चुनावी परिणाम अस्वीकार गरेका श्रेष्ठले १० महिनापछि निर्वाचित पदाधिकारीलाई दिए बधाई

चुनावी परिणाम अस्वीकार गरेका श्रेष्ठले १० महिनापछि निर्वाचित पदाधिकारीलाई दिए बधाई

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) को एघारौं महाधिवेशनको चुनावी परिणाम अस्वीकार गरेका अध्यक्षका प्रत्यासी महेश श्रेष्ठले अन्ततः निर्वाचित पदाधिकारीलाई बधाई दिएका छन्।

बद्री केसीको टीमले अनलाइन मतदान प्रणाली कब्जा गरेर चुनाव जितेको आरोप लगाउँदै मतपरिणाम अस्वीकार गरेका श्रेष्ठले १० महिनापछि पदाधिकारीलाई बधाई ज्ञापान गरेका हुन्।

श्रेष्ठले अध्यक्ष केसीसहित उपाध्यक्षहरू, महासचिव, सचिव र कोषाध्यक्षलगायतका पदाधिकारीलाई म्यासेज तथा फोनमार्फत बधाई दिएका हुन्।

‘उहाँले मलाई त म्यासेजमार्फत बधाई पठाउनु भएको थियो। मैले धन्यावाद महेशजी भनेर रिप्लाईँ पठाएँ,’ एक उपाध्यक्षले प्रवास खबरसँग भने, ‘अरु साथीहरूलाई पनि बधाई दिनुभएको रहेछ। यसलाई हामीले एकदमै सकारात्मक रुपमा लिएका छौँ।’

यसअघि श्रेष्ठले आपसी सहमति, सहकार्य र एकताले मात्र एनआरएनएलाई निकाश दिने बताएका थिए। सर्वोच्च अदालतको दुई किसिमका फरक–फरक फैसलाले एनआरएनएमा थप अन्यौलता थपेको उनको भनाइ थियो।

‘अहिलेको विषम परिस्थितिमा सर्वोच्चको दुवै फैसला कार्यान्वयन अत्यन्तै विवादित हुन सक्छ। संघमा हामीहरुबीचको सहमति सहकार्य र एकताले मात्र अहिलेको परिस्थितिवाट निकाश दिन सक्छ,’ सर्वाेच्चको दोस्रो फैसला आएसँगै उनले भनेका थिए, ‘सर्वोच्च अदालतको पहिलो फैसलाको आशय पनि सहमति, सहकार्य र एकता नै हो। त्यसैले संघमा आपसी विश्वास र एकता कायम गर्न र ठोस निकास दिनका लागि परराष्ट्र मन्त्रालयले सवै पक्षहरुसँग तत्काल छलफल अगाडि बढाउन आवश्यक देखिन्छ।’

श्रेष्ठले दोस्रो फैसलाको पूर्णपाठ आएसँगै पदाधिकारीलाई बधाई सन्देश पठाएका हुन्।

‘उहाँले व्यक्तिगत रुपमा बधाईँ पठाउनु भएको हो। उहाँलाई पनि केही समस्या हुनसक्छन्, त्यसैले सार्वजानिक रुपमा बधाई दिनुभएको छैन। तर, महेशजीले अहिले सबै कुरा बुझ्नु भएको छ। आपसमा मिलेर अघि बढ्न हामीलाई सहयोग गर्नुहुन्छ भन्नेमा हाम्रो विश्वास छ,’ एक पदाधिकारीले प्रवास खबरसँग भने।

उनले पहिला केसी र श्रेष्ठले एउटै टीममा काम गरेको बताउँदै अब पनि पहिलाको जस्तै सम्बन्ध कायम बनाउन आफूहरूले पहल गर्ने पनि बताए।

‘खासमा बद्री र महेशजीले एउटै टीममा काम गर्नुभएको थियो। उहाँहरुको सम्बन्ध पहिला निकै सुमुधुर थियो। चुनावमा नेतृत्वको विषयलाई लिएर कुरा मिलेन। उहाँहरू अलग–अलग बाटोमा लाग्नु भयो। तर, अब एकअर्कालाई सहयोग गर्नुपर्ने परिस्थिति बनेको छ अर्थात् एमाले र कांग्रेसको सरकार बनेको छ,’ उनले भने।

नयाँ सत्ता गठबन्धनको प्रभाव

चुनावमा केसीलाई एमालेले सघाएको थियो भने श्रेष्ठलाई कांग्रेसले समर्थन गरेको थियो। तर, अहिले कांग्रेस र एमालेको गठबन्धन छ। कांग्रेस र एमाले एउटै ठाउँमा रहेकाले अहिले एनआरएनए मिलन विन्दुमा पुग्नसक्ने अपेक्षा गरिएको छ।

सरकारको नेतृत्व एमाले अध्यक्ष केपी शर्मा ओलीले गरिरहेका छन् भने परराष्ट्र मन्त्रालय कांग्रेस सभापति शेरबहादुर देउवाकी पत्नि आरजु राणाले चलाइरहेकी छिन्। यसअघि भएका सबैजसो एनआरएनए विवादमा आरजुको भूमिका पनि जोडिन्थ्यो। उनले एनआरएनएमा सबैभन्दा बढी चासो राख्थिन्।

