कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो

कतारले साउदी अरेबियालाई हराएपछि नेपाल समुह विजेता बन्यो Photo : ACC

काठमाडौँ। एसीसी प्रिमियर कप अन्तर्गत कतारले साउदी अरेबियालाई पराजित गरेको छ। मंगलबार सम्पन्न समुह ए अन्तर्गतको खेलमा कतारले साउदी अरेबियालाई १५ रनले पराजित गरेको हो।

कतारले दिएको १५४ रनको लक्ष्य पछाएको साउदी अरेबियाले २० ओभरमा ८ विकेट गुमाउदै १३८ रन मात्र बनाएपछि कतारले खेल १५ रनले जितेको हो।

यसअघि कतारले २० ओभरमा ९ विकेट गुमाउदै १५३ रन बनाएको थियो।

यो जितपछि कतारको ४ खेलमा ४ अंक भएको छ र समुह ए मा दोस्रो स्थानमा उक्लिएको छ। त्यस्तै साउदी अरेबियाको भने ३ खेलमा २ अंक रहेको छ।

त्यस्तै समुह ए मा यो खेलपछि ३ खेलमा ६ अंकसहित शिर्ष स्थानमा रहेको नेपाल समुह बिजेता बनेको छ। नेपाल आफ्नो अन्तिम खेल अघि नै समुह विजेता बनेको हो । अब नेपालले समुह चरणको अन्तिम खेलमा बुधबार साउदी अरेबियासँग खेल्दै छ।

त्यस्तै सेमिफाइनलमा पुगिसकेको नेपालले सेमिफाइनलमा समुह बी को उपविजेतासँग खेल्ने निश्चित भएको छ। त्यसैगरी समुह ए बाट सेमिफाइनलमा पुग्ने अर्को देशको टुंगो भने अब अन्तिम खेलहरुबाट लाग्ने छ।