मेरो उम्मेदवारी राजनीतिक विकृतिविरूद्ध हो : यासमिन बेगम सैयद

मेरो उम्मेदवारी राजनीतिक विकृतिविरूद्ध हो : यासमिन बेगम सैयद

यासमिन बेगम सैयद गैरआवासीय नेपाली संघ (एनआरएनए) को केन्द्रीय महिला उपाध्यक्षकी उम्मेदवार हुन्। विगत लामो समयदेखि  गैरआवासीय नेपालीहरूको अभियानमा जोडिएकी बेगम सन् २००४ देखि साउदी अरबमा कार्यरत छिन्।

उनी एनआरएनएमाझ ‘पाल्पाकी छोरी र स्याङ्जाकी बुहारी’ भनेर चिनिन्छिन्। अर्थशास्त्रमा स्नातकोत्तर गरेकी बेगम मुस्लिम महिलामाझ बौद्धिक व्यक्तित्वको रुपमा परिचित छिन्। सन् २००७ मा साउदी अरबमा एनआरएनएको शाखा स्थापना गर्न उनको भूमिका महत्वपूर्ण थियो। वास्तवमा साउदीमा एनआरएनए शाखा गठनको पहल उनकै घरबाट शुरू भएको हो।

उनी एनआरएनए साउदी एनसीसीको पदमा नबसेपनि विभिन्न भूमिकामा रहेर संस्थालाई योगदान पुर्‍याउने अभियन्ता हुन्। उनले सन् २००९ देखि एनआरएनएको केन्द्रीय कमिटीमा मनोनित सदस्यको रुपमा अविरल काम गर्दै आइरहेकी छिन्।

उनीसँग सन् २००९ मा एउटा रोचक घटना भएको थियो। एनआरएनएको दुबईमा आयोजित कार्यक्रममा उनी पनि सहभागी भएकी थिइन। त्यतिबेला सानो मन्तब्य राख्ने क्रममा एनआरएनएका संस्थापक अध्यक्ष तथा संरक्षक उपेन्द्र महतो निकै प्रभावित भएका थिए। उनको क्षमता देखेर महतोले तत्कालै उनलाई केन्द्रीय कमिटीमा बसेर काम गर्न आग्रह गरेका थिए।

‘मैले पद चाहियो भनेर कहिले माग गरिन्। सबैले तिमी सक्षम छौं भनेर मनोनित गर्नुभयो। मैले पनि मनोनित सदस्यको रुपमा काम गरिरहे,’ प्रवास खबरसँगको अन्तर्वार्तामा बेगमले विगत कोट्याइन्।

उनले २०१७–१९ कार्यकालमा मध्यपूर्वको महिला संयोजक भएर काम गरिसकेकी छिन्। पहिलो पल्ट एनआरएनएको चुनावमा लड्न लागेकी उनै बेगमसँग प्रवास खबरका लागि बिनेश खनालले गरेको अन्तर्वार्ताको सम्पादित अंशः

तपाईं एनआरएनएको निरन्तर मनोनित केन्द्रीय सदस्य, पहिलो पल्ट उपाध्यक्ष पदमा किन उठ्न लाग्नु भयो?

एकदमै सान्दार्भिक प्रश्न गर्नुभयो। म यसअघि कहिल्यै एनआरएनएको चुनावमा लडेको थिइन। लडनुपर्ने आवश्यकता नै परेन। सधै नेतृत्वको विश्वासको कसीमा रहे। त्यसैले यसअघि एनआरएनएमा ज–जसले जित्नुभयो, सबैले मलाई मनोनित केन्द्रीय सदस्य बनाउनु भयो। म फेरि सामूहिकतामा विश्वास गर्ने मान्छे। जे काम गर्दा पनि टिम चाहिन्छ भन्नेमा विश्वास गर्छु। त्यसैले मलाई यसअघि चुनाव लड्नुपर्छ भन्ने नै भएन।

तर, यसपालि एनआरएनएमा महिला सहभागिता बढ्दैछ। मलाई मेरा अग्रज तथा सुभेच्छुकले अब तपाईं अगाडि बढ्नुपर्छ, संस्थालाई तपाईं जस्ता अनुभवी महिलाको खाँचो छ भन्न थाल्नु भयो। त्यसैले सबैको सल्लाह, सुझाव र हौसलाले महिला केन्द्रीय उपाध्यक्ष पदमा उम्मेदवारी दिन लागेकी हुँ।

यो समयको माग पनि हो।

एनआरएनएको अहिलेको गतिविधिलाई कसरी हेर्नुभएको छ?

