा पनि क्लियर पार्न चाहान्छु, विदेशमा रहेको जन–सम्पर्क समितिले अहिलेसम्म यसलाई र उसलाई भनेर सर्कुलर जारी गरेको छैन। र, गर्नु पनि हुँदैन। किनभने जनसम्पर्क समितिमा धैरै वौद्धिक वर्गका साथीहरु आवद्ध हुनुहुन्छ। जन–सम्पर्क समितिले एउटालाई उचालेर आफ्नै अरु साथिलाई विभाजन गर्न चाहदैन। विवेक प्रयोग गर्नुपर्छ भन्ने जन–सम्पर्क समितिको मान्यता हो।

तपाईँको भनाइको अर्थ कांग्रेस पार्टीको सर्कुलरले केही फरक पर्नेवाला छैन भन्ने हो?

एकदमै। नेपालका नेताले भन्दैमा विदेश बस्ने नेपालीले भोट हाल्ने होइनन्। प्रतिनिधि सबै विदेशमा छन्। नेपालबाट गरिएको सकुर्लरले उहाँहरुलाई प्रभाव पार्दैन। नेपालका पार्टीको सर्कुलरले चुनाव जित्छु भन्ने ‘टिम कुल आचार्य’ बाट चुनाव लड्ने साथीले दिवा सपना देख्दा हुन्छ। तर, नतिजा उहाँहरूले सोचे जस्तो आउँदैन। म त साथिहरूलाई दिउँसा नसुत्नुस् भन्छु। सपना देख्न छोडेर अभियानमा केन्द्रित हुनुस्। यसोगर्दा बरु उहाँहरूको केहि भएपनि भलो हुन्छ।

तर, कांग्रेसकै निर्देशनमा चुनाव सर्याे त !

हाम्रो अन्तिम माग नै समयमा चुनाव हुनुपर्छ भन्ने हो। तर, बहुमत आफ्नो पक्षमा नदेखिएपछि साथीहरूले अनेक बखेडा झिकेर चुनाव सार्न खोजिरहनु भएको छ। यसमा नेपाली कांग्रेस जस्तो सत्तधारी पार्टीको भूमिका देखिनु पार्टीकै लागि पनि राम्रो संकेत होइन। यसको क्षति एनआरएनएले मात्र ती व्यक्तिहरूले पनि व्यहोर्नु पर्छ, जो यसका पछाडि लाग्नु भएको छ।

म त भन्छु साथीहरूले आफ्नै खुट्टामा बन्चरो हान्नुभयो। चोट लागेपछि त्यसको दुखाइ त उहाँहरूले नै थाहा पाउनु हुनेछ।

तपाईंको टिमको पक्षमा चुनावी माहोल कस्तो बनिरहेको छ?

हामीलाई संसारभरका साथीहरुले सुभेच्छा तथा साथ दिइरहनु भएको छ। तपाईहरू अघि बढ्नु हामीहरु जस्तोसुकै सहयोग गर्न तत्पर छौँ भनिरहनु भएको छ। यसले हामीलाई थप हौसला दिइरहेको छ। हामी जितको नजिक छौँ। एनआरएनएकै इतिहासमा पहिलो पटक महिलाले नेतृत्व सम्माल्ने वातावारण तयार भएको छ। त्यसैले पनि हामीले समयमै निर्वाचन हुनुपर्छ भनिरहेका छौँ। नतिजा हाम्रै टिमको पोल्टा पर्नेमा विश्वस्त छौँ।