मणिपुरमा चेपुवामा छन् नेपालभाषी

मणिपुरमा चेपुवामा छन् नेपालभाषी

काठमाडौं। हिंसाग्रस्त मणिपुरबाट डरै–डरको पहाड बोकेर सोमबार साँझ काठमाडौँ आइपुगे– मणिराम। श्रीमती गोमा र जेठो नाती विक्रमसहित पूर्वी नाका काँकडभिट्टा हुँदै काठमाडौँ भित्रिएका उनी थकित र चिन्तित छन्।

मणिपुर तीन महिनादेखि जलिरहेको छ। चारैतिर दंगा छ। रैथाने मैतेई र अल्पसंख्यक कुकी समुदाय इम्फालदेखि पहाडसम्मै भिडिरहेको छ। र, साम्प्रदायिक हिंसाको रापमा पिल्सिएका छन्, ‘भारतीय नेपाली गोर्खा।’

‘हामीहरू तोरीबारीबाट आएका हौं। हाम्रो राज्य जलिरहेको छ। कुकी र मणिपुरेहरूले दंगा मच्चाएका छन्। हामी नेपालीलाई हिंसाले नछोएपनि गाउँ–घरको अवस्था डरलाग्दो छ,’ मणिरामले भने।

मणिपुरमा दिन प्रतिदिन ‘एकपछि अर्को अमानवीय घटना’ थपिँदै–जाँदा त्रासै–त्रासमा बाँचिरहेका छन्, नेपाली मूलका भारतीय। जातीय हिंसाले गाउँ–टोलसम्मै हिंसा फैलाएपछि थातथलो छाड्न बाध्य भएको बताउँछन् उनी।

‘डरलाग्दो’ दंगा छिचोल्दै मणिपुरको तोरीबारी, असमको तेजपुर–सिलगुढी हुँदै पुर्ख्याैली भूमि नेपाल आइपुगेका उनी ‘कुकी–मैतेई’ र नेपाली समाजको ‘मणिपुरे कथा’ सुनाउँछन्। आफूले देखेर–भोगेर आएको क्रूर हिंसाबारे लहरो तन्काउन खोज्छन् तर मौन हुन्छन्, ५८ वर्षीय मणिराम।

जलिरहेको मणिपुर बिर्सिएर ‘चैनकाे सास फेर्न’ नेपाल आउने उनी एक्ला व्यक्ति होइनन्, उनीजस्ता दर्जनौँ ‘मणिराम’हरू यतिबेला पूर्वी–नेपालदेखि काठमाडौँसम्म छरिँदैछन्। दोस्रो विश्व–युद्धताका नेपालतिरै छुटेका परिवारका सदस्य र आफन्त खोज्दैछन् उनीहरू।

दुई महिनायता कैयन नेपालीहरू ‘मणिपुरमा शान्तिको कामना’ गर्दै नेपाल भित्रिएको सीमा क्षेत्रको सुरक्षामा खटिएका अधिकारीहरूले जनाएका छन्। उनीहरू भारतीय आधारकार्ड देखाएर आश्रयस्थल र नानीबाबुहरूका लागि स्कुल खोज्दै खुला सीमा पार गर्छन्। कतिपय नेपालीभाषीहरू मेचीपारि भारततिरै छन्।

‘काँकडभिट्टा चहलपहल भइरहने सीमानाका हो। यो रुटमा प्रायः भारतीय र नेपालीहरू नै आउने–जाने गर्छन्। हिजोआज मणिपुर र आसामका नेपालीहरू बढेका छन्, फर्किनेहरूको संख्या थोरै छ,’ ती सरकारी अधिकारीले भने, ‘तर कसैले पनि मणिपुरमा बस्न नसकेर आएका हौँ भनेका छैनन्। मेरो ख्यालमा उनीहरूको समस्या भनेकै मणिपुरको हिंसा हो।’

मणिपुर हिंसाको भुङ्ग्रोले नेपालीभाषीको दैनिकी पनि बिथोलेको छ। नयाँपुस्ताको भविष्यको चिन्ताले उनीहरूलाई पिरोलिरहेको छ। दुबै पक्षको चेपुवामा पर्ने भयले तर्साइरहेको छ। त्यसो त एकताका भरिभराउ मणिपुरका नेपाली गाउँबस्ती एक दशकअघिदेखि रित्तिँदै गइरहेका छन्।

बेलाबखतको थिचिमिचो र ‘मैतेई आतंक’ले नेपालीभाषीहरू कहाँ–कहाँसम्म गएनन् !

