सिराहको देहातमा देखेको सपना कुवेतको मरुभूमिले उडाउँदा
एजेण्टको भरपर्दा विदेशको जेलमा परेका युवाको उद्वार
काठमाडौं । खासमा त्यस्तो केही बितेको पनि थिएन । लक्का जवान अजय कुमार मण्डल आफ्नो गाउँले जीवनबाट दुख्खी नै हुनुपर्ने कुनै कारण पनि थिएन । सिराह,देनिपुरका अजयले गाउँमै काठको काम सिकेका थिए । अग्रजबाट सिकेको काठकलाको सीपले जसोजतो गुजारा चल्दै थियो । विवाह गर्ने उमेर हुँदै थियो । उनले देख्ने सपनाको क्षितिज पनि फराकिलो हुँदै थियो । आम नेपाली युवाले जे सपना देख्छन,अजयले देख्ने गरेको सपनाको रङ पनि उस्तै उस्तै थियो।
अलिकति पैसा कमाउने,नयाँ घर बनाउने,स्वदेशमै केही काम गर्न केही पैसो बटुलबाटुल पार्ने,विहे गर्ने,अनि सन्तानलाई टाईवाला स्कुलमा भर्ना गर्ने । ग्रामीण नेपाली युवाका सपना यस्तै यस्तै त हुन्।
देहात हो,देनिकपुर । गाउँका लक्का जवानहरु एकपछि अर्को गर्दै प्रवास पुग्दै थिए । अजयलाई पनि लाग्यो,‘गाउँकै कमाइले अब मेरो जीवनको सपना पुरा हुदैन।’
गाउँको तस्वीर अहिले कस्तो छ ? जहाँ हुनसक्छ राज्यको कुनै संयन्त्र पुगेको छैन,तर युवालाई विदेश ओसार्ने कमिसन एजेण्ट गाउँमा असरल्ल छन् । यस्ता एजेण्टहरुका कुरा सुन्दा लाग्छ,हरेक युवाले देखेको सपना पुरा गर्ने ठेकेदार उनीहरु नै हुन्।
१८ महिनाअघि अजयको हकमा पनि यस्तै भयो । गाउँमै भेटिए,एक कमिसन एजेण्ट । एजेण्टले कुवेत पठाउने भए । अंग्रेजीमा कार्पेन्टर अर्थात काठकै काम गर्ने,४८ हजार रुपियाँ (१२५ कुवेती दिनार) मासिक तलब । अजय दङ्ग नपर्ने कुरै थिएन । तलब राम्रो थियो,काम आफैले जानेको गर्ने त्यसमाथि विदेशमा अझ नयाँ केही सिक्ने मौका । अजयको सपनामा पखेटा लाग्यो।
सीप थियो,श्रम गर्ने हुटहुटी थियो । अजयले धेरै सोचेनन् । खुरुक्क एजेण्टलाई डेढ लाख रुपियाँ बुझाए । बिर्सन नहुने कुरा के हो भने,यो रकम अजय र उनको परिवारका लागि ठूलो रकम हो । यत्तिका नगद पैसा मण्डल परिवारसँग हुने कुरै भएन । गाउँकै साहुबाट यो रकम ऋण गरे। एजेण्टलाई बुझाए । अनेक प्रक्रिया पूरा गरे । कुवेत पुगे । कार्पेन्टरको कामका लागि कुवेतको एचएसकाे कम्पनीमा पुगे।
यहाँसम्म त ठिकै थियो । तर,यसपछि भने अजयले देखेको रङ्गीन सपना विस्तारै विस्तारै रङ्गहिन भएर उड्न थाले । उनलाई जे काम दिने भनेर वाचा गरेर ल्याइएको थियो,त्यो काम उनले पाएनन्। काठको काममा सिपालु अजयलाई भरियाको काम दिइयो । भारी बोकाइयो । यत्ति नै कारण थिएन उनी दुखी हुनुपर्ने । ४८ हजार रुपियाँ मासिक पाउने भनिएकोमा २८ हजार रुपियाँमात्र पाउन थाले । त्यसमाथि त्यही तलबभित्रबाट खाना पनि खानुपर्ने । परेन बित्याँस !
