‘कन्फिडेन्ट’ आरजु, सम्पर्कविहीन मञ्जु

‘कन्फिडेन्ट’ आरजु, सम्पर्कविहीन मञ्जु

काठमाडौं। नक्कली भुटानी शरणार्थी प्रकरणमा नेपाली कांग्रेसका नेता एवं पूर्वगृहमन्त्री बालकृष्ण खाँण पक्राउ परेसँगै पत्नी मञ्जु खाँण एक्कासी सम्पर्कविहीन भइन्।

२७ वैशाखमा निवासबाटै पति बालकृष्णलाई प्रहरीले नियन्त्रणमा लिएपछि मञ्जुको फोन बन्द छ। फेसबुक डिएक्टिभ गरेर ब्हाट्सएप, भाइबर कहीँ छैनन्।

अनि सामाजिक सञ्जालहरूमा एउटा हाल्ला चल्यो कांग्रेस सभापति शेरबहादुर देउवापत्नी आरजु राणा देउवाको विषयमा– सिंगापुर फरार भइन्, भनेर।
सामाजिक सञ्जालका भित्ताहरू आरजु सिंगापुर फरार भएको खबरले पोतिइरहँदा धेरैले विश्वास पनि गरे।

किनभने केही दिनअघिमात्रै नक्कली भुटानी प्रकरणको गिरोहका एक सदस्य र ‘पीडित’ बीच भएको संवादको एउटा अडियो सार्वजनिक भएको थियो।

अडियोमा ‘मञ्जु र आरजु’ लाई ठूलै रकम दिएको चर्चा छ। रकम लेनदेनको अडियो सार्वजनिक भएका कारण सामाजिक सञ्जालहरूमा आएजस्तै आरजु फरार भएर सिंगापुर गएको हुनसक्ने धेरैले विश्वास गरे।

फरार भएको हल्ला चलिरहँदा आरजु कांग्रेस नेता अजय चौरसियाको छोराको विहेमा सरिक हुन वीरगञ्जमा थिइन्।

आफू फरार नभएर नेपालमै रहेको पुष्ट्याइँ गर्न आरजु विभिन्न कार्यक्रमहरूमा सहभागी भएको तस्बिरहरू सामाजिक सञ्जालमा पोष्ट्याइरहेकी थिइन्।

उनले बागमती प्रदेसको नीति तथा योजना आयोगले आयोजना गरेको एक कार्यक्रममा प्रमुख अतिथि भएर सहभागी भएको तस्बिर सामाजिक सञ्जालमा राखिन्।

त्यही दिन हेटौंडास्थित स्वदेशी मार्टको उदघाटन गरिरहेको तस्बिर पनि सामाजिक सञ्जालमा राखेकी थिइन्। र, सडकमार्गहुँदै हेटौंडाबाट काठमाण्डौं आइपुगेको बताएकी थिइन्।

सामाजिक सञ्जालमा एकपछि अर्को तस्बिर पोस्ट गर्नुपछाडि आरजुको मुख्य ध्येय–आफू फरार भएर सिंगापुर गएको प्रचारलाई मत्थर पार्नु थियो।

नक्कली शरणार्थी प्रकरणमा आफ्नो संलग्नतालाई अस्वीकार गर्दै आइरहेकी आरजु आफूलाई ‘कन्फिडेन्ट’ देखाउन हरसम्भव प्रयास गरिरहेकी छन्।

रकम लेनदेनसम्बन्धी सामाजिक सञ्जालमा सार्वजनिक भएको अडियोलाई ‘फेक’ भनेर यो कान्डबाट आफ्नो कुनै सरोकार नभएको पुष्ट्याइँ गर्ने प्रयासमा छिन्, आरजु।

आरजुले ‘बडिल्यांग्वेज’ बाट र केही सञ्चारमाध्यममा दिएको अन्तर्वार्तामा आफूलाई निर्दोष देखाउन प्रयास गरिरहे पनि पति शेरबहादुरलाई भने ‘तनाव’ र ‘छटपटी’ भएको छ।