भारतीयहरू आधारकार्ड वा रासनकार्डको भरमा सहजै छिर्छन् नेपाल। र, मणिपुर, आसाम, मेघालय वा सबै भारतीय राज्यका नेपालीभाषी वा अन्य भारतीय नागरिकको तरिका पनि त्यही हो। कतिपय नेपालीभाषीहरू म्यान्मारसमेत पुगेका छन्।

मणिपुरबाट ‘भारतीय गोर्खा’ समाजको पंक्ति समात्दै काठमाडौँस्थित ‘माइली दिदी’कहाँ आइपुगेका मणिरामले भने, ‘तीन दिन असमको तेजपुरमा बस्यौँ, त्यहाँ कान्छी बहिनीको घर छ। त्यसपछि सिलगुढीबाट काँकडभिट्टा आयौँ। अनि काठमाण्डू आइयो, यहाँ माइली दिदीको घर छ।’

मणिरामको एउटै चिन्ता– छोरातर्फको जेठो नाती विक्रमको पढाइ बिग्रियो। अब नातीलाई नेपालमै पढाउन चाहन्छन् उनी। कक्षा सात पढ्दै गरेका विक्रम मणिपुर हिंसाले त्रसित छन्। उनी स्कूल जान मान्दैनन्। विक्रमका बुबा, आमा र सानो भाइ बैङ्ग्लोरमै बस्छन्।

जातीय दंगाले मणिपुरका जनताको सपनाहरू नराम्रो उडाइरहेको बताउँछन्, मणिराम। उनी साहित्यकार हुन्, बेलाबेला कविता, कथा र निबन्ध लेख्छन्। तर, वास्तविक पहिचान लुकाउन आग्रह गर्छन्।

र, मणिपुरका सबै नेपालीभाषीहरू अहिले चर्किरहेको हिंसाबारे बोल्न, लेख्न र आफ्नो नाम–ठेगाना दिन डराउँछन्। ‘नेपाल आउँदा ढुक्कसित बोलेर मात्र भएन नि हजुर! फेरि फर्केर जाने त मणिपुरै हो। अब धेरै नबोलौँ होला,’ उनी ठट्यौली शैलीमा भन्छन्।

दुबैतिरको चेपुवामा नेपालभाषी

मूलतः कुकी र मैतेईबीच हिंसात्मक द्वन्द्व फैलिएपनि सानो संख्यामा रहेका गोर्खासमेत त्यसको मारमा छन्। कृषि र व्यापारमा रमाइरहेका नेपालीभाषीको तीन महिनादेखि व्यापार ठप्प छ। गाडी–घोडा चल्दैनन्। खेतबारीमा उब्जिएका वस्तुभाउ बिक्दैनन्। एकातिर हिंसा, अर्कातिर परिवार पाल्नै मुस्किल छ।

मणिपुर अन्धकारमय छ। ठाउँ–ठाउँमा झडप भइरहेको छ। मणिपुरका स्थानीयबासी हिंसा छल्न भागिरहेका छन्। भाग्दा–भाग्दै मरिरहेका छन्। मैतेई र कुकीहरू एकअर्कालाई देख्न सक्दैनन्, देख्यो कि हत्या–हिंसामा उत्रिहाल्छन्।

दुबै समुदायको बीच–बीचमा बाँचिरहेका नेपालीभाषीहरू दुबैतिरको चेपुवामा छन्। मौन हुँदासमेत बेलाबेला मैतेई र कुकी समुदायकै धम्की खान्छन्। मणिपुरको चुराचाँदपुर, काङोकपी, टेंनौपाल, थौबल, कमजोङ र चन्देलमा हिंसाले बिकराल रुप लिइरहेको छ। यी क्षेत्रमा नेपालीभाषीहरू कमै छन् अनि चुपचाप छन्।

दुईतिरबाट चेपिँदा नेपालीभाषीहरू गाउँ–गाउँबाट निस्किँदै छन्। मणिपुरमा गरिखाने बाटो बन्द हुँदै गएपछि मानिसहरू अहिले बेग्लोर, मुम्बई र दिल्लीतिर पलायन भइरहेको बताउँछन् काङ्लातोम्बीका युवा साहित्यकार सुरज चापागाईं।

सन् २०११ को जनगणनाअनुसार मणिपुरमा लगभग ७० हजार नेपालीभाषीहरू इम्फालदेखि पहाडसम्मै छन्। खासगरी, दुईसय वर्षअघि नेपालबाट मणिपुर वा नेपाल, बर्मा हुँदै फेरि मणिपुर गएका नेपालीभाषीहरू मणिपुरको काङ्लातोम्बी, काङ्पोक्पी, तोरीबारी, मुकुली, चन्द्रमान, कालापहाड, सेतीखोला, नुनपानीमा फैलिएका छन्।

