चुनावको मुखमै एनआरएनए कतारका प्रथम उपाध्यक्ष गुरुङ सम्पर्कविहीन

चुनावको मुखमै एनआरएनए कतारका प्रथम उपाध्यक्ष गुरुङ सम्पर्कविहीन

काठमाडौं। गैरआवासीय नेपाली संघ, राष्ट्रिय समन्वय परिषद् (एनआरएनए–एनसीसी) कतारमा यतिबेला चुनावी रौनक छाएको छ।

२०२१–२०२३ कार्यकालको लागि एनसीसी कतारको ९ जुलाइमा निर्वाचन तालिका तय भएको छ। एनआरएनए कतारमा मध्यपूर्वकै सबैभन्दा बढी १० हजार १ सय ११ मतदाता रहेका छन्।

निर्वाचन समितिले प्रारम्भिक चरणमा नवौँ महाधिवेशनबाट चयन हुने कार्यसमितिका लागि मनोनयन दर्ता गराएका ५५ आकांक्षीको नाम सार्वजाननिक गरिसकेको छ। जसमा नेतृत्वका लागि वतर्मान अध्यक्ष मोहम्मद मुक्तदा मुसलमान र चूडामणी कार्कीको उम्मदेवारी परेको छ।

रोचक कुरा प्रथम उपाध्यक्षमै निरन्तरता दिने तयारीमा रहेका उत्तम गुरुङ भने अन्तिम समयमा एकाएक सम्पर्कविहिन भएका छन्।

केहि दिनअगाडी भएको छलफलमा अध्यक्ष मोहम्मद मुक्तदाले पदको निरन्तरता चाहेपछि अध्यक्षका प्रवल दावेदार वर्तमान कार्यसमितिका प्रथम उपाध्यक्ष गुरुङले सहमति जनाउँदै आफूले पनि सोही पदमा उम्मेदवारी दिने बताएका थिए।

आगामी २०२३–२०२५ कार्यकालमा गुरुङलाई अध्यक्ष बनाउने सहमति भएको थियो। गुरुङले प्रवास खबरसँग भनेका थिए, ‘हो मैले आगामी कार्यकालमा पनि प्रथम उपाध्यक्षमै उम्मेदवारी दिने निर्णय गरेको छु।’

तर, अहिले निर्वाचन समितिले सार्वजानिक गरेको नामावलीमा गुरुङको उम्मेदवारी परेको छैन। नामावली अनुसार प्रथम उपाध्यक्षमा जैवी राई र गफुर अहम्मदको उम्मेदवारी परेको छ। द्वितीय उपाध्यक्षमा प्रेम चलाउने र केशवराज कार्की, महिला उपाध्यक्षमा अम्बिका खत्रीले उम्मेदवारी दिएका छन्।

गुरुङको उम्मेदवारी बारे प्रवास खबरले उनीसँग जान्ने प्रयास गरेको थियो। तर, उनीसँग फोन सम्पर्क हुन् सकेन। पछिल्लो समय सामाजिक सञ्जालमा पनि उनी सक्रिय देखिदैनन्।

प्रवास खबरले गुरुङको उम्मेदवारीलाई लिएर एनआरएनए कतारका प्रवक्ता सन्तोष क्षेत्रीसँग सोधेको थियो। जसमा उनको उत्तर थियो, ‘म भर्खरै मात्र नेपालबाट कतार फर्किएको छु। होटल क्वारेन्टाइनमै रहेकोले यसबारे केही जानकारी छैन। बाहिर निस्किएपछि थाहा होला।’

यो पनि पढ्नुहोस्

अर्को कार्यकाल गुरुङलाई अध्यक्ष बनाउने सहमतिमा एनआरएनए कतारमा अहिलेकै नेतृत्व दोहोरिने