पहिलो खेलमा नेपालले गर्‍यो मलेसियालाई ५ विकेटले पराजित

पहिलो खेलमा नेपालले गर्‍यो मलेसियालाई ५ विकेटले पराजित

काठमाडौँ। नेपालले एसीसी प्रिमियर कपमा विजयी शुरुवात गरेको छ। नेपालले पहिलो खेलमा मलेसियालाई ५ विकेटले पराजित गर्दै विजयी शुरुवात गरेको हो।

मलेसियाले दिएको १४४ रनको लक्ष्य पछाएको नेपालले १९.२ ओभरमा ५ विकेट गुमाउदै लक्ष्य पुरा गरेको थियो।

नेपालका लागि आसिफ सेखले ३२, कप्तान रोहित पौडेलले २८, कुशल भुर्तेलले २४, गुलशन झाले अविजित १९ र सन्दीप जोराले अविजित १२ रन बनाएका थिए।

यसअघि टस जितेर पहिला ब्याटिंग गरेको मलेसियाले २० ओभरमा ३ विकेट गुमाउदै १४३ रन बनाएको थियो।

मलेसियाका लागि कप्तान भिरनदीप सिंहले सर्बाधिक ६८ रन बनाए भने शर्विन मुनियान्डीले ४१ रन बनाएका थिए। त्यस्तै मुहमद अमिरले १६ रन बनाएका थिए।

नेपाली बलर दिपेन्द्र सिंह ऐरीले २ विकेट लिए भने अविनाश बोहोराले एक विकेट लिएका थिए।

यो जितपछि नेपालले समुह ए मा २ अंक हासिल गरेको छ। अब नेपालले दोस्रो खेल शनिबार कतारसँग खेल्ने छ।