पछिल्लो समय एनआरएनए जस्तो पवित्र सामाजिक संस्थामा राजनीति मौलाउन लागेको छ। यो निकै दुर्भाग्य हो। संघमा बढ्दै गएकोे यस्तो विकृति हटाउनु पर्छ भनेर पनि मअघि बढेको हुँ। सक्षम व्यक्ति संस्थामा आउनुपर्ने अहिलेको माग हो। यदी त्यसो भएन भने संस्था दुर्घटनामा पर्ने सम्भावना छ।

यस्तो अवस्थामा किन आफ्नो उम्मेदवारी रोज्नु भयो?

संस्थाको मूल मर्मलाई जोगाइराख्न तथा संस्थालाई थप व्यवस्थित र व्यापक बनाउन आफ्नो योग्यता अनुभवका कारण यसपालि मैले महिला उपाध्यक्ष पद नै रोजेकी हुँ। मलाई यो पदमा आउनु पर्छ भन्ने समग्र गैरआवासीय नेपालीको माग हो। उहाँहरुले नै अघि सार्नु भएको हो। उहाँहरुको हौसलाले मलाई थप बलियो बनाएको छ।

तपाई लामो समयदेखि साउदी अरबमा हुनुहुन्छ, खाडीमुलकमा नेपाली महिलाले भोग्नु परेका समस्या के–के हुन?

खाडी मुलुकमा कार्यरत महिलाको समस्या पहिला जस्तो विकराल छैन। यद्यपि समस्या नै नभएको पनि होइन। समस्या अहिले पनि छन्। खाडीमा पहिला महिला ठगिएको, बेचिएको, शोषणमा परेको जस्ता समस्या चरम थिए। हामीले जुनसुकै कार्यक्रममा महिलाको समस्यालाई प्रमुख मु्द्दा बनाउँथ्यौं। यसबारे धेरै छलफल तथा वहस भएका छन्। हामी समस्या समाधानको उपाय पनि खोजथ्यौं। कतिपय समस्या आफैले पनि हल गर्दथ्यौं।

तर, विगत ५–६ वर्र्षदेखि खाडीमा महिलाका समस्या पहिला जस्तो ठूलो छैन। पछिल्लो समय नेपाली महिला पनि शिक्षित र सक्षम भएर मात्र वैदेशिक रोजगारीमा आउने क्रम बढेको छ। घरेलु महिला कामदारको हकमा पनि यहाँ नियम कानून व्यवस्थित बन्दै गएका छन्। जसले गर्दा समस्या परे पनि उजुरी दिँदा न्याय मिल्ने गरेको छ।

पहिले खाडीमुलुकमा महिला तस्करी हुन्छ भन्ने खुब सुनिन्थ्यो, अहिले अवस्था के छ?

अवैध बाटो हुँदै खाडीमा हुने महिला तस्करी ठ्याक्कै रोकिएको छैन। तर, कम भने भएको छ। गैरकानूनी रूपमा विदेश जाँदा दुःख पाइन्छ भनेर दिदीबहिनी हिजोआज श्रम स्वीकृति गरेर आउन थाल्नु भएको छ। यसले समस्या पहिला भन्दा कम भएको छ। खाडीमा नेपाली महिलाले भोग्दै आएका समस्याप्रति हामी गम्भिर हुनु जरुरी छ। यी समस्या आजभोलि निराकरण हुने होइनन्।

सचेत भएर तथा स्वविवेक प्रयोग गरेर आउने हो भने यस्ता समस्या भोग्नु पर्देन। महिलाले पनि यसतर्फ ध्यान दिनु जरुरी छ। पछिल्लो समय युरोप, अमेरिकामा मात्र नभएर खाडी मुलुकमा पनि पढेलेखेका महिलाहरु आउने क्रम बढेको छ। डाक्टर, नर्स, म्यानेजमेन्ट, सेल्स गर्ल, पार्लरलगायत राम्रा क्षेत्रमा पनि नेपाली महिला कार्यरत छन्। यो सकरात्मक पक्ष हो।

उपाध्यक्षमा जित्नु भयो भने मध्यपूर्व मात्र होइन सबै क्षेत्रका लागि काम गर्नुपर्ने हुन्छ, तपाईंसँग के–छन् त्यस्ता विशेष योजना, जसकारण तपाईंलाई जिताउनै पर्ने?

महिलाका मुख्य समस्या विशेषगरी मध्यपूर्वमा नै छ। केही अफ्रिकी मुलुकमा पनि समस्या छन् भन्ने सुनेको छु। योबाहेक मानव तस्करले प्रलोभन देखाएर महिला दिदीबहिनीलाई विभिन्न देशमा पुर्याएर अलपत्र पार्ने क्रम अहिले पनि रोकिएको छैन। त्यस्ता कार्य रोक्न विशेष पहल गर्नेछु। आइपर्ने समस्या समाधान गर्ने सामान्य कुरा भइहाल्यो, घटना दोहोरिन नदिन कसरी काम गर्ने भन्ने विषय मेरा लागि चुनौतीपूर्ण हुनेछन्। तर, चुनौती छ भन्दैमा म पछाडि हट्ने महिला होइन। खटेर काम गर्नेछु। समस्याको जड मैले वुझिसकेको छु। सम्बन्धित निकायसँग समन्वय गरेर अघि बढ्ने छु।

यसबाहेक अन्य एजेण्डा के–के छन्?

