सिप मेलाको दोस्रो चरण जेठ ६ गतेदेखि, निःशुल्क सिक्न पाईन्छ यी सिप

काठमाडौँ। काठमाडौँ महानगरपालिकाले टुँडिखेलमा सञ्चालन गरिरहेको ‘सिप मेला’ अन्तर्गत १५ दिन अवधिका तालिमको पहिलो चरण शुक्रबार सकिँदैछ।
वैशाख १९ गते मेलाको उद्घाटनपछि कक्षाहरु सुरु भएका थिए। यस चरणमा १ हजार ५७७ जनाका लागि तालिमको कोटा थियो। यसमध्ये १ हजार ५०५ जना तालिममा सहभागी भएका छन्।
३० दिन र १५ दिनको तालिम अवधिमध्ये भोलि १५ दिनको अवधि सकिनेछ। आज र भोलि तालिम सम्पन्न भएका प्रशिक्षार्थीहरुको योग्यता परीक्षा र नयाँ प्रशिक्षार्थीका लागि अभिमुखीकरण सञ्चालन भइरहेको छ।
दोस्रो चरणको कक्षा ज्येष्ठ ६ गते आइतबारबाट सुरु हुनेछ। यसमा १ हजार १३५ जनाको कोटा छ। यसका लागि १ हजार २६५ जनाको नाम सूचीकरण गरेर फोनमार्फत तालिममा आउन अनुरोध गराइएको छ।
तालिमामा सहभागी हुनेले ९० प्रतिशत हाजिर अनिवार्य छ। तालिम सुरु गरेर कसैले छोड्न नपाउने व्यवस्था छ। तालिम निःशुल्क हो तर कसैले बिचमै छोडेमा तालिम वापतको शुल्क भुक्तानी गर्नुपर्नेछ।
निःशुल्क सिपमूलक तालिम लिनका लागि ६८ हजार ८६६ जनाको आवेदन परेको छ। यसमध्ये ४३ हजार ५८ जनाले ‘सिप मेला’ बाट तालिम लिनका लागि आवेदन दिएका हुन्। २०८१ जनालाई तालिम दिने, तालिम दिएकालाई ‘रोजगार’, ‘स्वरोजगार’ र ‘अन द जब ट्रेनिङ्’ उपलब्ध गराउने लक्ष्यसहित आवेदन माग गरिएको थियो।
वैशाख १९ गते अगाडि अनलाइनबाट आवेदन दिने ७ हजार ३८२ जनालाई पहिलो प्राथमिकतामा राखेको छ। उद्घाटनका दिन टुँडिखेलमै फाराम भर्ने ४ हजार १८२ जनालाई दोस्रो प्राथमिकतामा राखिएको छ। यसपछि सिप मेलामा आएर आवेदन दिने १३ हजार ९९४ जनालाई तेस्रो प्राथमिकतामा राखिएको छ। प्रशिक्षणमा बोलाउँदा यही मापदण्डका आधारमा बोलाईएको छ।
तालिममा समावेश १० क्षेत्र र ३० पेशासँग सम्बन्धित तालिममध्ये अटो इलेक्ट्रिक, इलेक्ट्रिक कार (इभी), डकर्मी, टाइल एण्ड मार्वल फिटिङ्, इलेक्ट्रिसियन, प्लम्बिङ्, रेफ्रिजेरेसन एण्ड एसी टेक्निसियन र आर्ट एण्ड स्कप्चर ३० दिन अवधिका हुन् ।
यस्तै बारिस्ता, फास्ट फुड कुक, बेकरी, बार टेन्डिङ्, वेटर, डिजिटल मार्केटिङ्, कम्प्युटर हार्डवेयर एण्ड नेट वर्किङ्, सीसीटिभी क्यामरा, मोवाइल रिपेयरिङ्, वेल्डिङ्, टेलरिङ्÷डे«स मेकिङ्, फेसन डिजाइनिङ्, नेल आर्ट, मेक अप आर्ट एण्ड आइलेस, आइलेस आर्ट एक्सटेन्सन, हेयर कट एण्ड स्टायल, सैलुन, स्क्रीन प्रिन्टिङ्, ज्योतिष र ज्योतिष पुरोहित १५ दिन अवधिका तालिम छन्।
हरेक वडाबाट १ सय जनालाई सहभागी गराउन फाराम पठाइएको थियो। यसको विवरण अद्यावधिक भइरहेको छ। कार्यक्रम शुभारम्भका दिन (वैशाख १९) टुँडिखेलमा आएका सहभागीहरूको ठुलो संख्याले प्रशिक्षणको अवसरका लागि माग गरेपछि त्यहीँबाट पनि फाराम भर्ने अवसर दिइएको थियो। त्यो एक दिनमा ४ हजार १८२ जनाले फाराम भरे। त्यसदिनभन्दा अगाडि ७ हजार ३८२ जनाको आवेदन प्राप्त भइसकेको थियो। वैशाख २० गतेदेखि ३० गतेसम्म दिइएको फाराम भर्ने अवसरमा १४ हजार ३ सय जनाले फाराम भरे। यस्तै अनलाइनबाट १३ हजार ९९४ जनाको आवेदन प्राप्त भएको छ।
यससँगै समय समयमा विभिन्न पेशा (जुत्ता बनाउने, डकर्मी, मालीलगायत) सँग सम्बन्धित तालिमका लागि गरिएको आव्हानका क्रममा ५ हजार ६८९ जनाले आवेदन दिएका छन्।
‘रोजगारी र आय वृद्धि, काठमाडौँको समृद्धि’ कार्यक्रमअन्तर्गत ११ हजार २६४ जनाले आवेदन दिएका छन्। यसअघि आयोजना गरेको साइबर सेक्युरिटी तालिमका लागि आव्हान गरिएको फाराममा ८ हजार ८८५ जनाले आवेदन दिए। जसमध्ये ६ हजार ६९४ जनाले साइबर सेक्युरिटीकै लागि आवेदन दिएका थिए।
‘शिक्षालाई सिपसँग’, ‘सिपलाई श्रमसँग’ र ‘श्रमलाई उत्पादनसँग’ जोडेर सिप नहुनेलाई सिपयुक्त बनाउनु, सिप भएकालाई रोजगार तथा स्वरोजगार बनाउनु, रोजगारमा भएका तर सिप नभएकाहरूको व्यावसायिक स्तर वृद्धि गराएर आयमा वृद्धि गराउनु तालिम सञ्चालनको मुख्य उद्देश्य रहेको छ।
ताजा अपडेट

भारतले सुरु गर्यो पाकिस्तानमाथि आक्रमण
