लयमा फर्किदै कतार, यसरी खुकुलो बनाइदै प्रतिबन्ध

लयमा फर्किदै कतार, यसरी खुकुलो बनाइदै प्रतिबन्ध

दोहा। विश्वका विभिन्न देश यतिबेला कोरोना भाइरस (कोभिड–१९) संक्रमणको दोस्रो लहरविरुद्ध लडिरहेका छन्। नेपाललगायत छिमेकी मुलुक भारतमा त यसले भयावह रूप धारण गरिसकेको छ। तर, नेपाली श्रमिकको लागि प्रमुख गन्तव्य मानिने खाडीमुलुक कतारले भने कोरोना भाइरस नियन्त्रणमा उल्लेख्य सफलता हासिल गरेको छ ।

पछिल्ला दिन कतारमा कोरोना संक्रमित र मृत्युदर घटदै गइरहेको छ । शुक्रबार यहाँ २ सय ३ जना संक्रमित मात्र फेला परेका थिए। अझ् बिहीबार र शुक्रबार मृत्युदर शुन्यमा झरेको छ भने ३ सय ३१ जनाले कोरोनालाई जितेका छन्।

कतारमा हालसम्म २ लाख १६ हजार ८ सय ८५ जनामा संक्रमण पुष्टि भएको छ । तीमध्ये २ लाख १२ हजार ३ सय ७९ जना संक्रमणमुक्त भइसकेका छन् । कतारमा सक्रिय संक्रमितको संख्या ३ हजार ९ सय ५४ छ भने हालसम्म ५ सय ५२ जनाले मात्र ज्यान गुमाएका छन्।

कतारले कोरोना महामारी नियन्त्रणमा पाएको सफलतालाई उसले लागू गरेको खोप अभियान र स्वास्थ्य मापदण्डलाई मान्न सकिन्छ। कतारको स्वास्थ्य प्रणाली निकै वैज्ञानिक छ । संक्रमण नियन्त्रणमा आउन थालेपछि कतारले कोभिड–१९ महामारीसँग जोडिएका स्वास्थ्य मापदण्ड तथा प्रतिबन्धलाई केही खुकुलो बनाउने भएको छ ।

कतारको मन्त्रिपरिषद बैठकले कोभिडको कारणले यसअघि लगाइएका प्रतिबन्धलाई केही खुकुलो बनाउने निर्णयको अनुमोदन गरेको हाे। प्रतिबन्धलाई २८ मे शुक्रबारदेखि खुकुलो बनाइने बताइएको छ।

सेवा सुविधामा सहजता ल्याउने उद्देश्यका साथ मन्त्रिपरिषद्ले पूर्णरुपमा कोभिडविरुद्ध खोप लगाएका व्यक्तिका लागि प्रतिबन्ध खुकुलो बनाउँदै लगेको हो।

कार्यालय

२८ मे शुक्रबारदेखि सार्वजनिक र निजी कम्पनीका ५० प्रतिशत कर्मचारीले कार्यालयमा गइ काम गर्न पाउने छन् भने बाँकी कर्मचारीले आफू रहेकै स्थानबाट काम गर्नु पर्नेछ।

कुनै कार्यालयको बैठक बस्नुपर्ने भएमा पूर्णरुपमा खोप लगाएका १५ जना कर्मचारी भौतिक रुपमा उपस्थित भइ बैठक बस्न सक्ने छन्। तर, त्यसभन्दा धेरै व्यक्ति उपस्थित हुनुपर्ने भएमा अनलाइनबाट बैठक बस्नुपर्ने प्रावधान राखिएको छ।

त्यस्तै, मानिसहरू आफ्नो परिवारसँग वा एक्लै गाडीबाट बाहिर निस्किदा बाहेक अन्य अवस्थामा माक्स अनिवार्य गरिएको छ। प्रत्येक मानिसको लागि घर बाहिर निस्किदा कोभिड–१९ कन्ट्याक्ट ट्रेसिङ एप ’एहत्राज’ अनिवार्य गरिएको छ।

प्रार्थना स्थल

दैनिक प्रार्थनाको साथै शुक्रबार गरिने ’जुमा’ को लागि मस्जिदमा जान पाइने छ। १२ वर्षभन्दा कम उमेरका बच्चालाई भने सो अनुमति हुने छैन।

सामूहिक जमघट

पूर्णरूपमा कोभिडविरुद्ध खोप लिएका पाँच व्यक्तिले इन्डोर जमघट गर्न पाउने छन्। १० व्यक्तिसम्मलाई आउटडोर भेटघाटका लागि अनुमति दिइएको छ।

