बेलायतको नयाँ निर्णयले हङकङमा रहेका नेपाली लाभान्वित

बेलायतको नयाँ निर्णयले हङकङमा रहेका नेपाली लाभान्वित

लण्डन । हङकङमा रहेका तर, बेलायती पासपोर्ट बोकेका बेलायती नागरिकलाई भिसा उपलब्ध गराउने बेलायती सरकारले घोषणा गरेको छ।

यो घोषणासँगै बेलायती उपनिवेशमा रहँदा बेलायती नागरिकको मान्यता पाएकाहरुले धमाधम आवेदन दिने क्रम शुरु भएको छ । यसमा हङकङमा रहेका नेपालीको संख्या ठुलो छ। त्यहाँ झण्डै ३० हजार नेपाली रहेको एनआरएनए हङकङले जनाएको छ ।

आइतबारदेखि बेलायती पासपोर्ट भएका ब्यक्ति र उनीहरुका आश्रित ब्यक्तिले भिसाका लागि अनलाइन आवेदन दिन सक्ने छन् । यस्ता नागरिकले पाँच बर्षपछि बेलायतको स्थायी नागरिताका पाउने बेलायत सरकारले जनाएको छ ।
यसबाट हङकङमा रहेका बेलायती पासपोर्टधारी नेपालीको ठुलो संख्या लाभान्वित हुनेछ।

चीन सरकारले हङकङमा राष्ट्रिय सुरक्षा कानून लागू गरेपछि असन्तुष्टी बढ्नुका साथै धेरैले हङकङ छाड्न चाहेका छन् । यही मेसोमा बेलायतले यस्तो अवसर ल्याएको हो।

बेलायतले सन् १९९७ मा चीनलाई हङकङ हस्तान्तरण गर्दा अरु ५० बर्ष हङकङको स्वायत्तता कायम राख्ने चीनले प्रतिबद्घता जनाएको थियो।

बेलायतका प्रधानमन्त्री बोरिस जोन्सनले हङकङमा सन् १९९७ अघि रहेका नागरिकप्रति बेलायतको विशेष जिम्मेवारी र दायित्व रहने बताउँदै आएका छन । उनले भनेका छन,‘बेलायत उनीहरुको स्वतन्त्रता र स्वायत्तताका पक्षमा बेलायत सदैव उभिइरहने छ ।’

बेलायतको पछिल्लो कदमप्रति चीनले आफ्नो असन्तुष्टि सार्वजनिक गर्दै बेलायतले हङकङका नागरिकलाई भिसा प्रदान गर्ने घोषणा गरेकोप्रति आपत्ति जनाएको छ । बेलायती नागरिक वर्गीकरणमा रहेर पासपोर्ट बाहक भएका हङकङका नागरिकलाई यसका आधारमा यात्रा अनुमति नदिने चीनले जनाएको छ । उसले भनेको छ,‘बेलायत अझै पनि औपनिवेशिक मानसिकताबाट ग्रस्त रहेको उसको पछिल्लो घोषणाले स्पष्ट गरेको छ ।’