उद्वार र राहतमा जुट्दा विदेशमा ज्यान गुमाएकालाई सरकारले शहिद घोषणा गरोस् : डा.बद्री केसी

उद्वार र राहतमा जुट्दा विदेशमा ज्यान गुमाएकालाई सरकारले शहिद घोषणा गरोस् : डा.बद्री केसी

काठमाडौं । गैरआवासीय नेपाली संघ (एनआरएनए) का उपाध्यक्ष डा. बद्री केसीले कोरोना भाइरस (कोभिड–१९) को महामारीको बेला विदेशमा समस्यामा परेका नेपालीको उद्वार र राहतमा खटिंदा ज्यान गुमाएका स्वयमसेवकलाई शहिद घोषणा गर्न सरकारसमक्ष माग गरेका छन् । शनिवार आयोजित संघको विशेष महाधिवेशनलाई सम्बोधन गर्दै उनले विभिन्न देशमा ज्यान गुमाएका आफ्ना स्वयमसेवकलाई सरकारले सहिद घोषणा गर्नुपर्ने माग राखेका हुन् ।

कोभिड–१९ को संक्रमणबाट विदेशमा रहेका नेपालीलाई जोगाउन सक्रिय रहेका एनआरएनएका केही स्वंयसेवकले ज्यान गुमाएको प्रसंग निकाल्दै एनआरएनए अन्तर्गतको वैदेशिक रोजगार तथा कल्याणकारी विभागका संयोजक समेत रहेका डा.केसीले भने,‘मुत्युवरण भोगेका ती स्वंयसेवकलाई शहिदको रुपमा सम्मान गर्नुपर्छ र नेपाल सरकारले पनि शहिद घोषणा गर्नुपर्छ ।’

कोभिड–१९ को संक्रमणपछि विशेषगरी मध्यपूर्व र मलेसियामा रोजगार गुमाएर अलपत्र परेकाहरुलाई उद्वार गरेर एनआरएनएले नेपालसम्म पठाइरहेकोमा सन्तोष लिदैं डा.केसीले कुवेतमा अलपत्र परेका ५ हजार नेपाली महिलालाई सकुशल स्वदेश पुरयाउन एनआरएनएले संयोजन गरेको बताए । डा.केसीले भने,‘विशेषगरी हामीमध्यपूर्व र मलेसिया वा विश्वका कुनै पनि भागमा अलपत्र परेकाहरुलाई उद्वार गर्ने क्रममा यूएईमा रोजगार गुमाएर अलपत्र परेका ८० जना गर्भवति नेपाली महिलालाई सकुशल स्वदेश पठाउन सक्यौं ।’

‘विदेशमा रोजगार गुमाएर स्वदेश फर्केकाहरुको श्रम र सीपलाई कसरी उपयोग गर्ने भन्ने कुरा महत्वपूर्ण रहेकोले कारोनाको कहरले हामीलाई अवसर पनि दिएको छ,’ डा.केसीले भने,‘विदेशमा अलपत्र परेर स्वदेश फर्किन चाहनेहरुका लागि एनआरएनए छ भनेर भन्न सकिने स्थिती आउनु सुखद कुरा हो, यसका लागि विशेषगरी एनआरएनएका स्वंयसेवकहरुको भूमिका महत्वपूर्ण छ ।’

विशेष महाधिवेशन उद्घाटन सत्रलाई सम्बोधन गर्ने क्रममा एनआरएनएका अग्रजहरुको भनाइ दोह्रयाउदै उपाध्यक्ष डा. केसीले भने,‘एनआरएनएमा राजनीतिको जुत्ता र टोपी खोलेर आउनुपर्छ,सबै हात एकैसाथ जोडेर संस्थालाई अझ ठूलो बनाउनुपर्छ ।’

एनआरएनएलाई राजनीतिक प्रभाव र कसैको ब्यक्तिगत स्वार्थभन्दा बाहिर राख्नुपर्ने आशय उपाध्यक्ष डा.केसीको थियो।