खाँण मन्त्री भए पनि गृह मन्त्रालयमा रजगज चलाएकी आरजुमाथि अनुसन्धान हुन नदिन देउवाको दौडधुप छ।

प्रहरी अनुसन्धानमा कुनै अवस्थामा आरजुको नआउन दिने ध्याउन्नमा छन्, देउवा। यसका लागि उनले प्रधानमन्त्री र गृहमन्त्रीमात्रै होइन प्रहरी अधिकृतहरूलाई पनि पटकटक फोन गरिरहेका छन्।

पार्टीका केन्द्रीय सदस्यसमेत रहेका खाँण पक्राउ परेपछि उनलाई निलम्बन गर्न देउवामाथि दबाब आयो। बुधबार र बिहीबार बसेको पदाधिकारीहरूको बैठकमा कतिपय पदाधिकारीहरूले खाँणलाई निलम्बन गर्ने विषयमा सभापति देउवाको राय मागे।

देउवाको जवाफ थियो,‘मैले भनिसकेँ निलम्बन गर्नु हुँदैन। कतिपटक मैले भन्ने। अहिले निलम्बन गर्नू ठीक होइन।’

बैठक स्रोतका अनुसार पूर्वउपसभापति विमलेन्द्र निधिलगायतका अरू केही नेताहरू पनि खाँणलाई निलम्बन गर्न नहुने धारणा राखे।

यसअघि पनि पार्टीका नेताहरू भ्रष्टाचारलगायतका प्रकरणमा मुछिँदा निलम्बन नगरिएको तथ्य निधिले राखेका थिए।

‘चिरञ्जिी वाग्ले, खुमबहादुर खड्का, विजयकुमार गच्छेदार, आफताब आलमलगायतका नेताहरूमाथि अभियोग लाग्दा पार्टीले उहाँहरूलाई निलम्बन गरेन,’ निधिको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो,‘अनुसन्धान भइरहको छ, कुन कोर्स लिन्छ त्यही हिसाबले अगाडि बढ्दता उपयुक्त हुन्छ।’

सभापति देउवाले प्रहरी हिरासतमा रहेका खाँणलाई तारेखमा रिहा गराउन प्रयास गर्ने धारणा राखेका थिए। ‘निलम्बनतर्फ जानु हुँदैन, तारेखकमा कसरी रिहा गराउन सकिन्छ त्यतातिर सोचौं,’ उनको भनाइ उद्धृत गर्दै स्रोतले भन्यो।

तर, आइतबार काठमाडौं जिल्ला अदालतले खाँणलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको छ।

सरकारी वकिलको कार्यालयको प्रस्तावमा अदालतले खाँणसहित यो प्रकरणमा पक्राउ परेका सबैलाई थप चार दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अनुमति दिएको हो।

म्याद थपका लागि भएको बहसका क्रममा कतिपय आरोपितका कानुन व्यवसायीहरूले थुनामा नराखए हाजिर जमानीमा छाडेर अनुसन्धान गर्न सकिने भन्दै म्याद थप्न आवश्यक नरहेको जिकिर गरेका थिए।

तर, अदालतले अनुसन्धानका लागि थप चार दिन हिरासतमा राख्न अनुमति दियो।

तत्कालीन गृहमन्त्री खाँण थुनामा छँदा पत्नी मञ्जु सम्पर्कविहीन छन्। यहाँसम्म कि खाँण पक्राउ परेको पाँच दिन बितिसक्दा पनि उनी भेट गर्न पुगेकी छैनन्।

संसदकी सदस्यसमेत रहेकी मञ्जुसँग आफूमाथि कसैले गलत आरोप लगाउँदा जवाफ दिने शक्ति र प्लेटफर्म दुवै छ। उनी संसदमै आफूविरूद्ध लागेको आरोपको प्रतिवाद गर्न सक्षम छिन्।

तर, मञ्जुले मुख खोले आरजुको नाम आउने निश्चित भएको कांग्रेस सांसदहरूकै भनाइ छ। मञ्जु अनुसन्धानमा तानिए आरजुको नाम लिने निश्चितजस्तै भएको उनीहरू बताउँछन्।