‘सबैभन्दा धेरै हिंसा चुराचाँदपुरमा छ। त्यहाँ थोरै मात्रामा नेपाली छन् तर उनीहरू सबै सुरक्षित छन्। मणिपुरमा नेट छैन। व्यापार ठप्प छ। मानिसहरू धमाधम गाउँ छाड्दै अर्को सहरमा गइरहेका छन्। भोलिका लागि खासै राम्रो छैन,’ सुरजले भने।

मणिपुरको जातीय द्वन्द्व विस्तारै ‘इम्फाल उपत्यका जलाएर’ पहाडतिर सल्किँदैछ। उकालोलाग्दो जातीय द्वन्द्वले नेपाली समाजको भविष्यलाई थप गिजोलिरहेको छ।

मणिपुरका नेपालीहरू यतिबेला आफ्नै धुनमा छन्। उनीहरू कुनै समुदायको समर्थन वा विरोधमा छैनन्। तर अहिले भड्किरहेको जातीय द्वन्द्वबाट परै बस्न चाहन्छन् नेपालीभाषी।

मणिपुरको इम्फाल उपत्यका वरपर साम्प्रदायिक हिंसा भूसको आगो सरी फैलिएपछि कतिपय पहाडी गाउँ भने शान्त छन्। समान जनसंख्या भएका वा ‘उपत्यका र पहाड’को सीमा छुट्याउने भेगका बस्ती–बस्तीबीच हिंसा मच्चिए पनि कुकी बाहुल्य वा मैतेई बाहुल्य गाउँहरू प्रायः शान्त रहेको नेपालीभाषीहरू बताउँछन्।

‘कालापहाड शान्त भएपनि माेबाइल–फाेन र नेट चलेकाे छैन। हाम्राेतिर मैतेईहरू छैनन्। कुकी, नागा र नेपालीहरू मिलेर बसिरहेका छौँ। त्यो हिंसा चाडै शान्त होस् भन्ने कामना छ,’ मणिपुरका साहित्यकार मुक्ति गौतमले भने।

जलिरहेको मणिपुर

मणिपुर रणभूमि बनेको छ। सशस्त्र जत्थाले गाउँबस्ती कब्जा गरेका छन्। बाटोछेउ र खेतबारीमा सुरुङ खनेका छन्। मन्दिर र गिर्जाघरहरू जलिरहेका छन्। सशस्त्र भीडले गाउँ–घरमा आगो लगाइरहेको छ। बजार सुनसान छ। सडकमा आगो दन्किरहेको छ। गोलाबारी भइरहेको छ।

भारतीय केन्द्रीय सरकारले हिंसा नियन्त्रणका लागि ५० हजारभन्दा बढी सुरक्षाकर्मी परिचालन गरेको छ। गत मे ३ देखि मणिपुरमा सुरु भएको हिंसामा १६० जनाभन्दा बढीको मृत्यु भइसकेको छ। हजारौँ मानिस विस्थापित भएका छन्।

राज्यमा रक्तपात मच्चिएको छ। रैथाले मैतेईले अल्पसंख्यक कुकीलाई जहाँ भेट्यो त्यही कुट्छन्। सामूहिक बलात्कार गर्छन्, टाउको काटेर बाँसको डन्डीमा झुन्ड्याउँछन्। राज्यसँग मिलेर मैतेईहरूले सबैलाई तर्साइरहेका छन्। त्यसो त मणिपुरले मानवता भुलिसकेको छ। मणिपुरमा जंगली राज चलिरहेको छ। राज्यसत्ता मौन छ।

मणिपुरका युवाहरू हातहतियार बोकेर युद्धमैदानमा उत्रिएका छन्। मणिपुरको गृहयुद्ध– अन्तरदेशीय युद्ध होइन, भाइभाइको युद्धको हो। कुकी र मैतेईको युद्धको हो। हिन्दू र ईशाईको युद्धको हो। पहाडी र उपत्यकाको युद्ध हो। खास अर्थमा भन्ने भने ‘भारतीय–भारतीय’ बीचको युद्ध हो।

