एनआरएनए कतारका उपाध्यक्ष गुरुङ अझै बेपत्ता, एनआरएनए मौन, दूतावास अनभिज्ञ

एनआरएनए कतारका उपाध्यक्ष गुरुङ अझै बेपत्ता, एनआरएनए मौन, दूतावास अनभिज्ञ

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका प्रथम उपाध्यक्ष उत्तम गुरुङ विगत १० दिनदेखि कतारमा कसैको सम्पर्कमा छैनन्। कोरोना महामारीमा कतारमा समस्यामा परेका नेपालीलाई राहत तथा खाधान्न वितरण गर्दै उल्लेखनीय काम गरेका आफ्ना जिम्मेवार पदाधिकारी विगत डेढ सातादेखि लापत्ता हुँदा पनि एनआरएनए कतार मौन छ।

अझ्  दोहास्थित नेपाली दूतावास उनको विषयमा अनभिज्ञ हुनुले गुरुङको विषयलाई थप पेचिलो बनाएको छ।

गुरुङलाई एक वर्षअघि एउटा घटनामा संलग्न भएको भन्दै कतार प्रहरीले ‘डिपोर्ट’ को सूचीमा राखेको थियो। अवैधरुपमा जुवातास खेलेको भन्दै गुरुङसहित १२ जनालाई ‘डिपोर्ट’ को सूचीमा राखेको दूतावास श्रोतले यसअघि नै प्रवास खबरलाई जानकारी दिएको थियो।

तर, गुरुङले आफूमाथि लागेको आरोप निराधार भएको भन्दै सम्बन्धित निकायमा अपील गरेको प्रवास खबरलाई जानकारी दिएका थिए। यस्तो अवस्थामा एकाएक गुरुङ सम्पर्कबिहिन बन्नुलाई कतारमा कार्यरत नेपाली श्रमिकहरूले रहस्यको रुपमा लिएका छन्।

पछिल्लो समय कतारमा केही नेपालीहरूले राम्रो व्यापार–व्यवसाय गर्दैआइरहेका छन्। कतारमा विश्व कप फुटबल आयोजनाको मिति नजिकिदै जाँदा व्यापार–व्यावसायमा एक–अर्कालाई उछिन्ने होडबाजीको रुपमा यो प्रकरणलाई पनि केहीले हेरेका छन्। गुरुङ पछिल्लो समय दोहामा उच्च लगानीको होटल व्यवसाय गर्ने सिमित नेपालीमा पर्छन।

गुरुङ बेपत्ता भएपछि प्रवास खबरले एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तदा मुसलमानलाई पटक–पटक फोन गरेको थियो। तर, उनी सम्पर्कमा आउन चाहेनन्। गुरुङ एनआएएनए कतारमा मुक्तदाकै समूहमा पर्छन। आगामी निर्वाचनमा मुक्तदाले पुनः अध्यक्षमा उम्मेदवारी दिने बताएपछि गुरुङ पछाडि हटेका थिए।

अहिले गुरुङ बेपत्ता हुँदा उनको मौनताले थप शंका उत्पन्न भएको छ। यस विषयमा कतारमै रहेका मध्यपूर्व संयोजक प्रविण गुरुङलाई पनि प्रवास खबरले सोधखोज गरेको थियो। तर, उनी पनि गुरुङको अवस्था बारे आफू जानकार नभएको भन्दै पन्छिन खोजे।

उत्तम गुरुङ र प्रविण गुरुङ कुनैबेला निकै मिल्ने साथी थिए। उनीहरू दुबै मिलेर सन् २०१७ मा दोहामा ‘नेपाल आइडल’ को प्रथम संस्करणको ‘ग्रान्ड फिनाले’ आयोजना पनि गरेका थिए।

गुरुङको सम्पर्कबिहिन भएको जानकारी आफूलाई नभएको कतारका लागि नेपाली राजदूत डा. नारदनाथ भारद्धाजले प्रवास खबरलाई बताएका छन्। उनले भने, ‘पहिले उहाँ डिपोर्टेशनको सूचीमा हुनुहुन्थ्यो। हामीले उहाँको डिपोर्टेशन रोक्न आग्रह गरेका हौं। तर, अस्विकार भएको थियो।’

राजदूत भारद्धाजले कतार सरकारले आफ्नो कानुनी कार्यवाहीको विषयलाई अरुसँग सेयर नगर्ने कारण थप जानकारी नभएको बताए। ‘यो कतार सरकारको कानुनी कार्यवाहीको दायराभित्र प¥यो। त्यसैले हामीलाई जानकारी हुने कुरा भएन। सायद ‘होल्डिङ सेन्टर’ मा राखेको हुनुपर्छ’, भारद्धाजले प्रवास खबरसँग टेलिफोन कुराकानीमा भने।

चुनावको मुखमै एनआरएनए कतारका प्रथम उपाध्यक्ष गुरुङ सम्पर्कविहीन