खोप नलगाएका व्यक्तिको लागि इन्डोरमा हुने सामूहिक भेटघाट प्रतिबन्ध लगाइएको छ। तर, आउटडोरमा भेला हुन आवश्यक भएमा पाँच जनासम्म जम्मा हुन पाउने छन्। एकै घरमा बस्ने एउटै परिवारका सदस्यको हकमा भने त्यसरी जमघटमा प्रतिबन्ध गरिएको छैन।
विवाहको सन्दर्भमा भने इन्डोर तथा आउटडोर दुवै किसिमको जमघटमा प्रतिबन्ध लगाइएको छ।

एकै परिवारका पाँच जना व्यक्ति सँंगै पार्कमा जान, त्यहाँको बेन्च प्रयोग गर्न, त्यहाँ साइक्लिङ गर्न तथा हिँड्डुल गर्न पाउने छन्।

प्राइभेट बिच (समुन्द्र तट) आम सर्वसाधारणको लागि ३० प्रतिशत क्षमतामा सञ्चालन गर्न पाइने छ।

सवारी साधन

मेट्रो सेवा तथा सार्वजनिक सवारी सेवा साताभरि ३० प्रतिशत क्षमताका दरले सञ्चालन गर्न पाइने छ। तर, यात्रीले ट्रेन वा बसभित्र केही खान वा पिउन पाउने छैनन्। स्टेशनमा रहेका ‘जोन’ भने बन्द रहने छन्।

बस तथा भ्यानमा सम्पूर्ण सिट क्षमताको आधा संख्यामा यात्री सवार गर्न पाउने छन्। सानो सवारी साधन भएमा र एउटै परिवारको व्यक्ति नभएको खण्डमा चार जनाभन्दा बढी व्यक्ति उक्त सवारी साधनमा यात्रा गर्न पाउने छैनन्।

ड्राइभिङ स्कुल, थिएटर, जीम, सैलुन, मसाज सेन्टर तथा स्नान गृह

सम्पूर्ण कर्मचारीले पूर्णरुपमा खोप लगाएको खण्डमा ड्राइभिङ स्कुल ३० प्रतिशत क्षमताको हिसाबले सञ्चालन हुनेगरि खोल्न पाइने छ।

त्यसैगरी थिएटर, जिम, ब्युटिपार्लर, शैलुन, मसाज सेन्टर र स्नान गृहले ३० प्रतिशत क्षमताका हिसावले आफ्नो सेवा प्रवाह गर्न पाउने छन्। सेवा प्रवाह गर्दा त्यहाँका कर्मचारी तथा त्यहाँ आउने सेवाग्राहीले कोभिड–१९ विरुद्धको खोप लिएको हुनु पर्नेछ।

१२ वर्ष मुनिका बालबालिका सिनेमा हलमा प्रवेश गर्न पाउने छैनन्।

शैक्षिक संस्था, खेलकुद, तालिम केन्द्र तथा अन्य

निजी शैक्षिक संस्था, तालिम केन्द्र तथा नर्सरीले ३० प्रतिशत क्षमताका हिसावले आफ्ना काम पुनः सुचारु गर्न सक्ने छन्। त्यसरी सञ्चालन गर्दा सम्पूर्ण सेवाग्राहीले खोपको पूर्ण मात्रा लिएको हुनु पर्नेछ।

सार्वजनिक म्युजियम र पुस्तकालय पनि ३० प्रतिशत क्षमतामै पुनः सञ्चालन हुन सक्नेछन्।

विशेषः आवश्यकीय व्यक्तिलाई प्रदान गरिने शैक्षिक सेसनमध्ये प्रत्येक सेसनमा पाँचभन्दा बढी व्यक्ति नहुने गरी सञ्चालन गर्न पाइने छ। तर, त्यहाँ उपस्थित व्यक्तिहरू पूर्णरुपमा खोप प्राप्त भएको हुनु पर्नेछ।

त्यसैगरी, स्वास्थ्य मन्त्रालयबाट स्विकृत प्राप्त स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुदको लागि गरिने पूर्वाभ्यास÷ तालिम दिने व्यवसायिक खेलकुद तालिम केन्द्र पुनः सञ्चालित हुने छन्। त्यसरी प्रदान गरिने तालिममा बन्द क्षेत्र भएमा पाँच जना र खुल्ला क्षेत्र भएमा दशभन्दा बढी तालिमकर्ता/ खेलाडी उपस्थित हुन पाइने छैन। दर्शकको हकमा प्रशिक्षण÷ तालिम सत्रका खेल हेर्नको लागि उपस्थित हुन पाइने छैन।

