युनुसको त्यो टर्निङ्ग प्वाइन्ट…

युनुसको त्यो टर्निङ्ग प्वाइन्ट…

काठमाडौं। खासमा पढे-लेखेका, विद्वान र सामाजिक चरित्र देशको अपठ्यारोमा काम लाग्छन्। त्यसको उदाहरण हो, बङ्गलादेशको राजनीतिक संकटपछि त्यहाँ रोजिएको नेतृत्व अर्थात् माेहम्मद युनुस।

बंगलादेशमा नोबेल पुरस्कार विजेता ८४ वर्षीय माेहम्मद युनुस विषम परिस्थितिमा देशलाई नेतृत्व गर्दैछन्। त्यो पनि युवा विद्यार्थीहरुको बलियो मागको प्रस्तावमा।

यो सन् १९७४ को कुरा हो। त्यतिबेला बंगलादेशमा भोकमरी थियो। हजारौँको संख्यामा सर्वसाधारणले मृत्युवरण गरिरहेका थिए। गाउँ र गरिबको अवस्था देखेर युनुस अत्यन्तै चिन्तित भए। त्यही चिन्तनले उनलाई गाउँ डोर्यायो।

विश्वविद्यालय पढाइरहेका युनुसले ग्रामीण भेगकी एक जना महिलाले गाउँका जमिनदार साहुसँग लिएको ऋण र त्यसका लागि ती महिलाले गरेको संघर्ष बुझ्ने अवसर पाए। अनि ती मजदुर महिलाको उत्पादनको मूल्य र साहुको अधिकारलाई अर्थशास्त्रीय प्रणालीबाट केलाए। ती महिला बाँसबाट सामाग्री बनाएर जीवन चलाउँथिन्।

युनुसले नोबेल पुरस्कार पाउने टर्निङ्ग प्वाइन्ट नै त्यही थियो। अनि त युनुसले ग्रामीण विकास बैंकको सोँच अघि बढाए। अर्थको अर्थलाई गाउँ र गरिबसँग जोडे। ऋण, उत्पादन, ब्याज र साहु चिन्ने मौका युनुसलाई जुर्यो।

साहु महाजनसँग ऋण लिएका करिब ४२ जना गरिब उनीसँग जुधे। उनीहरुले लिएको ऋण लगभग ५ सय टका थियो। त्यही ५ सय टका ती गरिब किसानलाई दिए। त्यसको परिणाम ती सबैले ऋणको ब्याज तोकिएकै समयमा बुझाउँदथे।

त्यही समय र त्यही सन्दर्भले युनुसलाई लघुवित्तका माध्यमबाट काम गर्न ग्रामिण बैंकको योजना अघि बढाउन उत्साह थप्यो। सन् १९८३ मा बंगलादेशमा ग्रामिण बैंक सञ्चालन भयो। त्यसको मुखिया यिनै युनुस बनाइए।

जब सन् २००६ मा युनुसले नोबेल शान्ति पुरस्कार थापे, त्यतिबेला उनले यो कुराको वृत्तान्त सुनाएका थिए।

अपदस्त प्रधानमन्त्री शेख हसिनाले सन् २०११ मा युनुसमाथि विभिन्न आरोप लगाउँदै उमेर हदका कारण जब अवकास दिइन् अनि युनुस तिलमिलाए। उनी ७३ वर्षको छँदासम्म बंगलादेशको ग्रामिण बैंकको प्रमुख थिए। हुन त राजनीतिप्रति उनको चासो निरन्तर थियो।

सन् २००७ ताका आफ्नै प्रयासमा ‘नागरिक शक्ति’ राजनीतिक दलको स्थापना पनि गरे तर त्यो सफल रहेन। त्यसताका बंगलादेशमा सेनाले सत्ता हत्याएको थियो। हसिना र खालिदा जिया जेलमा बन्द थिए। उतिबेला पनि सेनाले युनुसलाई प्रधानमन्त्रीका लागि प्रस्ताव गरेको थियो। तर युनुसले त्यो अलोकतान्त्रिक प्रस्ताव अस्वीकार गरिदिए।

