प्रधानमन्त्री भारत भ्रमणको तयारी तीब्र

प्रधानमन्त्री भारत भ्रमणको तयारी तीब्र File Photo

काठमाडौं। प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ को भारत भ्रमणका लागि तयारी थालिएको छ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका विषयमा तयारी गर्न परराष्ट्र मन्त्रालका अधिकारीहरू जुटेका हुन्।

तेस्रोपटक प्रधानमन्त्री नियुक्त भएपछि प्रचण्ड पहिलो विदेश भ्रमण भारतबाट गर्न लागेका छन्।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणका लागि नयाँ दिल्लीस्थित नेपाली राजदूतावास पनि सक्रिय भएको छ। भारतका लागि नेपालका राजदूत डा.शंकर शर्माले बिहीबार भारतका विदेशमन्त्री डा.एस.जयशंकरसँग भेटवार्ता गरेका छन्।

भ्रमणको सम्भावित मिति जेठ १७ देखि २० गतेसम्म तय भएको छ। तर, त्यसैमा भ्रमण तालिका मिलाउने वा अर्को मिति तय गर्ने भन्ने विषयमा दुवै देशका परराष्ट्र मन्त्रालयबीच आपसी समन्वय भइरहेको छ।

आसन्न भ्रमणलाई फलदायी बनाउने गरी भारतसमक्ष उठाइने कार्यसूचीका विषयमा पनि मन्त्रालयका पदाधिकारीसँगको छलफल लगभग सकिएको छ। यसको नेतृत्व परराष्ट्रमन्त्री एनपी साउदले गरेका छन्।

उनले अर्थ, गृह, ऊर्जा, भौतिक पूर्वाधार, पर्यटनलगायतका दुई पक्षीय परियोजनामा सम्वद्ध मन्त्रालयबाट आवश्यक कार्यसूचीको खाका संकलन गरेका छन्।

प्रधानमन्त्रीको आसन्न भ्रमणको तयारी अन्तिम चरणमा रहेको प्रधानमन्त्री प्रचण्डका प्रेस सल्लाहकार गोविन्द आचार्यले जानकारी दिए।

उनका अनुसार तयारीका क्रममा दुई देशबीचको एजेन्डालाई अन्तिम रूप दिने कार्य, भ्रमण टोलीमा सहभागी हुनेको नामावली तय गर्ने कार्यमा अन्तिम छलफल चलिरहेको छ।

भ्रमणको मिति तोक्ने सवालमा दुवै देशले एकै दिन एकै समयमा सार्वजनिक गर्ने नीतिअनुसार शनिबार घोषणा गर्ने तयारी भएको परराष्ट्र मन्त्रालयले जानकारी दिएको छ।

भ्रमणको कार्यसूचीमा दुई देशीय सम्बन्धमा महत्व राख्ने द्विपक्षीय तथा बहुपक्षीय साझेदारी र बहुआयामिक विषय रहेको मन्त्रालयले जनाएको छ।

सबै सरोकारवाला मन्त्रालयले दिएको कार्यसूचीलाई प्राथमिकीकरण गरेर कार्यसूची व्यवस्थित गरेपछि मन्त्रालयले औपचारिक जानकारी गर्ने तयारी छ।

प्रधानमन्त्री प्रचण्डको भारत भ्रमणमा ऊर्जासम्बन्धी विषयलाई महत्व दिइने बताइएको छ।

नेपाल–भारत सचिवस्तरीय संयुक्त निर्देशक समितिको १० औं बैठकले पारित गरेका मुख्य विषयले प्रधानमन्त्रीको भ्रमणमा स्थान पाउने छन्।

यो बैठकमा दुई देशबीचका मौजुदा प्रसारण लाइन, निर्माणाधीन तथा प्रस्तावित अन्तर्देशीय प्रसारण लाइन, अरूण–३ जलविद्युत तथा सम्बद्ध प्रसारण लाइन आयोजना, अन्तर्देशीय विद्युत आयात–निर्यातलगायतका विषयमा सहमति भएको थियो।

त्यसमध्ये नेपालबाट ५० मेगावाट विद्युत बंगलादेश निर्यात गर्ने सम्बन्धमा निश्चित आयोजनासहित नेपालले प्रस्ताव पेस गरेमा भारतको विद्युत आयात–निर्यात निर्देशकाबमोजिम भारतीय पक्ष स्वीकृति दिन सकारात्मक रहेको थियो।

त्रिदेशीय सम्बन्धको आयाम बोकेका यो विषय प्रधानमन्त्री प्रचण्डको भ्रमणमा पनि प्रमुख कार्यसूचीमा रहेको छ।