इराकमा सयौँ नेपाली अलपत्र, गम्भिर बिरामीको बिजोग

इराकमा सयौँ नेपाली अलपत्र, गम्भिर बिरामीको बिजोग

काठमाडौं। इराकमा सयौँ नेपाली अलपत्र परेका छन्। अन्तर्राष्ट्रिय उडान नहुँदा रोजगारीको लागि त्यहाँ पुगेका नेपाली अलपत्र परेका हुन्।

नेपाल सरकारले अन्तर्राष्ट्रिय उडान रोकेको साढे दुई महिना बितिसकेको छ। लामो समय उडान सूचारु नहुँदा त्यसको उच्च मार इराकका रहेका नेपालीले भोग्नु परेको हो।

इराकमा करार अवधि पूरा गरेका, भिसाको म्याद सकिएका, रोजगारी गुमाएका, नेपालमा विवाहको मिति तय गरेका, नेपालमा आफन्त गुमाएकाको स्वदेश फर्किनुपर्ने बाध्यता छ।

‘मेरो नेपालमा बैशाखको अन्त्यतिर विवाह गर्ने कुरा थियो। त्यसको सबै तयारी भइसकेको थियो,’ कुर्दिस्तानमा अड्किएका एक युवाले प्रवास खबरसँग भने, ‘टिकट पनि पहिले नै लिइसकेको थिए। तर, एक्कासी उडान बन्द भयो।’

भिसाको म्याद सकिएका नेपालीको पनि समस्या उस्तै छ। रोजगारी गुमाएका नेपालीको अवस्था दिन प्रतिदिन कष्टकर बन्दै गएको छ। आम्दानीविहिन भएपछि खान/बस्न समेत समस्या हुन थालेको छ।

‘उडान बन्दको उच्चमारमा हामी परेका छौं,’ इराकको कुर्दिस्तानमा रहेका नेपाली समाजका अगुवा बिनोद श्रेष्ठले प्रवास खबरसँग भने, ‘घर फर्किन सबै चाँजोपाँजो मिलाएर बसेका सयौँ नेपाली उडान नभएपछि समस्यामा छन्। समस्या बढ्दो छ।’

उनले नियमित उडान तत्काल सूचारु नभए समस्या थप बल्झिने बताए।

युद्धग्रस्त इराकमा रोजगारीको लागि जान नेपाल सरकारले अनुमति दिएको छैन। तर, आकर्षक तलबका कारण बेरोजगार नेपालीको गन्तब्य इराक बनेको छ। इराक तथा कुर्दिस्तानका विभिन्न सहरमा हजारौँ नेपाली रोजगारीका लागि पुगेका छन्। उनीहरु अवैध बाटो तथा सेटिङमार्फत त्यहाँ पुगेका हुन्। इराकमा कति नेपाली छन् भन्ने तथ्याङ्क सरकारसँग छैन।

इराकमा नेपाली दूतावास छैन। जसले गर्दा यहाँ समस्यामा परेका नेपालीले गुनासो सुनाउन पाउँदैनन्। इराकको सबै काम कुवेतमा रहेको नेपाली दूतावासले हेर्दै आइरहेको छ।

इराक र नेपालबीच सिधा हवाई उडान पनि छैन। तर, नेपालीहरू दुबई तथा दोहालाई ट्रान्जिट बनाएर नेपाल आउने गर्थे। पछिल्लो समय सरकारले दोहाका लागि हप्तामा दुई उडानलाई स्वीकृती प्रदान गरेको छ। अहिलेको अवस्थामा इराकका नेपालीले दोहा ट्रान्जिट बनाएर आउनु भनेको ‘फलामको चिउरा चपाए जस्तै’ हो। किनभने इराकबाट दोहाका लागि कतार एयरलाइन्सले मात्र उडान भरिरहेको छ।

‘२२ सय अमेरिकी डरलभन्दा बढी भाडा तोकिएको छ। यो यहाँ रहेका नेपालीको सामथ्र्यभन्दा बाहिरको कुरा हो,’ श्रेष्ठ भन्छन्, ‘त्यसै त कम आयश्रोतमा रोजगारी गर्ने नेपाली, अझ रोजगारी गुमाएर फर्किनु पर्ने अवस्थामा, यो असम्भव छ।’

केही नेपाली मंहगो मूल्य भएपनि टिकट काट्न तयार छन् तर,सिट उपलब्ध छैन। श्रेष्ठले भने, ‘कतार एयरलाइन्समा दोहाकै नेपालीले सिट नपाएको गुनासो छ। यहाँका नेपालीले झन् पाउने कुरै भएन।’

बिरामीको अवस्था हरिबिजोग

उडान बन्द भएका कारण सबैभन्दा ठूलो मार इराकमा यतिबेला बिरामी नेपालीलाई परेको छ। इराकका विभिन्न सहरमा नेपाली बिरामीको अवस्था दयनीय बन्दै गएको छ। जसको पछिल्लो उदाहरण हो, पाँचथरकी इन्दिरा योञ्जन।

सामाजिक अगुवा श्रेष्ठका अनुसार इन्दिराका दुवै मृगौला ‘फेल’ भइसकेका छन्। भर्खर ३३ वर्ष पुगेकी उनी स्वदेश फर्किन छट्पटाइरहेकी छिन्।

उनलाई डाक्टरले नेपाल लैजान सुझाव दिएका छन्। ‘उहाँ त उदाहरण मात्र हो। अरु पनि धेरै किसिमका बिरामी हुनुहुन्छ, जो नेपाल गएर उपचार गराउने योजनामा हुनुहन्थ्यो,’श्रेष्ठले भने। गम्भीर अवस्थामा रहेका बिरामीलाई तुरुन्तै फर्काउनुको विकल्प नभएको उनकोे भनाइ छ।

यो पनि पढ्नुहोस्

इराकमा ५ नेपालीको शव अलपत्र

इराकबाट आफ्नै पैसामा लाश बनेर बाकसमा फर्किदैछिन् चिनीमाया



No ads found for this position