गर्वान्वित पिता ! जो छोरी अन्तरिक्ष पुगेको हेर्न चाहन्छन्

गर्वान्वित पिता ! जो छोरी अन्तरिक्ष पुगेको हेर्न चाहन्छन्

करिब दुई दशकअघि तनहुँबाट नेदरल्याण्ड पुगेका हेमकुमार श्रेष्ठले आफ्नो कान्छी छोरी सरु श्रेष्ठको सफलतामा ७ जुनमा फेसबुकमा एउटा पोस्ट सार्वजनिक गरे, ‘देल्फ्त प्राविधिक विश्वविधालयको एरोस्पेस इन्जिनियरिङ विभागको विधार्थी युनियनको चुनाव जितेकोमा छोरी तिमीलाई असीम बधाई छ।’

उनले सोही पोस्टमा अघिल्लो कार्यकालका लागि छोरीलाई अग्रीम शुभकामना दिन बिर्सिएनन्।

उनको खुसी यही रोकिएन। भोलिपल्ट ८ जुनमा आफ्नो पोस्टमा छोरीलाई अर्को बधाई दिँदै लेखे, ‘क्या बात! जीवनमा कहिल्यै दोस्रो नभएकी। गज्जब, फेरि अर्को सुखद समाचार। ठूलो शुभकामना।’

उनको दोस्रो पोस्ट त्यतिबेला सार्वजनिक भएको थियो, जब अन्तरिक्षमा यान तथा सेटलाइट पठाउने टोलीमा उनै कान्छी छोरीको नाम सार्वजनिक भयो।

वास्तवमा दोस्रो पोस्ट श्रेष्ठ परिवारका लागि मात्र होइन, सम्पूर्ण नेपालीका लागि गौरव गर्ने विषय थियो। किनभने अन्तरिक्षमा सेटलाइट पठाउने टिममा कुनै नेपाली चेली समावेश भएको यो पहिलो घटना हो।

छोरा–छोरीको सफलतामा परिवारका सदस्य खुसी हुनु समान्य कुरा हो। तर, हेमकुमारका लागि कान्छी छोरीको सफलता सामान्य होइन। यसको विशेष महत्व छ।

कुनैबेला हेमकुमार आफै एरोनोटिक इन्जिनियर बन्न चाहन्थे। तनहुँको भिमाद नगरपालिकास्थित डुम्रेबेसीबाट उच्च शिक्षा हासिल गर्न पोखरा सरेपनि पारिवारिक तथा विभिन्न कारण उनी आफ्नो गन्तब्य भेटाउन सफल भएनन्।

आफ्नो थाती रहेको त्यो इच्छा तथा आंकाक्षा आफ्नो छोरा–छोरीबाट पुरा गर्न उनी सन् २००२ मा नेदरल्याण्ड हानिएका थिए। नेदरल्याण्ड प्राविधिक शिक्षाका लागि विश्वकै उत्कृष्ट देशमा पर्छ। नेदरल्याण्डमा २० वर्ष बसोबास गर्ने क्रममा उनले धेरै दुःख गरे। पोखराको राम्रो स्कुलमा राखेर ४ छोरा–छोरी पढाए।

उनको दुई छोरा र दुई छोरीमध्ये तीन जना इन्जिनियर छन्। ठूलो छोरा राजनीतिकशास्त्रमा एमबीए गर्दैछन्। जेठी बुहारीलाई एमएससी डेटा साइन्टिस बनाएका छन् ।

कान्छी छोरी सरु स्कुल पढ्दादेखि अहिलेसम्म दोस्रो भएकी छैनन्। उनले पोखराको स्टेप बाई स्टेप बोर्डिङ स्कुलबाट २०६९ सालमा १० कक्षा उत्तीर्ण गर्दा कास्कीकै ‘महिला टपर’ विधार्थी बनेकी थिइन। नोवेल एकेडेमी पोखराबाट ‘ए’ लेभलको कोर्ष पूरा गरेपछि सन् २०१४ मा उनी नेदरल्याण्ड लागेकी हुन्।

उनलाई सानैदेखि ठूलो मान्छे बन्नुपर्छ भन्ने मनमा त थियो। तर, कसरी बन्ने थाहा थिएन। ‘ए’ लेभल पढ्दै गर्दा भने बुवा हेमकुमारले हौसाए, एरोस्पेस इन्जिनियर बन्नुपर्छ भनेर। त्यसैले उनले ‘ए’ लेभल कोर्ष गर्दा हिसाब र फिजिक्समा बढी जोड दिइन।