यसको पछाडि उनीहरूको तर्क छ– गृहमन्त्री खाँण छँदा रजगज भने आरजुकै थियो।

त्यसो त कांग्रेस सत्तामा रहेका बेला गृहमा मात्रै होइन, स्वार्थ भएका सबै मन्त्रालयमा सचिव को राख्ने भन्नेबारे आरजुकै हस्तक्षेप बढी भएको गुनासो पहिलेदेखि नै छ।

कांग्रेस नेता निधि उपप्रधानसहित गृहमन्त्री छँदा उनको सहमतिविनै आरजुको रोजाइमा गृहसचिवमा लोकदर्शन रेग्मीलाई ल्याइएको चर्चा त्यो बेला चलेको थियो।

यसपालि पनि पहिलेको भन्दा फरक परिस्थिति थिएन। तर, देउवाको दह्रिलो साथ पाइरहेका खाँण भने पार्टी महाधिवेशन र जिल्ला अधिवेशनदेखि संसदीय दलको नेता चयनमा समेत राज्य प्रशासनको दुरूपयोगमा उत्रिएका थिए।

महाधिवेशनका बेला देउवाका प्रतिस्पर्धीहरूको रेकी गर्न सादापोशाकमा प्रहरी खटाए भने जिल्ला अधिवेशनका बेला धनुषा पुगेर डेरा नै जमाए।

संसदीय दलको नेतामा देउवाको प्रतिस्पर्धी बनेका गगन थापाको पिछा गर्दै लाजिम्पाटको होटल एम्बेस्डर पुगेका प्रहरीलाई कांग्रेस कार्यकर्ताले नै समातेका थिए।

प्रतिनिधिसभा निर्वाचनपछि खाँण र आरजुको सम्बन्ध चिसिएको चर्चा कांग्रेसवृत्तमा छ। चुनावपछि नयाँ सरकार गठनको अभ्यास चलिरहँदा गृहमन्त्री नै थिए, खाँण।

खाँण माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ लाई प्रधानमन्त्री छाडेर पाँचदलीय गठबन्धनको सरकार बनाउनुपर्ने स्थिति रहेको देउवालाई सन्देश दिन चाहिरहेका थिए।

तर, कांग्रेसकै नेतृत्व र त्यो पनि आफ्नै पति प्रधानमन्त्री बन्नुपर्ने अडानमा रहेकी आरजुले खाँणको त्यो सन्देश देउवासम्म पुग्नै दिइनन्।

पछिल्लो समय चिसिएको सम्बन्धका कारण सभापति देउवा नक्कली भुटानी शरणार्थी प्रकरणमा पत्नी आरजुको प्रतिरक्षामा मात्रै उत्रिएको भान खाँणनिकट कांग्रेस सांसदहरूलाई परेको छ।

पक्राउ परेको भोलिपल्टै खाँणनिकट सांसदहरू देउवालाई भेटेर आफ्नालाई बचाउन पार्टीका अरू नेतामाथि अन्याय नगर्न चेतावनी नै दिएका थिएका थिए।

कांग्रेस सांसदहरूका अनुसार खासमा आर्थिक लेनदेनमा ‘दुई भाउजू आमनेसामने’ भएका छन्।

नेतृ आरजुले एक टेलिभिजनलाई अन्तर्वार्ता दिँदै पूर्वगृहमन्त्री खाँणले प्रहरीको हातबाट खोसेर प्रमाणको कागज निलेको विषयमा टिप्पणीमात्र गरेकी छैनन्, मञ्जुको जिम्मा लिन नसक्ने पनि प्रस्ट पारेकी छन्।

‘म कागज खाने मान्छे होइन, घाँस खाने मान्छे पनि होइन। भुटानी शरणार्थी प्रकरणमा मैले एक पैसा खाएको छैन। अडियो फेक हो। मञ्जुको बारेमा मलाई थाहा छैन। म उसको जिम्मेवारी लिन सक्दिनँ। ऊ मसँगै २४ घण्टा हिँड्ने मान्छे हो र?,’ आरजुले प्रश्न गरेकी छन्।