सालाहको टोकियो ओलम्पिक खेल्ने सपना कठिन

सालाहको टोकियो ओलम्पिक खेल्ने सपना कठिन

इजिप्ट। इजिप्सियन फुटबल स्टार मोहम्मद सालाहको टोकियो खेल्ने ओलम्पिक अभियान लगभग टुँगिएको छ। इंग्लिस प्रिमियर लिग क्लब लिभरपुलले टोकियो ओलम्पिकका लागि राष्ट्रिय टोलीबाट खेल्ने उनको प्रयासलाई झट्का दिएको हो।

लिभरपुलले सालाहलाई बीचमा छोड्न नमिल्ने जानकारी इजिफ्ट फुटबल संघलाई दिइसकेको छ।

‘लिभरपुलले हामीलाई जानकारी दिइसकेको छ, उनीहरूले सालाहलाई ओलम्पिक खेल्न छुट्टि दिने छैनन्,’संघका अध्यक्ष मेघहदले इजिप्टको टेलिभिजन अनटाइम स्पोर्ट्सलाई जानकारी दिए, ‘सालाह भने खेल्न इच्छुक छन्। उनले लिभरपुलको व्यवस्थापनसँग कुरा गरेर दुई–तीन दिनभित्र टुँगो लगाउने बताएका छन्।’

२९ वर्षीय सालाह सन् २०१२ को लण्डन ओलम्पिकमा राष्ट्रिय टिममा सहभागी थिए। उनले समूह चरणको तीन खेल ब्राजिल, न्युजिल्याण्ड र बेलारुसविरूद्ध गोल गरेका थिए।

टोकियो ओलम्पिकमा इजिप्ट समूह ‘सी’ मा आवद्ध छ। यो समूहमा दुई पल्टको च्याम्पियन अर्जेन्टिना, १९९२ को विजेता स्पेन र अस्ट्रेलिया समावेश छन्।

ओलम्पिकमा २३ वर्षमुनिका खेलाडीले भाग लिन पाउँछन्। यसमा तीन जना प्रोफेसन खेलाडीलाई राष्ट्रिय टोलीबाट खेल्न छुट दिने गरिन्छ।