दक्षिण कोरियाको ‘हाइरिक्स’ सूचीमै नेपाल, उड्ने दिन कुरेर बसेका युवा निराश

दक्षिण कोरियाको ‘हाइरिक्स’ सूचीमै नेपाल, उड्ने दिन कुरेर बसेका युवा निराश फाइल तस्वीर : इपिएसको सम्पूर्ण प्रक्रिया पूरा गरेर पनि दक्षिण कोरिया जान नपाएका युवाले काठमाडौंको माइतीघर मण्डलामा गरेको प्रदर्शन

काठमाडौं । दैनिक सयौं युवाहरुको भिड लाग्ने काठमाडौंस्थित  इपिएस कोरिया शाखा आजभोली भने सुनसान छ । कोभिड–१९ का कारण कोरियाको रोजगारी प्रभावित भएसँगै सेवाग्राही नभएपछि योे कार्यालयमा सुनसान छाएको हो ।

इपिएस शाखा सुनसान भएपनि कोरिया जाने सपना बोकेका नेपाली युवाको मन भने शान्त अवस्थामा छैन्। २०१९ मा भाषासँगै सीप परिक्षण पनि उत्तिर्ण गरि बसेका मदन खनाल कोरिया रोजगारी छिट्टै खुल्ने आशामा छन् । अर्घाखाँचीका मदन स्नातकसम्मको अध्ययनलाई बिट मार्दै कोरिया जाने तयारीमा थिए । तर,लामो समयसम्म पनि कोरियाले नेपाली श्रमिकलाई लैजाने छाँटकाट नदेखाउँदा उनी निराश बनेका छन् । देशमा रोजगारीको अवसर नभेटेपछि कोरिया जान लागिपरेका उनी अहिले गुजारा चलाउन गाउँमै सानो होटल चलाएर बसेका छन् । आम्दानीको हिसावले उपयुक्त नभएपनि होटलबाट उनको गुजारा भने चलेको छ।

अर्घाखाँचीका मोहन अधिकारीले पनि सन् २०१९ मै इपिएसको प्रक्रिया पूरा गरेका थिए। सबै प्रक्रिय पूरा गरेपनि उनले कोरिया जान भने पाएनन् । इपिएस शाखाले फ्रेब्रुअरीमा ट्रायलका लागि कामदार पठाउने भन्ने सूचना केहि महिनाअघि उनले पाएका थिए । तर, मार्च लागिसक्दा पनि कोरिया रोजगारी सूचारु भएको छैन । कोरिया रोजगारी खुल्ने छाँटकाँट नदेखिएपछि उनले अहिले जागिर गर्न थालेका छन् । उनी निराश हुँदै भन्छन्, ‘भोकै बस्ने कुरा भएन विकल्प त खोज्नै पर्यो नि ।’ अब कोरिया जान पाइन्छ कि पाइन्न भन्ने उनी अन्यौलमा छन् ।

कोरिया जाने मोहमा अर्घाखाँची ढाकावाङका विशाल खनालले २०१८ र ०१९ मा दुइ पटक भाषा परीक्षा पास गरे । एग्रिकल्चर र म्यानुफ्याक्चर दुवैमा नाम निकालेका उनले छिट्टै कोरिया रोजगारी खुलेर जान्न पाइयोस् भन्ने कामना गरेर बसेका छन् । कोरियाको सपना देखेका उनले अरु कुनै विकल्प खोजेका छैनन्।

माथि प्रस्तुत गरिएका मदन, मोहन र विशाल प्रतिनिधि पात्र मात्रै हुन् । अहिले रोजगारीको लागि दक्षिण कोरिया जान हजारौँ नेपाली उड्ने दिन कुरेर बसिरहेका छन्। कोरियन भाषा परीक्षा पास गरी छनोटमा परिसकेका हजारौँ युवा कोरिया जान पाएका छैनन्। उनीहरु कोरिया रोजगारी खुल्ने आशामा बसेका छन्।

इपिएसले २०१९ मा लिएको परिक्षामा साढे ६ हजार परिक्षार्थी उत्तिर्ण भएका थिए । २०१७ र १८ मा पास भएका तर, छनौट नभएका केहि संख्या बाँकी नै थिए । जसमध्ये ४ हजार छनौंट भएर लेबर कन्ट्र्याक समेत आइसकेको छ । तर, विडम्बना, अझै पनि उनीहरुले कोरिया उडान भर्न सकेका छैनन् ।

यसअघि इपिएसमा छनोट भएका युवाहरु वार्षिक चार चरणमा रोजगारीको लागि दक्षिण कोरिया उड्ने गर्थे।

के भन्छ इपिएस नेपाल ?

कोरियाले कोभिड १९ को उच्च जोखिम रहेको मुलुकको रुपमा नेपाललाई राखेको छ । त्यसैले तत्काल कामदार जान पाउने सम्भावना न्यून रहेको इपिएस कोरिया शाखाका निर्देशक इन्द्र गौतम बताउँछन् । उनका अनुसार कोरियाको रोग नियन्त्रण महाशाखाले नेपाललाई कोभिड–१९ संक्रमणको उच्च जोखिममा सूचिकृत गरेको छ ।

‘के कारणले हाइरिक्सको लिष्टमा राख्यो थाहा छैन । तर, कोरिया रोजगारी खुलाउन पहल भने निरन्तर गरिरहेका छौं,’ गौतमले प्रवास खवरसँग भने ।कोरियाको कानून मन्त्रालयबाट स्वीकृत भएपछि मात्रै कोरिया रोजगारी सूचारु हुने उनको भनाइ छ । ‘कोरिया कहिले जान पाइन्छ ?’ भन्ने प्रश्नको जवाफमा अहिले नै केही भन्न सकिने अवस्था नरहेको उनले बताए।

पेपरलेस परीक्षाको तयारी

२०२१ का लागि भाषा परीक्षा गराउने कोरिया पक्षको संकेत रहे पनि आधिकारिक जानकारी भने नभएको निर्देशक गौतमले जानकारी दिएका छन् । साथै आगामी परिक्षालाई पेपर लेस परीक्षा गराउने तयारी कोरियाको छ । परिक्षार्थीले ट्याबलेट मार्फत परिक्षा दिनुपर्नेछ । यसका लागि सफ्वेयर बन्दै गरेको उनले बताए ।

कोरिया रोजगारीको प्रक्रिया

भाषा परीक्षा पास भएका परिक्षार्थीलाई रोष्टरमा पठाउने गर्दछ । रोष्टरमा भएकामध्ये रोजगारदाताले छानेका कामदारले मात्रै लेबर कन्ट्र्याक प्राप्त गर्छन् । उक्त लेबर कन्ट्र्याक प्राप्त भएपछि एक हप्ताको अभिमुखिकरण तालिम गरेपछि कोरिया उडान हुने गर्दछ।

कोरियाले भाषा परीक्षामार्फत नेपाल सहित १६ राष्ट्रवाट वार्षिक हजारौं श्रमिक लैजाने गर्दछ । कोभिड–१९ का कारण १५ देशबाट कामदार आपूर्ति रोकेको कोरियाले कम्बोडियाबाट भने निरन्तर कामदार आपूर्ति गरिरहेको छ । कोरोनाको जोखिमलाई मध्यनजर गर्दै अन्य देशका नागरिकलाई भने प्रवेशमा रोक लगाएको छ ।