वैदेशिक रोजगार विभागकाे चेतावनी : अभिमुखिकरण तालिम नलिए श्रम कक्षबाटै फर्काइन्छ

वैदेशिक रोजगार विभागकाे चेतावनी : अभिमुखिकरण तालिम नलिए श्रम कक्षबाटै फर्काइन्छ

काठमाडौं । वैदेशिक रोजगार ऐन २०६४ मा वैदेशिक रोजगारीमा जानुपूर्व अनिवार्य रुपमा अभिमुखिकरण तालिम लिनुपर्ने व्यवस्था छ । तर, पछिल्लो समय तालिम नलिइ प्रमाणपत्र लिने/दिने गरेको पाइएकाे छ । यसरी तालिम नलिएकाे पाइएमा अबदेखि  श्रम कक्षबाटै फर्काइने वैदेशिक रोजगार विभागले  चेतावनी दिएकाे छ।

पछिल्लो समय बायोमेट्रिक हाजिरी विवरण र रोजगारीमा जाने व्यक्तिको उपस्थितिमा लिइएको हाजिरी विवरण नमिलेको  विभागले जनाएकाे छ । अभिमुखिकरण तालिम दिने संस्थाले तोकिएको समयमा सम्बन्धित व्यक्तिको बायोमेटिक हाजिरी गराई वैदेशिक रोजगार विभाग पठाउनुपर्ने प्रावधान रहेको छ । तर, पछिल्लो समय भने अर्कै व्यक्तिको बायोमेट्रिक हाजिरी विवरण रेकर्ड गराई तालिम गराएको, तोकिएको समयमै तालिम नलिएको लगायतका समस्या देखिन थालेको विभागले जनाएको छ ।

वैदेशिक रोजगारमा जाने व्यक्तिले अभिमुखिकरण तालिम नलिई प्रमाणपत्र मात्रै लिएको भेटिएमा अन्तराष्ट्रिय विमानस्थलको श्रम कक्षबाटै फर्काइने  विभागले सूचना जारी गर्दै चेतावनी दिएको हाे।कामदारले तालिम नलिएको वा बायोमेट्रिक नमिलेको खण्डमा इन्स्योरेन्स तथा कल्याणकारी कोषबाट प्राप्त सुविधाबाट बञ्चित हुन सक्ने विभागले जनाएकाे छ । त्यस्तै गन्तव्य मुलुकमा वैदेशिक रोजगार सम्बन्धि सूचना तथा आवश्यक कानूनबारे जानकारीलगायत विषयबाट बञ्चित हुन सक्छन् । यसका साथैै विदेशबाट पून : श्रम स्वीकृति प्राप्त गर्नमा समेत कठिनाई हुने सूचनामा उल्लेख छ ।

अभिमुखिकरण तालिम किन अनिवार्य ?

अभिमुखिकरण तालिममा गन्तव्य मुलुकको भौगोलिक अवस्था, हावापानी, कानून, श्रम, अध्यागमन तथा ट्राफिक नियमबारे जानकारी प्रदान गरिन्छ । यसका साथै वैदेशिक रोजगार सम्बन्धि कानून तथा जानकारी, सुरक्षित रोजगारी एवम हक अधिकारको विषयमा पनि जानकारी दिने हुँदा वैदेशिक रोजगारीमा जाने कामदारका लागि अभिमुखिकरण तालिम आवश्यकछ ।



No ads found for this position