महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको प्राथमिकता : श्रममन्त्री श्रेष्ठ

महिलाको सुरक्षा, सम्मान र रोजगारी सरकारको प्राथमिकता : श्रममन्त्री श्रेष्ठ

काठमाडौं । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री कृष्णकुमार श्रेष्ठले महिलाको सुरक्षा, सम्मान र रोजगारीलाई सरकारले प्राथमिकता दिएको बताएका छन् । संयुक्त ट्रेड युनियन समन्वय केन्द्रले काठमाडौंमा आयोजना गरेको तेस्रो महिला सम्मेलनलाई सम्वोधन गर्दै मन्त्री श्रेष्ठले राज्यका हरेक निकायमा महिलाहरुको समान सहभागिता, मर्यादित रोजगारी र कार्यस्थलमा महिला हिंसा न्यूनिकरणका लागि सरकार प्रतिवद्ध रहेको बताए।

मन्त्री श्रेष्ठले संगठित तथा असंगठित क्षेत्रमा कार्यरत महिलाहरुलाई सामाजिक सुरक्षा कोषमा सहभागि गराउन सरकार प्रतिवद्ध रहेको बताए। रोजगारीमा महिलाका लागि आरक्षणको व्यवस्थाले महिलाको प्रतिनिधित्व बढाउनुका साथै महिला सशक्तीकरणमा महत्वपूर्ण भूमिका निर्वाह गरेको उनको भनाइ छ।

सबै क्षेत्रका श्रमिकका लागि उचित श्रम अभ्यास, आधारभूत श्रमिक अधिकार र सामाजिक सुरक्षा आफ्नो प्राथमिकतामा रहेको बताउँदै मन्त्री श्रेष्ठले ज्यालामा असमानता रहेको अनौपचारिक क्षेत्रमा महिला कामदार बढी रहेकोले उनीहरुको समस्या सम्वोधन गरिने बताए । आर्थिक तथा सामाजिक रूपमा पछाडि परेका महिलाहरूले अवसर प्राप्त गर्ने गरी रोजगारी वृद्धि गर्नुपर्ने उनको भनाइ छ।

कार्यक्रममा बोल्ने वक्ताहरुले विद्यमान ऐन-कानुनको प्रभावकारी कार्यान्वयनका साथै महिलाहरूमा आत्मविश्वास बढाउन, व्यावसायिक सीप तथा क्षमता विकास गर्नुका साथै हिंसा, शोषण र भेदभावको अन्त्य गरी कार्यक्षेत्र महिलामैत्री बनाउनुपर्ने बताए।



No ads found for this position