अब मेसी पीएसजीमा

अब मेसी पीएसजीमा

काठमाडौं। विश्व चर्चित अर्जेन्टिनी स्ट्राइकर लिओनल मेसी क्याट्लान क्लब बार्सिलोना छोडेर फ्रेञ्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) जाने पक्का भएको छ। उनले व्यक्तिगत रुपमा आफ्नो चाहना बार्सिलोनामा बस्ने हुँदाहुँदै सम्भव नभएको बताए। बार्सिलोनाको घरेलु क्याप नाउमा आइतबार सम्पन्न बिदाइ कार्यक्रममा उनले भने, ‘क्लब र आफ्नो व्यक्तिगत प्रयास भएपनि सम्भव भएन।’

बार्सिलोनाले बिहीबार विज्ञप्ति जारी गर्दै ला लिगाको आर्थिक र संरचनागत त्रृटीका कारण मेसीसँग नयाँ सम्झौता हुन नसकेको जनाएको थियो।

‘गत सिजन आफैं क्लब छाड्न चाहन्थेँ तर त्यो सम्भव भएन। यसपटक सबैले नयाँ सम्झौता सहमति जनाएका थियौं। तर, लिगको नियमका कारण सम्भव हुन सकेन। हामी कसैले यो अवस्था चाहेका थिएनौं,’ मेसीले भने।

उनले नचाहेर पनि क्लब छाड्नुपरेको र यस्तो अवस्था आउने नसोचेको बताए। ‘यो दुस्खलाग्दो कुरा हो। यो अवस्थामा छोड्नुपर्छ भन्ने सोचेको पनि थिइनँ। मैले क्लबमा रहेर करिअर सक्ने अपेक्षा गरेको थिएँ,’ उनले भने।
आफू बार्सिलोनामा रहन नपाउने खबर सुनेपछि निकै दुस्ख लागेको उनले सुनाए।

‘जब मैले सम्झौता हुन नसक्ने खबर पाएँ, नरमाइलो लाग्यो। तर, मैले आफू फुटबल खेल्न पाउँछु भनेर चित्त बुझाएँ। हुन त हामीसँग ट्रान्सफर विन्डोको अन्त्यसम्म रहेर प्रतीक्षा गर्ने अवस्था छैन। क्लब निकै ऋणमा छ, म त्यसको बोझ बन्न चाहन्नँ,’ मेसीले भने।

बिदाइमा आयोजित सम्बोधन समारोहमा उनी भक्कानिएका थिए। आफ्नो अभिव्यक्ति राख्नुअघि सम्हाल्न नसकेर आँशु झारेका उनलाई सम्बोधन सकिएपछि उपस्थित सबैले लामो समय तालि पिटेर सम्मान गरेका थिए।

मेसीको स्वागतमा पीएसजीले आइफल टावर बुक गरेको छ। इएसपीएनका पत्रकार डिएगो मानरोइगका अनुसार पीएसजीले १० अगष्टका लागि टावर बुक गरेको हो। मेसी र पीएसजीबीच तीन वर्षको सम्झौता हुने बताइएको छ। उनले नेयमारले भन्दा वार्षिक ५ मिलियन बढी प्राप्त गर्नेछन्। नेयमारले अहिले ३५ मिलियन पाउँदै आएका छन्।