कतारका राजा नेपाल भ्रमणमा आउँदै, महत्वपूर्ण सम्झौता हुने

कतारका राजा नेपाल भ्रमणमा आउँदै, महत्वपूर्ण सम्झौता हुने

काठमाडौं । कतारका अमिर शेख तमिम बिन हमाद अल थानी २ दिने नेपाल भ्रमणमा आउने भएका छन्।

सरकारी स्रोतका अनुसार कतारका अमिर बैशाख १२ गते आएर १३ गते फर्केने निश्चित भएको छ।

केही दिनभित्रमा यसको औपचारिक घोषणा हुने स्रोतले जानकारी दियो।

सरकारले गर्न लागेको लगानी सम्मेलन अगाडि कतारका अमिरको नेपाल भ्रमण हुन लागेको हो।

यसअघि अमिरको भ्रमण कात्तिक २० र २१ मा हुने निश्चित भएपछि इजरायल र हमासबीच भएको संघर्षको कारण रोकिएको थियो।

नेपालले अमिरको भ्रमणको क्रममा दुईवटा हात्ति कतार सरकारलाई उपहार दिने भएको छ।

यसको लागि हात्तिको छावा छनोट भएको र छावालाई कतारमा राखिने स्थलको बारेमा समेत टुंगो लागिसकेको छ।

सन् १९७७ मा नेपाल र कतारबीच कूटनीतिक सम्बन्ध भएपछि कतारी पक्षबाट हुन लागेको पहिलो उच्चस्तरीय भ्रमण हो।

नेपालको तर्फबाट भने पूर्व राष्ट्रपतिहरु रामवरण यादव,विद्यादेवी भण्डारी र राजाको पालामा राजा विरेन्द्र तत्कालिन प्रधानमन्त्री गिरिजाप्रसाद कोइरालाले कतारको भ्रमण गरेका थिए।

नेपालले कतारको अमिरको भ्रमणको क्रममा ‘कतार फन्ड फर डेभलपमेन्ट’बाट लगानी तथा सहयोगको अपेक्षा गरेको छ।

केही जलविद्युत् आयोजनामा कतारको इच्छा रहेको छ।

नेपालले पोखरा र भैरहवा अन्तर्राष्ट्रिय विमानस्थलबाट कतारसम्मको उडान गर्ने प्रस्ताव राख्ने छ।

नेपाली युवाहरुको प्रमुख श्रम गन्तव्यको देशमा कतार रहेको छ। कतारसँग श्रम सम्झौताको समेत तयारी भएको छ।