इराकबाट आफ्नै पैसामा लाश बनेर बाकसमा फर्किदैछिन् चिनीमाया

इराकबाट आफ्नै पैसामा लाश बनेर बाकसमा फर्किदैछिन् चिनीमाया

काठमाडौं। के तपाईले सुन्नुभएको छ– विदेशमा रोजगारीका क्रममा मृत्युवरण गरेका कुनै देशका नागरिक आफ्नै पैसामा लाश बनेर बाकसमा फर्किएको घटना?

सम्भवत यस्तो घटनाको भागीदार नेपाली श्रमिकले मात्र बन्नुपर्ने हुन्छ। हालै यस्तो एउटा घटना इराकमा नेपाली चेलीको हकमा भएको छ।

अवैध रुपमा इराक गएको भन्दै ती चेलीको शव ल्याउन नेपाल सरकार पन्छिएपछि जीवित रहँदा उनी आफैले कमाएको पैसा आफ्नै लाश बोक्न काम लागेको छ।

सिन्धुपाल्चोक सिम्पलकाभ्रे–९ मानेडाँडाकी ४४ वर्षीया चिनीमाया तामाङको निधन १७ मेमा भएको थियो। तर, उनको शव नेपाल ल्याउने सन्दर्भमा राज्यको जिम्मेवार निकाय मौन बसेपछि यस्तो अवस्था आएको हो।

चिनीमाया विगत सात वर्षदेखि इराकको कुर्दिस्तानमा काम गर्दै आइरहेकी थिइन। सरकारले अवैध देश गएको बहाना बनाउँदै उनको शब नेपाल फर्काउन तत्परता देखाएको थिएन। कुवेतस्थित नेपाली दूतावासले औपचारिकता पूरा गर्न एउटा ‘एनओसी लेटर’ दिने बाहेक अन्य कुनै काम गरेन।

इराकमा नेपाली दूतावास नहुँदा कुवेतले नै इराक मामिला हेर्दै आइरहेको छ।

चिनीमायाको शब दोहा हुँदै कतार एयरलाइन्सको उडानमार्फत सोमबार राती नेपाल पठाउन लागिएको छ।

उडान रोकिदा मातृभूमि टेक्न पाइनन्

चिनीमायाको निधन सुलेमानीस्थित तवाली अस्पतालमा भएको थियो। उनले केही समय अगाडी मात्र कोरोना संक्रमणलाई जितेकी थिइन।

पछि स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको थियो। उपचारको क्रममा उनको मुटुको भल्व बन्द भएको, किड्नीमा स्टोन देखिएको, फोक्सोमा पानी जमेको रिपोर्ट आएको थियो।

डाक्टरले उनलाई नेपाल लैजान सुझाव दिएका थिए। तर, अन्तर्राष्ट्रिय उडान बन्द भएका कारण समयमै नेपाल फर्काउन नसकेपछि सोही अस्पतालमा उनको शल्यक्रिया गरिएको थियो। शल्यक्रिया पछि खुट्टा सुन्निने र अन्य शारीरिक समस्या देखिन थाल्यो।

कुर्दिस्तानमा सक्रिय सामाजिक अभियन्ता बिनोद श्रेष्ठका अनुसार उनी अन्तिम अवस्थामा नेपाल फर्किन चाहन्थिन्। तर, उडान बन्द हुँदा उनले मातृभूमि टेक्न पाइनन्।

श्रेष्ठले आज राती कुर्दिस्तानमा रहेका नेपालीलाई विमानस्थलमा उपस्थित हुन आग्रह गरेका छन्।

‘मर्नुअघि उहाँको ब्यागमा ९ सय डलर रहेछ। अर्को बहिनीलाई २५ सय डलर सापटी दिनुभएको रहेछ। बहिनीले शब पठाउन त्यो पैसा फिर्ता दिँदै हुनुहुन्छ,’ श्रेष्ठले प्रवास खबरसँग भने, ‘मर्ने दिदीले बिरामी भएपछि कद्मकदाचित मरेभने मेरै पैसाले शव नेपाल पठाइदिनु भन्नु भएको रहेछ। त्यसैले हामीले कोहीसँग आर्थिक सहयोग मागेनौ।’