नेपाल र नेपाली चिनिएको विश्वकप

नेपाल र नेपाली चिनिएको विश्वकप

दाेहा। जहाँ लाखौं नेपाली श्रमिक छन्। सामान्य श्रमदेखि उच्चस्तरकै पदसम्म नेपाली जनशक्ति छ। रोजगारीको पहिलो गन्तव्यदेखि २० औं वर्ष कतारको भूमिलाई कर्मथलो बनाएका नेपाली छन्।

सन् २०२२ मा विश्वकै सबैभन्दा ठूलो र रोमाञ्चक महाभेला ‘विश्वकप फुटबल’ प्रतियोगिताले विश्वभरि चिनिएको देश हो, कतार। जसमा हज्जारौ नेपाली पनि गाँसिए। विश्वकपमा जोडिए। नेपाललाई जोडे। आफू चिनिए अनि नेपाललाई पनि चिनाउने प्रयास गरे।

गैरआवासीय नेपाली संघ (एनआरएनए) कतारका अध्यक्ष मोहम्मद मुक्तदाले कतारमा भएको विश्वकप फुटबल प्रतियोगितामा नेपाली समुदायले भरपुर मजा लिएको बताउँछन्।

‘हजारौं नेपालीले टिकट काटेर विश्वकप हेर्ने अवसर पाए। आफू कार्यरत रहेको देशमा विश्वकप हेर्न पाउनु गौरवको विषय हो,’ उनले प्रवास खबरसँग भने।

कतारमा सामान्य रोजगारी गरेर बसिरहेका हजारौं नेपाली श्रमिकले प्रत्यक्ष रुपमा विश्वकपको आन्नद लिएको उनले बताए। आँखै अगाडी विश्वकपलाई नियाल्दा आफूलाई पनि गौरव महसुस भएको उनको भनाइ छ।

‘म २० वर्षदेखि कमर्थलो बनाएर बसेको छु। आज मलाई कतारलाई कमर्थलो बनाउन पाउँदा गर्व लागेको छ,’ उनी भन्छन्, ‘किनभने विश्वकप जस्तो संसारकै ठूलो इभेन्ट कतारले छोटो समयमै गराएर देखाएको छ।’

कतारमा सम्पन्न विश्वकप ऐतिहासिक भएको उनको बुझाइ छ। ‘यसअघि भएका विश्वकपभन्दा अहिले भएको राम्रो र व्यवस्थित भएको छ,’ उनले भने।

विश्वकपको दौरान सयौं नेपालीले स्वंयसेवक भएर काम गरेको उनले बताए। विश्वकप जस्तो मेघा इभेन्टमा स्वयम्सेवक भएर काम गर्दा नेपालीहरुले धेरै कुराहरुको अनुभव गर्ने अवसर पाएको उनी बताउँछन्।

नेपाल चिनाउने प्रयास

विश्वकपमा नेपाल र नेपाली संस्कृतीलाई विश्वसामू चिनाउने मौका पाइएको उनले बताए।

कतारको सुप्रिम कमिटी र दोहास्थित नेपाली दूतावाससँगको समन्वयमा एनआरएनएले विश्वकप अवधिभर निरन्तर सांस्कृतिक कार्यक्रम आयोजना गरेको थियो।

विश्वकपलाई लक्षित गरी कतार सरकारले एशियन टाउनको सनैया, कर्निसलगायतका ठाउँहरुमा नेपाललाई आफनो कला र संस्कृति प्रस्तुत गर्ने अवसर दिएको थियो।

जहाँ आफूहरुले दैनिक ४५ मिनेट नेपाली कला संस्कृति झल्कने प्रस्तुती दिएको उनल जानकारी गराए। यस्ता किसिमका कार्यक्रमले नेपालको पर्यटन प्रबर्द्धनमा टेवा पुगेको उनको विश्वास छ।

विश्वकपको आनन्द उठाउन नेपाली समुदाय विभिन्न कार्यमा सक्रिय थिए। रंगशालाभित्र फुटबलका खेलहरू जारी रहँदा बाहिर विश्वभरबाट आएका फुटबल पारखीहरूलाई मनोरञ्जन दिने काम नेपाली समूदायले गरेको थिए।

नेपाली कलाकारले ‘फ्यान जोन’हरुमा आफ्नो कला संस्कृति प्रदर्शन गरेर दर्शकहरुको मन जितेका थिए।

विश्वकपलाई सफल बनाउन नेपाली समुदायले पुर्‍याएको सहयोगको कतारले उच्च मूल्याङन गरिरहेको उनको भनाइ छ।

अध्यक्ष मुक्तादाले विश्वकप सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा खटिने सबैलाई धन्यावाद प्रकट गरेका छन्।