सोनाम लामाको नेतृत्वमा शेष घलेले खोले एनआरएनएजस्तै अर्को संस्था

सोनाम लामाको नेतृत्वमा शेष घलेले खोले एनआरएनएजस्तै अर्को संस्था

काठमाडौं। गैरआवासीय नेपाली संघ (एनआरएनए) का पूर्वअध्यक्ष शेष घलेले एनआरएनएजस्तै अर्को संस्था खोलेका छन्।

घलेले आफू निकटका सोनाम लामाको नेतृत्वमा एनआरएनएजस्तै संस्था दर्ता गराएका हुन्।

संघका पूर्व उपाध्यक्ष समेत रहेका अमेरिका निवासी लामाले ‘युनाइटेड नेपाली डायस्पोरा संगठन’ (यूएनडिओ) संस्था दर्ता गराएका हुन्।

१० औं महाधिवेशनमा घलेले संघमा असन्तुष्टि जनाउँदै आफू निकटका केही व्यक्तिहरूलाई साथमा लिएर एनआरएनएकै नाममा समानान्तर गतिविधि सञ्चालन गर्दै आएका थिए।

घले समूहले विधान बमोजिम महाधिवेशन गराएको दाबी गर्दै आफूहरूले नै आधिकारिकता पाउनुपर्ने माग गर्दै आएका थिए। घलेका एक विश्वासपात्र जर्मनी निवासी दिपेश खत्रीले यही माग गर्दै पाटन उच्च अदालतमा रिट दायर गरेका थिए। तर, १४ माघमा भएको सुनुवाइमा अदालतले खत्रीले माग दाबी गरेबमोजिम अन्तरिम आदेश दिन अस्वीकार गरेको थियो।

यो आदेश लगत्तै घलले छुट्टै संस्था दर्ता गराएका हुन्।

२९ पुस २०८० मा परराष्ट्र मन्त्रीस्तरीय निर्णयअनुसार गैरआवासीय नेपाली सम्बन्धी ऐन २०६४ तथा गैरआवासीय नेपाली सम्बन्धी नियमावली २०६६ बमोजिम यूएनडिओ दर्ता गरी प्रमाणपत्र प्रदान गरिएको हो।

त्यसो त लामाले गतवर्ष यही संस्था दर्ता गर्न परराष्ट्र मन्त्रालयमा निवेदन दिएका थिए। तर, पराराष्ट्रले छुट्टै संस्था दर्ता गर्न अस्विकार गरेपछि उनी गत साउनमा सर्वोच्च पुगेका थिए।

सर्वोच्चका न्यायाधीशद्वय आनन्दमोहन भट्टराई र तीलप्रसाद श्रेष्ठको संयुक्त इजलासले यूएनडीओ जस्तै अन्य संस्था दर्ताका लागि बाटो फुकाएको थियो।

यो पनि पढ्नुहोस्

शेष घलेको नेतृत्वमा एनआरएनए फुटाउने तयारी !