कतारमा प्रतिबन्ध थप खुकुलो, यस्ता छन् नयाँ प्रावधान

कतारमा प्रतिबन्ध थप खुकुलो, यस्ता छन् नयाँ प्रावधान फाइल फोटो

दोहा। संक्रमण नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेसँगै कतारले कोभिड–१९ महामारीसँग जोडिएका स्वास्थ्य मापदण्ड तथा प्रतिबन्धलाई थप खुकुलो बनाएको छ।

कतारको मन्त्रिपरिषद बैठकले कोभिडको कारणले यसअघि लगाइएका प्रतिबन्धलाई अझैं खुकुलो बनाएको हो। यसरी दोस्रो चरणमा गरिएको ‘प्रतिबन्ध फुकुवा’ सम्बन्धी व्यवस्था शुक्रबारदेखि कार्यान्वयनमा आएको छ।

सेवा सुविधामा थप सहजता ल्याउने उद्देश्यका साथ मन्त्रिपरिषद्ले पूर्णरुपमा कोभिडविरुद्ध खोप लगाएका व्यक्तिका लागि प्रतिबन्ध खुकुलो बनाउँदै लगेको हो।

कोभिड महामारी नियन्त्रणमा आएको सफलता र पछिल्लो अवस्थाको बारेमा स्वास्थ्यमन्त्रीले प्रकाश पारेसँगै प्रधानमन्त्री तथा आन्तरिक मन्त्री शेख खालिद बिन खालिफा बिन अब्दुलाजीज अल–थानिको अध्यक्षतामा बसेको मन्त्रिपरिषद बैठकले सो निर्णयको अनुमोदन गरेको हो।

कार्यालय

सार्वजनिक र निजी कम्पनीका अधिकतम ८० प्रतिशत कर्मचारीले कार्यालयमा गइ काम गर्न पाउने छन् । बाँकी कर्मचारीले भने आफू रहेकै स्थानबाट काम गर्नु पर्नेछ। सैनिक, सुरक्षा तथा स्वास्थ्य क्षेत्रका कर्मचारीको हकमा यो नियम लागू हुने छैन।

सार्वजनिक तथा निजी क्षेत्रका सबै कर्मचारीले अनिवार्यरुपमा मन्त्रालयबाट स्वीकृत प्राप्त ’रेपिड एन्टिजन’ परीक्षण प्रत्येक साता गर्नुपर्नेछ। यो नियम कोभिडविरुद्धको खोपको पूर्ण मात्रा नलिएका कर्मचारीको सन्दर्भमा लागू हुनेछ। कोभिड विरुद्धको खोपको पुर्ण मात्रा लिएका र कोभिड भइ निको भएका व्यक्तिको सन्दर्भमा भने यो नियम लागू हुने छैन ।

कुनै कार्यालयको बैठक बस्नुपर्ने भएमा पूर्णरुपमा खोप लगाएका १५ जना कर्मचारी भौतिक रुपमा उपस्थित भइ बैठक बस्न सक्ने छन्। तर, त्यसभन्दा धेरै व्यक्ति उपस्थित हुनुपर्ने भएमा अनलाइनबाट बैठक बस्नुपर्ने प्रावधानलाई यथावत् राखिएको छ।

त्यस्तै, मानिसहरू आफ्नो परिवारसँग वा एक्लै गाडीबाट बाहिर निस्किदा बाहेक अन्य अवस्थामा माक्स अनिवार्य गरिएको छ। प्रत्येक मानिसको लागि घर बाहिर निस्किदा कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ एप ’एहत्राज’ अनिवार्य गरिएको छ।

प्रार्थना स्थल

दैनिक प्रार्थनाको साथै शुक्रबार गरिने बिशेषः प्रार्थना समेतको लागि मस्जिदमा जान पाइने छ। सात वर्षभन्दा कम उमेरका बच्चालाई भने सो अनुमति हुने छैन।

शौचालय तथा एब्लुसन सुविधा बन्द नै रहनेछन्।

अन्य सावधानीका मापदण्डहरु स्वास्थ्य तथा इस्लामिक मामिला मन्त्रालयले निर्दिष्ट गर्नसक्ने बताइएको छ।

सामूहिक जमघट

पूर्णरूपमा कोभिडविरुद्ध खोप लिएका १० जनाले इन्डोर जमघट गर्न पाउने छन्। कुनै एक व्यक्तिले मात्र खोप नलिएको खण्डमा भने ५ जना व्यक्ति मात्रै त्यस्तो इन्डोर जमघट हुन सक्नेछन्। खोपको दुबै मात्रा लिएका २० जनासम्मलाई आउटडोर भेटघाटका लागि अनुमति दिइएको छ।