तत्काल घर फर्किने स्थिती पनि थिएन । माथि नै उल्लेख गरियो,डेढलाख रुपियाँको क्रृणको भारी जो थियो । त्यो क्रृण चुत्ता गर्न पनि कुवेतमै जसोतसो काम नगरी सुख्खै थिएन । घर फर्किन पनि त हवाइ टिकट लगायतको खर्च लाग्थ्यो । त्यो पैसा जुटाउन पनि उनलाई सकस नै थियो । केही महिना जसोतसो बिताए पनि भरिया काम र थोरै तलबले अजय आजित भए । जे त पर्ला भनेर एकदिन त्यो कम्पनी छाडेर उनी भागे।
नयाँ अवसर कसो नपाइएला ? उनले आफैलाई प्रश्न गरी हेरे । तर, सोचे झैँ रहिनछ जीवन । यस्तै भयो अजयको हकमा पनि । कम्पनी छाड्नासाथ उनी अवैधानिक भए । अर्थात अब उनले कुनै पनि ठाउँमा वैधानिक हैसियतमा रहेर काम गर्न नपाउने भए । जसोतसो लुकीछिपी जेजस्तो काम पाइन्छ त्यही काम गरेर आफ्नो गुजारा चलाउँदै गए ।
तर, जब कोभिड–१९ को महामारी पछिका दिन अरुजस्तै उनका लागि पनि प्रीतिकर रहेनन् । काम पाउन मुश्किल मुश्किल हुदैँ गयो । ऋृण बोकेर आएका अजयका लागि आफ्नो गुजारा गर्ने कि घरमा भरथेग गर्न थोरै भए पनि पैसा पठाउने ? यो प्रश्न पहाड झैँ भएर सामुन्ने आयो । खान बस्नकै लागि पनि परदेशी भूमिमा सहज भएन । कुवेतमै रहेका गाउँकै चिनेजानेका साथीहरुकहाँ शरण पर्नुबाहेक अर्को उपाय पनि थिएन अजयसँग।
डिसेम्बर १५ को दिन अजयका लागि सुखद रहेन । एउटा साथीकहाँ खानाका लागि याचना गर्न जाने क्रममा उनी पक्राउ परे । स्वभाविक थियो,अवैधानिक हैसियतमा बसेका उनलाई कुवेत प्रहरीले जेल हाल्यो । जेल बसाई कसको हकमा पो सुखद रहन्छ र ! अजयलाई पनि त्यस्तै भयो । झण्डै एक महिनाको जेल बसाई जीवनभरका लागि नमिठो घाउ बन्यो । जेलमा आफूलाई गरिएको ब्यवहार र दिइने खाना उनी बिर्सेर पनि सम्झिन चाहन्नन् ।
धन्न,परदेशमा अजयजस्ता बिचल्ली परेकाहरुको उद्वारका लागि एनआरएनए छ नि ! यही एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार कल्याणी विभागको कोभिड–१९ रेस्पोन्स टिमले अजय समस्यामा परेको थाहा पायो। उक्त टिमले दूतावासको समन्वयमा सबै प्रक्रिया पुर्याएर उद्वार गर्न सक्यो । अजयका लागि नेपालसम्म पुग्ने हवाइ टिकट,पीसीआर परीक्षण लगायतका कागजी प्रक्रिया पूरा भयो । तब अजय बुधवार विहान जजीरा एयरको उडानबाट काठमाडौंं आउन सम्भव भयो।
काठमाडौं ओर्लिदा अजयको साथमा टुटेका सपना र एक जोर लुगाबाहेक केही थिएन । अनुहार मलिन थियो । तर, परदेशबाट सकुशल स्वदेश टेक्न पाउँदा उनी खुसी देखिन्थे । आफूलाई अन्तर्राष्ट्रिय विमानस्थलमा लिन आएका स्वंयसेवकहरुले खाना खुवाएर घरसम्म पुग्ने प्रवन्ध मिलाएको देखेर होला,अजय साधुवादको आँशु खसाली रहेका थिए।
आफू नेपालको कुन म्यानपावर कम्पनी मार्फत कुवेत पुगेको भन्ने थाहा नपाएका अजयलाई सोधियो,फेरी विदेश जाने ? जवाफमा अजय सुस्तरी बोले,‘यत्रो धोखा र हण्डर खाइसकेपछि अब कहिल्यै विदेश नजाने,बरु गाउँमै केहि गर्ने योजना बनाउँछु ।’
केही छैन अजय,देहातमा देखेको सपना पुरा गर्न मरभूमी नै किन पुग्नुपरयो र ? मधेसको हाम्रो माटोमा पनि त अवसरका अनेक सुगन्धहरु छरिएकै छन् नि !
राम्रो दिन आउनेछन।