जीवनको उत्तरार्धमा विश्वले पत्याएका व्यक्ति युनुसलाई आफ्नै देशको सरकारले अपहेलित गरिदियो। शेख हसिनाले युनुसलाई दुत्कारिन्। आज जसले दुत्कार्यो उसैको बहिर्गमनपछि देशले युनुसलाई अपनायो।

बंगलादेशको राजनीतिक संकटमा तिनै युनुस जो स्वनिर्वासनमा देश बाहिर थिए, उनैले विषम परिस्थितिमा देशलाई नेतृत्व गर्ने भए।

विद्यार्थी आन्दोलनले बदलिएको भनिने बंगलादेशको सत्ता समीकरणमा तिनै विद्यार्थीले सैन्य नेतृत्वलाई ठाडै अस्वीकार गर्नु लोकतन्त्रको आगामी यात्राका लागि बंगलादेशलाई अवसर पनि छ। संसारभरि सत्ता उथलपुथलमा षड्यन्त्रको ठुलो खेल हुन्छ। बंगलादेशको आन्दोलन र बाह्य शक्तिका विषयमा भविष्यमा थप उजागर हुँदै जाला।

हसिना सरकारले युनुसमाथि छानबिन र मुद्दासमेत चलायो। युनुस र उनको परिवारलाई मार्ने धम्की दिइयो। सुरक्षका लागि युनुस केही समय ढाकामा रहेको अमेरिकी दूतावासको शरणमा समेत बस्नुपर्यो।

युनुस बंगलादेशको जन्म भएपछि अमेरिकाबाट पीएचडी गरेर स्वदेश फर्किएका हुन्। कतिपय कुटनीतिक विषयका जानकार युनुस सत्तामा पुग्नुमा पश्चिमा शक्तिहरुको हात रहेको बताइरहेका पनि छन्।

हसिनाले बहुचर्चित पद्मा नदीमा पुल बनाउन विश्व बैंकसँग सहायता मागिन् तर त्यो प्रयास सफल भएन। त्यसको दोष युनुसमाथि थोपरिन्। युनुसको विश्वस्तरको सम्बन्धका कारण विश्व बैंकले साथ नदिएको हसिनाको ठम्याई थियो। तर जब सन् २०२२ मा हसिनाले पद्मा नदीमा पसल बनिसकेपछि युनुसलाई त्यही नदीमा डुबेर मरेपनि हुन्छ भन्दै दुत्कारिन्।

जब हसिना सत्ताच्युत भइन्, युनुसले हसिनामथि टिप्पणी गर्दै भनेका छन्, ‘हसिना लोकतन्त्रको हत्यारा हुन्।’

अचम्म त के छ भने युनुस तिनै हसिनाका बाबु शेख मुजिवर रहमानका प्रशंसक हुन्। त्यसैले उनी भन्छन्, ‘हसिना हट्नु बंगलादेशका लागि दोस्रो मुक्ति दिवस हो।’

परिस्थिति त मेल नखाला तर नेपालमा पहिलो पटक संविधान सभाको चुनाव भएर संविधान नबन्ने अवस्था आयो। संकटका बीच प्रधानन्यायाधीश खिलराज रेग्मीले देशको नेतृत्व गरेर २०७० सालमा निर्वाचन गराइदिए। बंगलादेशमा त विद्यार्थी शक्तिले सेना र न्यायालयभन्दा एक खुड्किलोमाथि एक जना नागरिकमाथि विश्वास देखाए।

अन्तरिम सरकारकाे नेतृत्व गर्न बंगलादेश फर्किएलगत्तै युनुसले भनेका छन्, ‘देशलाई अराजकता र हिंसाबाट बचाऔँ, नयाँ बंगलादेश बनाउन सबै मिलेर लागौँ।’

बंगलादेशको राजनीतिक संकटलाई मोचन गर्न नवनियुक्त सरकार प्रमुख सल्लाहकार नोबेल पुरस्कार विजेता युनुस कति सफल रहन्छन् त्यो भने आगामी दिनहरुले निर्धारण गर्दै जाला।