स्वास्थ्य मन्त्रालयको स्विकृतमा मात्र स्थानीय तथा अन्तर्राष्ट्रिय खेलकुदको आयोजना गर्न पाइने छ। त्यसरी खेलकुद आयोजना हुने क्षेत्रमा कूल सिट क्षमताको ३० प्रतिशत दर्शक मात्र प्रत्यक्ष उपस्थित हुन सक्नेछन्। यद्यपि, दर्शकले पूर्णरुपमा कोभिडविरुद्धको खोप लिएको हुनु पर्नेछ।

मनोरञ्जन

मनोरञ्जन पार्क तथा मनोरञ्जन केन्द्र खुल्ला क्षेत्रमा ३० प्रतिशत क्षमताको हिसाबले तथा इन्डोर क्षेत्रमा २० प्रतिशत क्षमताका हिसावले सञ्चालन हुन सक्ने छन्। त्यसरी सञ्चालन हुँदा सम्पूर्ण कर्मचारीले पूर्णरुपमा खोपको मात्रा लिएको हुनु पर्नेछ। स्वीमिङ पुल र वाटर पार्कको सन्दर्भमा पनि सोही मापदण्ड लागू हुनेछ।

स्वास्थ्य तथा सरसफाइ सम्बन्धी

निजी रुपमा सञ्चालित स्वास्थ्य प्रदायक सेवा ८० प्रतिशत क्षमताको दरले सञ्चालन हुन पाउने छन्।

सरसफाइ तथा हस्पिटालिटी कम्पनीले आफ्ना कर्मचारीले पूर्णरुपमा खोप लिएको खण्डमा सेवा सुचारु गर्न सक्ने छन्।

सभा–सम्मेलन तथा प्रदर्शनी

आउँदो साताको लागि तय गरिएका सम्पूर्ण सभा–सम्मेलन, प्रदर्शनी तथा इभेन्ट अर्को सूचना जारी नहुन्जेलसम्मको लागि स्थगित गरिएको छ।

मल तथा बजार

१२ वर्षमुनिका बालबालिकाले प्रवेश नपाउने गरी ३० प्रतिशत क्षमताका हिसावले मल सञ्चालन गर्न सक्ने छन्। यद्यपि, मलभित्र रहेका भोजन गृह, प्रार्थना स्थल तथा चेन्जिङ रुम भने बन्द रहने छन्। रेस्टुरेन्टले ’टेक आउट’ र ’डेलिभरी’ सेवा दिन पाउने छन्।

प्रसिद्ध सुक (बजार) ३० प्रतिशत क्षमताको हिसाबले चल्नेगरि तथा बालबच्चाले प्रवेश नपाउने गरि साताभरि संचालन हुन पाउने छन्।

त्यस्तै, १२ वर्षमुनिका बालबच्चालाई प्रतिबन्ध गर्दै होलसेल बजार पनि ३० प्रतिशत क्षमतामै सञ्चालन हुन पाउने छन्।

रेष्टुरेन्ट तथा क्याफे

सबै स्टाफ पूर्णरूपमा कोभिड–१९ विरुद्धको खोप प्राप्त भएमा र कतारको ’क्लिन सर्टिफिकेट’ प्राप्त गरेका रेष्टुरेन्ट तथा क्याफेले आफ्नो कूल क्षमताको ३० प्रतिशत क्षमतामा मात्रै ‘डाईन– ईन’ तथा ‘आउटडोर’ सेवा दिन सक्ने छन्।

डुङ्गा तथा याच

डुङ्गा भाडामा लिइ चलाउन प्रतिबन्ध गरिएको छ। त्यसैगरी याच (साना जहाज) पनि चलाउन पाइने छैन।

एउटै घरका सदस्यहरु भएको तथा डुङ्गा वा याचका श्रमिकले कोभिडविरुद्धको खोपको दुबै मात्रा लगाइसकेको खण्डमा भने सयर गर्न पाइने छ।

डुङ्गा तथा याचका मालिकले त्यसरी सञ्चालन गर्दा पहिले प्रयोग भइसकेको खण्डमा ती डुङ्गा तथा याच सञ्चालन गर्न पाउने छैनन्। केवल उनको एउटै घरमा बस्ने परिवारका सदस्य भएमा तथा एउटा परिवारभन्दा बढी परिवारका सदस्य भएमा अधिकतम दश जनासम्मका लागि बोर्डमा अनुमति मिल्ने छ। त्यसरी अनुमति प्राप्त दश जनाको समूहमा कम्तीमा आठ जनाले कोभिडविरुद्धको खोप लिइसकेको हुनु पर्नेछ।