वैवाहिक वा यस्तै समारोहमा अधिकतम ४० जनासम्म मात्रै जमघट हुन पाइने छ जसमध्ये कम्तिमा ७५ प्रतिशतले खोपको दुवै मात्रा लिएको हुनुपर्नेछ।

खोप नलगाएका व्यक्तिको लागि इन्डोरमा हुने सामूहिक भेटघाट प्रतिबन्ध लगाइएको छ। तर, आउटडोरमा भेला हुन आवश्यक भएमा पाँच जनासम्म जम्मा हुन पाउनेछन्। एकै घरमा बस्ने एउटै परिवारका सदस्य त्यसरी जमघट गर्नुपर्दा १० जनासम्म संगै पार्कमा जम्मा हुन सक्नेछन्।

प्राइभेट बिच (समुन्द्र तट)

आम सर्वसाधारणको लागि ४० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइनेछ।

सवारी साधन

मेट्रो सेवा तथा सार्वजनिक सवारी सेवा ३० प्रतिशत क्षमताका दरले सञ्चालन गर्न पाइनेछ। तर, यात्रीले ट्रेन वा बसभित्र केही खान वा पिउन पाउने छैनन्। स्टेशनमा रहेका भोजनालय तथा ’स्मोकिङ जोन’ भने बन्द रहने छन्।

लयमा फर्किदै कतार, यसरी खुकुलो बनाइदै प्रतिबन्ध

बस तथा भ्यानमा सम्पूर्ण सिट क्षमताको आधा संख्यामा यात्री सवार गर्न पाउने छन्। सानो सवारी साधन भएमा र एउटै परिवारको व्यक्ति नभएको खण्डमा चार जनाभन्दा बढी व्यक्ति उक्त सवारी साधनमा यात्रा गर्न पाउने छैनन्।

ड्राइभिङ स्कुल, थिएटर, जीम, सैलुन, मसाज सेन्टर तथा स्नान गृह

सम्पूर्ण कर्मचारीले पूर्णरुपमा खोप लगाएको खण्डमा ड्राइभिङ स्कुल ३० प्रतिशत क्षमताको हिसाबले सञ्चालन हुनेगरि खोल्न पाइने छ।

त्यसैगरी थिएटर,ब्युटिपार्लर, शैलुन, र स्नान गृहले आफ्नो सेवा प्रवाह गर्न पाउने छन्। सेवा प्रवाह गर्दा कुल सहभागीको ७५ प्रतिशतले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लिएको हुनु पर्नेछ।

यस्तै जीम, मसाज,स्टिम् रुम तथा टर्किस बाथको सेवा प्रवाह गर्नेले अधिकतम ४० प्रतिशत क्षमताका हिसावले सेवा प्रवाह गर्न सक्नेछन्। इन्डोर पुलको सन्दर्भमा २० प्रतिशत क्षमतामा मात्रै सेवा प्रवाह गर्न पाइनेछ।

शैक्षिक संस्था, खेलकुद, तालिम केन्द्र तथा अन्य

सबै सार्वजनिक र निजी विद्यालय तथा किन्डरगार्टेनमा मिश्रित शिक्षा प्रणाली जारी गरिनेछ।

सार्वजनिक म्युजियम र पुस्तकालय ५० प्रतिशत क्षमतामा सञ्चालन हुन सक्नेछन्।

विशेषः आवश्यकीय व्यक्तिलाई प्रदान गरिने शैक्षिक सेसनमध्ये प्रत्येक सेसनमा पाँचभन्दा बढी व्यक्ति नहुने गरी सञ्चालन गर्न पाइने छ। तर, त्यहाँ उपस्थित व्यक्तिहरू पूर्णरुपमा खोप प्राप्त भएको हुनु पर्नेछ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयबाट स्वीकृति प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुदको लागि गरिने पूर्वाभ्यास/ तालिम दिने व्यवसायिक खेलकुद तालिम केन्द्र सञ्चालित हुन पाउनेछन्। त्यसरी तालिम सञ्चालन गर्दा खुला क्षेत्र भएमा २० जना एवं ’इन्डोर’ भएमा १० जना सम्म सहभागी गराउन सकिनेछ। त्यसरी सञ्चालन हुने खेलकुद क्रियाकलापमा सहभागी हुने सम्पूर्णले कोभिड बिरुद्धको खोपको सम्पूर्ण मात्रा पूरा गरेको हुनु पर्नेछ। प्रशिक्षण एवं तालिम सत्रमा खेल हेर्नको लागि दर्शकहरु भने उपस्थित हुन पाइने छैन।