‘नाम कमाउने काम गर्नुपर्छ भन्ने त थियो। तर, कसरी गर्ने थाहा थिएन। बुवा–आमाले नै एरोस्पेस इन्जिनियरिङ गर्नुपर्छ भनेर हौसाउनु भएको हो,’ अन्तरिक्ष सेटलाइट पठाउने टिममा आफ्नो नाम चुनिएपछि प्रवास खबरसँग सरुले भनिन्, ‘धेरै गाह्रो कोर्ष रहेछ। तर, बुवाले एकदमै हौसला दिनुभयो।’

२३ वर्षको उमेरमा चर्चा कमाइसकेकी सरु नेपाल र नेदरल्याण्डको पढाईमा धेरै अन्तर भएको सुनाउँछिन्। ‘ब्याचलर गर्दा मेरो बास नै लाइब्रेरीमा हुन्थ्यो। अहिले मास्टर्सको अन्तिम वर्षमा हुँदा पनि लाइब्रेरीमै प्रायः दिन बित्छ।’

एरोस्पेस विषय पढ्न थालेपछि अन्तरिक्षको यात्रामा निस्किने चाहना बढेको उनको भनाइ छ। ‘अन्तरिक्ष सेटलाइट पठाउने टिमका लागि अन्तर्वार्ता भएको थियो। म लक्की रहेछु। मेरो नाम सार्वजनिक भयो,’ उनले भनिन्, ‘अब मेरो सपना अन्तरिक्ष जाने पहिलो नेपाली नागरिक बन्ने हो।’

सरु अध्ययनरत विश्वविधालय एरोस्पेस इन्जिनियरिङमा विश्वको उत्कृष्ट पाँच कलेजभित्र पर्छ। यही विश्वविधालयमा अन्तरिक्षमा कैयौं पटक सफल यात्रा गरिसकेका आन्द्रे क्याउपर्सले अध्ययन गरेका थिए।

सरु एयरक्राफ्ट डिजाइनमा पनि उत्कृष्ट मानिन्छिन्। उनले गत वर्ष ‘हाई क्यापासिटी सटरेञ्ज ट्रान्सपोर्ट एयरक्राफ्ट’ डिजाइनमा सर्वोत्कृष्ट उपाधि जितेकी थिइन। आफू पढ्ने विश्वविधालयको टिममा बसेर डिजाइन गरिएको यो एयरक्राफ्ट छिट्टै विश्व बजारमा सार्वजनिक हुँदैछ। उनी रकेट डिजाइनिङमा पनि पोख्त मानिन्छिन्।

छोरा–छोरीको बढ्दो पाइलाका कारण हेमकुमार यतिबेला औधी खुसी छन्। तर, जिम्मेवारी पनि बढेको छ। छोरा–छोरीको भविस्य अन्त्यै नमोडियोस् भनेर उनी विगत दुई वर्षदेखि सबै काम छोडेर अविभावकत्व ग्रहण गरिरहेका छन्।

‘उनीहरूको पढाई नै गाह्रो छ। कतै नडुली आफ्नो लक्ष्यमा लागेका छन्। त्यसैले उनीहरूको रेखदेखका लागि दुई वर्षदेखि काम छोडेर बसेको छु,’ छोरीको सफलताले गर्वान्वित बनेका ५२ वर्षीय पिताले भने।

उनी विदेशमा रहेका आफू जस्ता अन्य अविभावकलाई पनि एउटा सुझाव दिन चाहन्छन्। उनको भनाइ छ–‘परिवारका लागि सबैभन्दा ठूलो पूँजी नै छोरा–छोरीको शिक्षा हो। त्यसैले बढी काम गर्नेभन्दा पनि त्यसबाट केही समय बचत गरेर आफ्नो छोरा–छोरीको शिक्षादिक्षामा पनि ध्यान दिनुहोस्।’

छोराछोरीको शिक्षाप्रति उनको सम्पर्ण देखेर हाल नेदरल्याण्डमा बसोबास गर्ने केही अविभावकले पनि घर–परिवारलाई समय खर्चिन थालेका छन्। यसले सकारात्मक माहौल बन्दै गएको छ।

‘पैसा जति कमाए पनि छोराछोरीको शिक्षा राम्रो छैन भने अहिलेको युगमा त्यो के काम लाग्यो र ?’ उनको प्रश्न अहिलेका आधुनिक भनाउँदा अविभावकसँग छ।