मलेसियादेखि म्यान्मारसम्म : ‘ठगीबाहेक केही पाइएन’

मलेसियादेखि म्यान्मारसम्म : ‘ठगीबाहेक केही पाइएन’

काठमाडाैँ। म २९ वर्षको भएँ। इलाम नगरपालिका–८ लालखोलामा जन्मिएको हुँ। राहदानी यही ठेगानामा बनेको छ। तर हाम्रो घर शिवसतासी–१० सरदारे, माइधार झापामा छ।

पछिल्लो पटक २०२१ फेब्रुअरीमा गाउँकै एक जना आफन्तका माध्यमबाट भिजिट भिसामा दुबई पुगेँ। त्यहाँ ‘सेफलाइन’ भन्ने इलेक्ट्रोनिक गुड्सको ट्रेडिङ कम्पनीको वेयर हाउसमा हेल्परको काम गर्ने भन्ने थियो। तर सोचे जस्तो काम नभएपछि, शारजहाँको अल खानस्थित लौ लोआ नामको बिच रिसोर्टमा मासिक ८५० दिराममा ६ महिना काम गरेँ। त्यसपछि कफी शपमा काम गरिरहेको थिएँ।

त्यही बेला ‘जब भ्याकेन्सी’ हेर्दै आवेदन गरिरहेको पनि थिएँ। त्यसैबेला रुचनसँग सम्पर्क भयो र, ‘अनलाइन कस्टमर सेल्स सर्भिस’मा काम गर्ने भनेर म्यान्मार पुगेँ।

दुबई जानुअघि म सन् २०१८ मा बिर्तामोडस्थित पायोनियर ओभरसिजका वीरेन्द्र थापा मार्फत कतार गएको थिएँ। जाँदा तालेब मोटर्समा सेल्सम्यानको काम गर्ने, खाने–बस्ने सुविधा, तलब १२०० र ओभरटाइम ३०० कतारी रियाल दिने भनिएको थियो। तर, खानाको पैसा आफैंले दिनुपर्ने र मासिक ९०० कतारी रियाल मात्रै दिएपछि तीन महिनामै फर्कें।

फर्केर आएपछि वैदेशिक रोजगार विभागमा उजुरी गरेँ। पछि अख्तियारमा पनि उजुरी गरेपछि विभागले कारबाही अघि बढाएको त भन्यो तर अहिलेसम्म पनि मेरो लगानीको १ लाख २० हजार फिर्ता पाएको छैन।

सन् २०१२ मा वैदेशिक रोजगारको सिलसिलामा पहिलो पटक १९ वर्षको उमेरमै मलेशिया गएको हुँ। त्यहाँ इपोह राज्यको पेराक भन्ने स्थानमा वेटर र बारटेण्डरको काम ठिकै थियो। तीन वर्ष बसेर आएँ।

सन् २०१५ मा फर्केर आएपछि त्रिपुरेश्वरमा काठमाडौं विश्वविद्यालयले बनाउँदै गरेको भवन निर्माणमा खटिएका कामदारका लागि खोलिएको क्यान्टिनमा ६ महिना जति काम गरेँ। पछि नयाँ बसपार्कस्थित होटल लाइको नेपालमा एक वर्ष काम गरेँ। तर खासै प्रगति नभएपछि झापा नै फर्किएँ।

झापामा कोरियाली भाषा सिक्दै सिकर्मीको काम गरेर बसेँ। पछि भाइको साथी, काठमाडौंका सहदेव वैद्यको सल्लाहमा सन् २०१७ मा भारतको बनारसमा कपडा फ्याक्ट्रीमा काम गर्न गएँ। तर, त्यहाँ त ‘मल्टिलेभल मार्केटिङ’को काम गर्नुपर्ने भयो। जसमा आफैंले पनि ३ लाख लगानी गर्नुपर्ने भनियो। राम्रै होला भनेर लगानी पनि गरेँ। तर, त्यो पनि ठगी रहेछ। काठमाडौं आएर सहदेव विरुद्ध सीआईबीमा उजुरी गरेँ, सन् २०१८ को शुरूमा। तर कारबाही केही भएन।

केही समय देशमै बसेँ। अनि साेचेँ– यहाँ बसेर केही त हुँदैन। फेरि खाडीतिरै हानिए। दुबईको ओरेन्टल कफी शपमा ‘वरिष्टा कफी एण्ड फ्रुट डेकोरेटर’मा काम गर्थे। दैनिक १० घण्टा खट्थे, काम राम्रै चलिरहेकाे थियाे। त्यहाँ मैले मासिक २८३० दिराम (१ लाखभन्दा बढी) तलब बुझ्थेँ।

सन् २०१२ देखि विदेश जान शुरू गरेँ मैले। मलेशिया, कतार हुँदै पछिल्लो पटक यूएई पुगेँ। भिजिट भिसामा दुबई पुगेकाले नयाँ काम र गन्तव्यको खोजी मेराे प्राथमिकतामा थियो।

यही प्राथमिकता पछ्याउँदा–पछ्याउँदै मानवतस्कर हुँदै खुँखार चिनियाँ ‘साइबर आपराधिक समूह’को चंगुलमा परेँ। त्यो पनि दुबईबाट निकै टाढा, म्यान्मारको अनकन्टार ठाउँमा।

वैदेशिक रोजगारको सिलसिलामा मलेसियादेखि म्यान्मारसम्म चहार्दा ठगी मात्र व्यहोरेको छु। तर, पनि मेरो अबको गन्तव्य विदेश नै हो। यहाँ बसेर केही होला भन्ने लाग्दैन। भाइ विदेशमै छ, आमा पनि कुवेतमा हुनुहुन्छ। म यता बसेर के गर्ने ? कोरियाली भाषा सिकिसकेको छु, अब त्यतैको ट्राई गर्ने विचार गरेको छु।

०००

(लिवाङ म्यान्मारकाे विद्रोही नियन्त्रित जातीय राज्यबाट ठगिएर स्वदेश फर्किएका युवा हुन्।)



No ads found for this position