एनआरएनएको नवीकरण प्रक्रियामा सरकार

एनआरएनएको नवीकरण प्रक्रियामा सरकार

काठमाडौं। परराष्ट्र मन्त्रालयले गैरआवासीय नेपाली संघ (एनआरएनए) को नवीकरण गर्ने प्रक्रिया सुरु गरेको छ।

परराष्ट्र मन्त्रालयमा दर्ता भएको संघको हरेक १० वर्षमा नवीकरण गर्नुपर्ने प्रावधान छ। सन् २०१३ मा परराष्ट्रमा दर्ता भएको संघको नवीकरण गत कात्तिकमै गर्नुपर्ने थियो।

तर, गत अक्टोबरमा भएको चुनावमा पराजित भएका उम्मेदवारहरूले समानान्तर कमिटी बनाएसँगै परराष्ट्रले नवीकरण समेत रोकेको थियो।

चुनावमा कतारका राजेन्द्र कुमार शर्मा र जापानका महेश श्रेष्ठलाई हराउँदै रसियाका डा. बद्री केसीले नेतृत्वमा बाजी मारेका थिए।

तर, उनीमाथि धाँधली गरेर चुनाव जितेको आरोप लगाउँदै शर्मा र श्रेष्ठले बेग्लै कार्यसमिति बनाएका थिए।

चुनाव हारिसकेपछि बनेको माओवादी, कांग्रेसबीचको एनआरएनए गठबन्धनलाई तत्कालीन सरकारले समेत समर्थन गर्दै परराष्ट्रले नवीकरण समेत रोकेपछि डा. केसीले अदालत गुहारेका थिए। उच्च अदालत पाटनले समेत एक महिनाभित्र नवीकरण गर्न आदेश दिइसकेको छ।

नेपालको सत्ता समीकरण फेरिएसँगै संघभित्र देखिएको चुनावी विवाद यत्तिकै साम्य हुने भएको छ। सरकार फेरबदल भएसँगै परराष्ट्रमन्त्री नारायणकाजी श्रेष्ठ र संघका अध्यक्ष डा. केसीबीच दुई पटक भेटवार्ता भइसकेको छ।

एनआरएनए निर्वाचनका विषयमा तत्कालीन मन्त्रीपरिषद्ले गठन गरेको छानबिन समितिले सरकारलाई प्रतिवेदन बुझाइसकेको छ। स्रोतका अनुसार समितिले निर्वाचनमा धाँधली भएको भन्ने आरोप पुष्टि गर्ने कुनै ठोस प्रमाण फेला पारेको छैन।

‘पहिला सीआइबीले तयार गरेको आधारमा प्रतिवेदन बनाइएको छ। निर्वाचनमा धाँधली भएको कुनै आधार छैन। सायद यो रिपोर्ट सरकारले बाहिर पनि ल्याउँदैन,’ सरकारी स्रोतले भन्यो।

शनिवार भएको दोस्रो भेटमा श्रेष्ठले नेपाल सरकार गैरआवासीय नेपालीहरुसँग मिलेर काम गर्न उत्साहित रहेको बताउँदै संघको नवीकरण प्रक्रियामै रहेको बताएका थिए।

अध्यक्ष डा. केसीले मन्त्रीमण्डलको पुर्नरगठन पछि संघको निर्वाचित कार्यसमितिलाई सहज रुपमा काम गर्ने वतावतरण बन्दै गएको भन्दै मन्त्री श्रेष्ठलाई धन्यवाद दिए।

मन्त्री श्रेष्ठले गैरआवासीय नेपालीलाई मिलेर अघि बढ्न डा. केसीलाई आग्रह गरेका थिए। असन्तुष्ट पक्षलाई पनि साथमा लिएर अघि बढ्न उनले सुझाव दिएका थिए।

‘मन्त्री ज्यूले मिलेर जानुहोस् भन्नु भयो। साथिहरूलाई पनि समेटेर अभियानलाई बलियो बनाउनुपर्छ भन्ने सुझाव दिनुभएको थियो,’ डा. केसीले प्रवास खबरसँग भने, ‘छलफलका लागि त हामी सधैं तयार नै छौँ। मैले त पटक-पटक पत्र काटेर आरकेजी र महेशजीलाई बोलाएकै हो। उहाँहरू टेबलमा आउनु पर्‍यो म त जतिबेला पनि तयार नै छु। मन्त्रीज्यूलाई सबै थाहा नै छ। उहाँले पनि बुझ्नु भएको छ सबै कुरा।’

अप्रिलसम्म सबै कुरा टुंगिएर संघको अभियान अझ शसक्त ढंगले अघि बढ्ने दावी डा. केसीको छ।

यो पनि पढ्नुहोस्

फेरिएको सत्ता समीकरण : एनआरएनएको निर्वाचित नेतृत्वसँग सरकारको सहकार्य