उनै आरजुसँग श्रेष्ठले बलियो सम्बन्ध बनाएका थिए। आरजुकै कारण श्रेष्ठले अध्यक्षको टिकट समेत पाएका थिए।

यता केसीलाई ओलीले काखमै च्यापेर सहयोग गर्दै आएका छन्। सरकारबाहिर रहँदा पनि ओलीले कांग्रेस र माओवादी मिलेर चुनाव जितेका केसीमाथि अन्याय गरेको आरोप सार्वजानिक रुपमै लगाउँदै आएका थिए। सरकारमा गएपछि त केही महिनाभित्र नै विवाद सल्टाउने बचन समेत ओलीले केसीलाई दिएका थिए।

प्रधानमन्त्री ओलीले परराष्ट्रमन्त्री आरजुमाथि पनि एनआरएनए विवाद चाँडै सल्टाउन दवाव दिइरहेको स्रोत बताउँछ।

‘बद्रीजीको अब एकवर्ष मात्र बाँकी छ। झगडा मात्र गरेर पनि पुगिने कहीँ होइन। यो कार्यकाल उहाँलाई राम्रोसँग चलाउन सहयोग गर्ने, अर्कोपटक महेशजीलाई सहयोग गर्नेगरी वातावरण मिलाउने हो भन्ने सबै कुरा सकिन्छ,’ केसी टीमका कोर सदस्यले भने।

त्यसो त यसअघि नै केसी आफूपछि श्रेष्ठलाई सघाउन चाहेका थिए। उनले आफूपछि श्रेष्ठ, गौरीराज जोशीलगायतको आगामी तीन कार्यकालसम्मको लिष्ट नै तयार पारेका थिए। तर, श्रेष्ठले केसीलाई पालो दिएनन्, उनीआफै केसीविरुद्ध चुनाव लडेका थिए।

अनेकौ विवाद झेलिरहेका केसी अहिले विगतका सबै कुरा बिर्सिएर श्रेष्ठलाई पनि साथमै लिएर अघि बढ्न चाहिरहेका छन्। यता नेपालका नेताहरूसँग पनि उनले यही प्रतिबद्धता जनाएका छन्। केसीले भनिरहेका छन्, ‘महेशजी त मेरै साथी, मैले नै अघि बढाएको व्यक्ति हो। हामी मिलेर थुप्रै काम गर्‍यौँ। चुनावको बेला मात्र हाम्रो सहमति जुट्न सकेन। तर, पनि म महेशजीसँग हातेमालो गरेर अघि बढ्न चाहान्छु।’

अर्कोपटक श्रेष्ठलाई सहयोग गर्दा केसीलाई मिलाउन चुनौती भनेको गौरीराज जोशी र हेमराज शर्मा हुन्। केसीलाई ‘दाहिने हात’ बनेर सघाइरहेका शर्मा पनि जसरी हुन्छ अध्यक्ष बनेर एनआरएनए हाँक्ने होडमा छन्।

जोशी पनि अर्कोपटक अध्यक्ष बन्ने लाइनकै हुन्। तर, एनआरएनएभित्र यसरी चरम राजनीति भइरहे अभियानबाटै बाहिरिने पनि बताइरहेका छन्। सधैं यस्तै विवाद भए एनआरएनए अभियान नै सखाप हुने उनको बुझाइ छ। तर, जोशी पनि आपसी सहमतिमा विश्वास राख्ने व्यक्ति हुन्।

जोशी र श्रेष्ठ पनि मिल्ने मित्र हुन्। श्रेष्ठले यसअघिको चुनावमै जोशीलाई आफ्नो टीमबाट महासचिव बनाउन चाहेका थिए। तर, यता कुल आचार्य र केशव पौडेलले बुद्धी सुवेदीलाई महासचिव बनाउन जोड गरेपछि जोशीलाई छोड्न उनी बाध्य भएका थिए।

अर्कोपटक श्रेष्ठलाई नेतृत्वमा ल्याउने र २०२७–०२९ कार्यकालमा जोशीलाई अध्यक्ष बनाउने गरी सहमति हुनसक्ने स्रोत बताउँछ। ‘महेश र गौरीजीबीच त्यस्तो नराम्रो केही छैन। महेश जीको चाहानमा गौरीजीले पनि जबरजस्ती गर्नुहुन्छ जस्तो लाग्दैन,’ यो भनाइ केसीकै कोर टीमका एक प्रतिनिधिको हो।

शेष घलेलाई चुनाव गराउन अदालतले आदेश दिइसकेको अवस्था छ। तर, केसी टीम भने घलेले चुनाव गराउन सक्दैनन् भन्ने निचोडमा पुगेको छ। सत्ता गठबन्धन पनि आफू अनुकूल रहेकाले चुनाव गराउने मामिलामा घलेले हात नहाल्ने उनीहरूको निष्कर्ष छ। यही परिदृश्यमा श्रेष्ठलाई मिलाएर जानसके यो कार्यकाल आफूले सहजै पूरा गर्नसक्ने केसीको विश्वास छ।

 



No ads found for this position