योबाहेक अरु मुद्दामा हाम्रो टिम सबै मिलेर अघि बढ्ने छ। हाम्रो टिमको उद्धेश्य नै एउटै हो– मिलेर काम गर्ने। हाम्रा सामूहिक एजेण्डा छन्। बौद्धिक वर्ग र लामो समयदेखि अनुभव बटुलेका व्यक्ति हाम्रो टिममा भएकोले काम गर्न समस्या पर्र्दैन भन्ने मलाई लागेको छ। हाम्रो टिम पूरै विश्वभरका मुद्धामा तदारुक्ताका साथ केन्द्रीत हुनेछ। म पनि आफ्नो ‘प्रोटोकल’ को हिसाबले खाली महिलाको मुद्दामा मात्र सिमित हुनेछैन। सबै क्षेत्रमा काम गर्न तयार छु।

तपाईंको चुनाव जित्ने आधार के–के हुन्?

मेरो पक्षमा नतिजा आइसकेको छ त! चुनाव जित्नेमा सतप्रतिशत ढुक्क छु। संसारभरीबाट मलाई अपार समर्थन, सल्लाह र सुझाव आएको छ। यो नै जितको आधार हो। म औपचारिक रुपमा मैदानमा नउत्रिएको अवस्थामा त यति धेरै समर्थन देखिन्छ भने उठेपछि के होला? संसारभरीबाट मेरो पक्षमा चुनावी माहोल बनाउन साथीहरू लाग्नु भएको छ। अग्रजहरू पनि मेरै पक्षमा उभिनु भएको छ। मलाई त निर्विरोध नै हुन्छु जस्तो लागेको छ।

पछिल्लो समय एनआरएनएको चुनावमा नेपाली राजनीति हावी भएको देखिन्छ? तपाई डेमोक्र्याट पृष्ठभूमिको व्यक्ति, डेमोक्र्याट टिमलाई छोडेर समावेशी भन्दै डा. केसीको पक्षमा लाग्नु भएको छ। यसले चुनावी नतिजामा गडबड होला नि?

गडबड पटक्कै हुँदैन। म ‘क्लिन कट’ र सक्षम उम्मेदवार हो। म कुनै राजनीतिक दलको आड् लिएर होइन, सक्षम र बौद्धिक व्यक्तिको साथ लिएर चुनाव लड्न चाहन्छु। त्यसैले डा. बद्री केसीको समावेशी टिममा छु। मेरो उम्मेदवारी राजनीतिक विकृतिविरुद्ध पनि हो।

हो, राजनीतिक विचारधाराले म कांग्रेसी होला। तर, संघमा राजनीति हस्तक्षेप हुनु हुँदैन भनेर बारम्बार आवाज उठाउने व्यक्ति पनि मै हुँ। एनआरएनए पवित्र संस्था हो, यसमा आउँदा राजनीति पार्टीको चश्मा बाहिर खोलेर आउनु पर्छ।

तपाईंले हुनुहुँदैन भने पनि संस्थामा राजनीति झन् मौलाएर गएको छ, होइन र?

हामीले संस्था स्थापना गर्ने बेला नै गैरराजनीतिक भनेर बनाएका थियौं। पछिल्लो समय केही एनआरएनएमा नेपालको राजनीति मिसाउन खोजिएको पक्कै हो। यो दुर्भाग्यपूर्ण छ। संस्था यसरी अघि बढ्दैन। संस्थालाई राम्रो बनाउन राजनीति मुक्त बनाउनु अनिवार्य छ। यसमा म स्पष्ट छु।

गत जनवरीमा सम्पन्न विशेष महाधिवेशनमा जाने बुझेका, संघमा अग्रज व्यक्ति भनेर चिनेका केही व्यक्तिले खुलेआम राजनिितक हस्तक्षेंपको शैली देखाउनु भयो। यो दुःखद विषय हो। त्यसैको परिणाम अहिले एनसीसीको निर्वाचनमा नेपालको राजनीतिक पार्टीले ह्विप नै जारी गरेका थिए। जिन्दावाद र मुर्दावादका नारा लगाइयो। यो अस्वभनीय कार्य हो। यसको सबैले मिलेर विरोध गर्नुपर्छ।