मलेसिया पुगेकी निशा ६ महिनामै अस्ताइन्

मलेसिया पुगेकी निशा ६ महिनामै अस्ताइन् सांकेतीक तस्वीर

पेनाङ्ग । मलेसियामा एक नेपाली युवतीको मृत्यु भएको छ।

नेशन गेट सलुसन् कम्पनीमा कार्यरत निशा मगरको मृत्यु भएको हो। मगर अपरेटर पदमा कार्यरत रहेकी थिइन।

ठूलो लागतमा मलेसिया पुगेकी उनी नेपालमा भनेको जस्तो काम र तलब नपाएपछि केही समय अगाडिबाट तनावमा रहेकी थिइन। उक्त कम्पनीमा कार्यरत लभकुमार साहका अनुसार तनावकै कारण हृदयाघात भई शनिबार उनको मृत्यु भएको हो।

मगरको सबै प्रक्रिया पुर्‍याएर नेपाल पठाउने तयारी गरिएको छ। ६ महिना अगाडि उनी मलेसिया गएकी थिइन।

नेसन गेट कम्पनीमा काम गर्ने अहिले धेरै नेपालीहरु मर्कामा परेका छन। कम्पनीले भने जति काम दिन नसक्दा उनीहरू समस्यामा परेका हुन। कम्प्युटरको पाटपुर्जा बनाउने उक्त कम्पनीमा अहिले ७ सय बेसी नेपालीहरु कार्यरत रहेका छन।

नेपालमा एक लाखदेखि तीन लाखसम्म बुझाएर उनीहरू उक्त कम्पनीमा काम गर्नका लागि गएका थिए। ६ महिना अगाडि त्यहाँ पुगेका उनीहरुलाई कम्पनीले छ दिन काम दिनुको साटो चार दिनमा झार्‍याे। बेसिक तलब मात्रै दिएर राखेको छ।

नेपालदेखि उनीहरू ओभर टाइमसहित मासिक २ हजार ४ सय ४५ रिंगेट दिने सम्झौतामा लागिएको थियो। उनीहरूको बेसिक तलब १५ सय ५० रिंगेट रहेको छ। दैनिक १२ घण्टा ६ दिन  काम गर्नुपर्ने सम्झौता भय पनि त्यो नहुँदा उनीहरूलाई थप समस्या परेको छ।

सिनामंगलस्थित अल जफरा, पिङ्गलास्थानमा रहेको जेपी ओभरसिजलगायत मार्फत नेपाली युवा युवतीहरु त्यहाँ पुगेका छन। महोत्तरी, राजविराज, सल्यानलगायतका उनीहरू कम्पनीले भने जति तलब र काम नदिँदा तनावमा रहेको बताउँछन।

‘मैले म्यान पावरलाई तीन लाख बुझाएको छु। यो रकम लोन लिएर निकालेको हो। अहिले हामीले पाउने तलबले यही लोन तिर्न पुग्दैन। म्यानपावरले भने जस्तो छैन। पासपोर्ट कम्पनीसँग छ। हामीहरूलाई काम छैन, हामी आफ्नै टिकटले नेपाल जान्छौँ भन्दा उल्टै ३५ सय रिंगेट तिर्नु अनि लैजानु भन्छ,’ महोत्तरीका लभकुमार साठी दुखेसो पोख्दै भन्छन् ‘हामी सयभन्दा बढीले कम्पनीमा आन्दोलन पनि गर्‍याैँ तर समाधान भएन।’

लभ कुमारकाअनुसार नेपालमा म्यानपावरले छिटो लैजाने भन्दै तीन लाख रुपैयाँ उनीसँगबाट लिएको थियो। उनी अल जाफरा म्यानपावरबाट मलेसिया गएका हुन।

सरकारले मलेसियाका लागि फ्रि भिसा फ्रि टिकेटको व्यवस्था गरेको छ। तर, महोत्तरीका साठीले जस्तै तेजेण्दर साह, ललितकुमार साह, राकेश ठाकुर, ओमकुमार मण्डल लगायतले ३ लाख रुपियाँ दिएका थिए।