स्वास्थ्य मन्त्रालयको स्वीकृतिमा मात्र स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुदको आयोजना गर्न पाइनेछ। यसरी खेलकुद आयोजना हुने क्षेत्रमा कुल सिट क्षमताको ३० प्रतिशत दर्शक मात्र उपस्थित हुन सक्नेछन्। त्यसरी उपस्थित हुने दर्शकले पूर्णरुपमा कोभिड विरुद्धको खोपको मात्रा लिएको हुनुपर्नेछ।

मनोरञ्जन

मनोरन्जन प्रदान गर्ने क्षेत्रहरु २० प्रतिशत क्षमतामा सञ्चालन हुन पाउनेछन्। त्यहाँ उपस्थित हुने मध्ये ७५ प्रतिशतले कोभिड विरुद्धको खोप लिएको हुनुपर्नेछ।

स्वास्थ्य तथा सरसफाइ सम्बन्धी

निजी रुपमा सञ्चालित स्वास्थ्य प्रदायक सेवा ८० प्रतिशत क्षमताको दरले सञ्चालन हुन पाउनेछन्।

सरसफाइ तथा हस्पिटालिटी सम्बन्धी कम्पनीले आफ्ना कर्मचारीले पूर्णरुपमा खोप लिएको खण्डमा ५९ प्रतिशत क्षमता ननाघ्ने गरी आफ्नो सेवा सञ्चालन गर्न सक्नेछन्।

सभा सम्मेलन तथा प्रर्दशनी

स्वास्थ्य मन्त्रालयको स्वीकृत प्राप्त गरेर मात्र ३० प्रतिशत क्षमता नबढ्नेगरी सभा सम्मेलन तथा प्रदर्शनीहरु गर्न पाइनेछ। त्यस्ता कार्यमा उपस्थित हुने सम्पूर्णले कोभिड विरुद्धको खोपको दुबै मात्रा लिइसकेको हुनुपर्नेछ।

मल तथा बजार

यतिबेला १२ वर्षमुनिका बालबालिकालाई समेत प्रवेश पाउने गरी ५० प्रतिशत क्षमतामा मलहरु सञ्चालन हुन पाउनेछन्।

मलभित्र रहेका भोजन गृह ३० प्रतिशत क्षमताको हिसाबले चल्न पाउनेछन् भने ‘चेन्जिङ रुम’ बन्द नै रहनेछन्। प्रार्थना स्थल भने खुला नै रहनेछन्।

त्यसैगरी प्रसिद्ध बजार ३० प्रतिशत क्षमताको हिसाबले १२ वर्षमुनिका बालबालिकाले समेत प्रवेश पाउने गरी चल्न पाउनेछन्।

होलसेल बजार पनि ५० प्रतिशत क्षमताको हिसाबले सञ्चालन हुन पाउनेछन्।

रेष्टुरेन्ट तथा क्याफे

कतारको ’क्लिन सर्टिफिकेट’ प्राप्त गरेका रेष्टुरेन्ट तथा क्याफेले सबै स्टाफ पूर्णरुपमा कोभिड विरुद्धको खोप प्राप्त गरेको भएमा कुल क्षमताको ५० प्रतिशत क्षमतामा सञ्चालन हुन पाउनेछन्। उद्योग तथा वाणिज्य मन्त्रालयको सर्त पालना मात्र गर्ने रेष्टुरेन्ट तथा क्याफेको हकमा भने ३० प्रतिशत क्षमतामा मात्रै सेवा सञ्चालन गर्न पाइनेछ। त्यसरी त्यहाँ आउने सेवाग्राहीहरुले कोभिड विरुद्धको खोपको दुवै मात्रा लिइसकेको हुनुपर्नेछ।

डुङ्गा तथा याच

यसपालिको नियममा डुङ्गा भाडामा लिए चलाउन पाइने छ। त्यसैगरी ,याच (साना जहाज) पनि चलाउन पाइनेछ। यद्यपि त्यसरी डुङ्गा तथा याच चलाउँदा ५० प्रतिशत क्षमता ननाघ्ँने गरि मात्र चलाउन पाइनेछ।

डुङ्गामा सवार हुने व्यक्तिहरुले कोभिड विरुद्धको खोपको पूर्ण मात्रा लिएको हुनुपर्नेछ। अधिकतम १५ जना सम्म सवार हुन पाइनेमा ३ जनासम्म खोप नलिएका ब्यक्ति रहन सक्नेछन्।

त्यसैगरी, कतारको आन्तरिक मन्त्रालय, स्वास्थ्य मन्त्रालय, वाणिज्य र उद्योग मन्त्रालय, तथा अन्य सरकारी एजेन्सीहरुले स्वास्थ्य मापदण्डका उपायहरूको पालनालाई सुनिश्चित गर्नका लागि आवश्यक कदमहरु चाल्न सक्ने बताइएको छ।