जो दुईवर्षे छोरा पिठ्युँमा बोकेर हिँडेरै अमेरिका पुगिन्

जो दुईवर्षे छोरा पिठ्युँमा बोकेर हिँडेरै अमेरिका पुगिन्

काठमाडाैँ। तैबाले अनेकाैँ काण्डमा मुच्छिएका कयन् अपराधीहरूलाई जेल पठाएकी थिइन्। अगफगानिस्तानमा तालिबान फर्किएपछि ती मानिसहरूले उनलाई कुना–कुना पुगेर खोजिरहे।

अमेरिकी सेना अफगानिस्तानबाट भागेपछि तालिबानले देशभरि छापा मार्न थाल्याे। अराजकता मच्चाइरह्याे। आफूलाई पटकपटक ज्यान मार्ने धम्की आएको तैबा बताउँछिन्। काबुल अशान्त बन्दैगर्दा जेलका ढोकाहरू खुले र तैबाले जेल पठाएका बलात्कारी र दुर्व्यवहार गर्नेहरू जेलमुक्त भए।

तिमी जहाँ भएपनि तिमीलाई पत्ता लगाएर मार्ने छौँ,’ तालिबानीहरूले फाेन गरेर रिसाउँदै धम्काउन थाले।

तैबाको सम्पूर्ण जीवन अमेरिकाले देखाएको प्रजातान्त्रिक अफगानिस्तानको सपनामा आधारित थियो। उनले कानून अध्ययन गरेकी थिइन्। महिला हिंसाविरूद्ध लड्न अमेरिकीसँग मिसिएर शीर्ष सरकारी अधिकारीसमेत बन्न पुगेकी थिइन्, उनी। सोही क्रममा उनले सयौं बलात्कारी र दुर्व्यवहार गर्नेहरूलाई जेलसमेत पठाइन्।

धेरै अफगानी महिलाको ज्यान बचाइन्, तैबाले। अधिकार प्राप्तिका पटकपटक लागि लडिन्। पीडितलाई न्याय दिएरै छाडिन्। तर उनी एक्कासी एक्लिइन्। अनि आफ्नो ज्यान बचाउनतिर लागिन्।

तैबा र उनका श्रीमानले ‘कोलम्बिया–पानामा’काे डरलाग्दाे ‘डारिएन ग्याप’काे जंगल पनि काटिसके। उनीहरू अमेरिकी सपना बाेकेर कैयाैँ दिन पहाडी जंगलकाे बाटाे हिँडे। हिजाे अमेरिकलाई सबै सहयाेग गरिन् तर आज उनलाई अमेरिकाले कुनै सहयाेग गरेन।

एकदिन आफू अनुकूल रहेको अमेरिकी शरणार्थी कार्यक्रम फेला पारिन्। आफ्नो सबै जानकारी पठाउँदासमेत अमेरिकाले कुनै जवाफ नफर्काएकाे तैबाले गुनासो पोखिन्।

‘उनीहरूले हामीलाई पछि छोडे,’ अमेरिकीहरूलाई औँल्याउँदै भनिन्, ‘कहिलेकाहीँ त भगवानले सारा अफगानीलाई पछि छोडेको जस्तो लाग्छ।’

अन्ततः महिनौँसम्म हिँडेरै भएपनि तैबाले अमेरिका पुग्ने प्रयास गरिन्। श्रीमान र दुईवर्षे छोरा पिठ्यूँमा बाेकेर भागिन्, उनी।

पहिले पाकिस्तान, त्यसपछि कतार, कोलम्बिया–पानामा हुँदै मेक्सिकाे र संयुक्त राज्य अमेरिकातर्फ। अमेरिकी सपना बाेकेर हिँडिरहेकाे विशाल मानवज्वारमा सामेल हुँदै दक्षिण अमेरिका पुगिन्, उनी।

हजाराैँ किलोमीटरको यात्रा पछि तैबा र उनको परिवार अन्ततः अमेरिकी सीमा पुग्याे।

अन्धकारमा तैबा राजमार्गमुनि रहेको ढलको सुरूङ्गभित्र पसिन्। पल्लोपट्टी निस्कँदा उनले दुइटा ठूला स्टिलका बारहरू देखिन्। उनीसँग रहेको एक तस्करले पहिलो पर्खालमाथि भर्याङ ठड्याए।

तैबाले भर्याङ समातिन् र उनको जीवन परिभाषित गरेको देश अमेरिका तर्फ चढ्न थालिन्। अमेरिकीहरूले शरण खोज्नेहरूलाई फर्काउँदै गरेको कुरा उनलाई थाहा थियो। विस्तारै पाइला चाल्दै गर्दा उनको दिमागमा एउटा मात्रै सोच थियो।

भित्र पसेपछि बस्न पो दिने हुन् कि हैनन्?’

अवैध रूपमा अमेरिका जाने पदलयात्राको सबैभन्दा खतरनाक खण्डहरूमध्ये एक हाे– कोलम्बिया–पानामाकाे ‘डारिएन ग्याप’ जंगल। पानामाको एउटा तथ्यांकले भन्छ– सन् २०२२ को शुरूवातदेखि ३६०० भन्दा बढी अफगानीहरूले तैबाजस्तै पीडादायी मार्गमा यात्रा गरेका छन्।

तीमध्ये धेरैले अफगानिस्तानमा हुँदा वर्षौंदेखि पश्चिमाहरूसँग साझेदारी गरेका थिए। केही वकील थिए, केहि मानवअधिकारवादी, केही अफगान सरकारका सदस्य, र कतिपय सुरक्षा बलका सदस्य। उनीहरूले सबै पीडित छन्। अफगानी तालिबानले जलाइरहेकाे छ।

उनीहरू अमेरिकी सपना बाेकेर जंगलकाे बाटाे हिँडिरहेका छन्। मानवतस्करलाई घर–जग्गा बेचेकाे लाखाैँ पैसा सुम्पिएका छन्।

— एजेन्सीकाे सहयाेगमा