जातीय द्वन्द्वबाट फैलिएको मणिपुर हिंसा धार्मिक हुँदै राजनीतिक राजमार्गमा फैलिँदै गएकोप्रति चिन्तित छन् युवा–पत्रकार वैभव पलनीटकर। उनी एक महिनादेखि मणिपुरमा छन्, ‘दैनिक भास्करका लागि मणिपुर हिंसा’को स्थलगत रिपोटिङमै छन्।

पत्रकार वैभव मणिपुर हिंसाको रापमा पिल्सिएका दर्जनौं पीडितहरूको दैलोसम्मै पुगेका छन्। उनीहरूको दैनिकी र ‘जलिरहेको समाज’ देखेर ‘लेखिरहेको कलम’ र ‘दृश्य कैद गरिरहेको क्यामेरा’ बन्द गर्न खोज्छन् तर आफ्नो कर्तव्यबाट बिमुख हुन सक्दैनन्, उनी।

‘मैले नग्न बनाएर हिँडाइएकी महिला र जिउँदै टाउको काटिएको युवाको परिवार कुराकानी गरेँ, त्यसपछि म निकै बिचल्लीत भएँ। तरपनि मेरो जमिनी रिपोर्टिङ गर्ने जिम्मेवारी थियो, मैले आफ्नो दायित्व पूरा गरेँ। अहिले पनि पीडितसँगै छु, मणिपुरको स्थलगत रिपोर्टिङ गरिरहेको छु,’ पत्रकार वैभवले भने।

वैभवले रिपोटिङ बेला २२ जुलाई, शनिबारका दिन– साँझ ६ बजेतिर। मैतेई र कुकी ‘एकाएक चलेको शसस्त्र लडाइँ’को भिडियो बंकरभित्र लुकेर कैद गरेको बताउँछन्। जातीय दंगाले मणिपुरको जनजीन नराम्रोसँग प्रभावित भइरहेको उनको भनाइ छ।

साम्प्रदायिक हिंसाबाट आक्रान्त मणिपुरे जनताहरू अहिले ‘आफूहरू राज्यविहीन भएको’ बताउँछन्। मणिपुर हिंसापछि झण्डै ७० हजार मानिस विस्थापित भएका छन्। उनीहरू स्थानीय शिविरमा आश्रय लिन बाध्य छन्। कतिपय राज्य र देशबाट भाग्दैछन्।

किन भिडिरहेछन् दुई समुदाय?

अशान्त मणिपुरको अनुमानित जनसंख्या ३३ लाख छ।

मणिपुरमा तीन समुदाय छन्– मैतेई, कुकी र नागा। मैतेईहरू प्रायः हिन्दू हुन्। मैतेई मुस्लिमसमेत छन्। कुकी र नागाहरू सबै ईसाई हुन्। त्यसमध्ये आधाभन्दा बढी मैतेई समुदायका मानिस हुन्। कुकी र नागा समुदाय दुबै जोड्दा ४३ प्रतिशत पुग्छ।

राजनीतिक प्रतिनिधित्व– मणिपुरका कुल ६० विधायकमध्ये ४० जना विधायक मैतेई समुदायका छन्। बाँकी २० जना कुकी र नागा आदिवासीबाट प्रतिनिधित्व गर्छन्। मणिपुरमा ३३ वटा जातीय समुदायको बसोबास रहेको बताउँछन्, काङ्लातोम्बीका युवा साहित्यकार सुरज चापागाईं।

मणिपुरको फ्रेमभित्र अटाएका नेपालीभाषीहरूको गर्वलाग्दो इतिहास छ। सबैसँग मिलेर बस्ने जातिका रुपमा चिनिन्छन् उनीहरू। तर साम्प्रदायिक हिंसाले चारैतिर विष छरिरहेको छ। ‘राज्यमा विविधता छ। तर एकता छैन,’ उनले भने। मैतेई, कुकी र नागा एकअर्का र राज्य–सत्तासँग लडिरहेका छन्।

मणिपुरमा मे महिनामा ठूलो हिंसा भड्कियो। मैतेई समुदायले आफूलाई पनि जनजातिको मान्यता दिनुपर्ने माग राखेपछि कुकी समुदायले त्यसको विरोध गर्दा तनाव चर्किएको थियो।

फैलिँदो हिंसाले सबै जाति, सबै धर्म र सबै वर्गलाई तहसनहस बनाउँदै लगेको छ। एउटा जातिले अर्को जातिलाई घृणाले हेर्दा मणिपुरको समाज विभाजित छ। द्वन्द्वयता मानिसहरूले चैनको सास लिन सकेका छैनन्। जलिरहेको मणिपुरभित्र अमानवीय र क्रूर हिंसाको सिकार भइरहेका छन्, युवती।