बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

बेलायतमा नेपालीको जनसंख्या ७२ प्रतिशतले वृद्धि

लण्डन। बेलायतमा नेपालीको जनसंख्या गत एक दशकमा ७२ प्रतिशतले बढेको पाइएको छ।

बेलायतको दुई प्रमुख राज्य इङल्यान्ड र वेल्सको जनगणना गर्ने निकाय अफिस फर न्याशनल स्टाटिटिक्स )ओएनएस)ले  सार्वजनिक गरेको जातीयतासम्बन्धी तथ्यांकलाई सेन्टर फर नेपाल स्टडिज (सिएनएस) युकेले गरेको विश्लेषणमा सो तथ्य पाइएको हो।

सिएनएस युकेका अनुसार इङल्यान्ड र वेल्सको जनगणनामा जातीयता नेपाली (गोर्खा समेत) उल्लेख गर्नेहरूको संख्या १ लाख ३ हजार ८७५ पुगेको छ। यद्यपि यस तथ्याङ्कलाई ओएनएसले आधिकारिक पुष्टि गर्न बाँकी नै छ।

यसअघि सन् २०११ को जनगणनामा इङल्यान्ड र वेल्समा जातीयता ‘नेपाली” बताउने नेपालीहरूको संख्या ६० हजार २०२ मात्र रहेको थियो। एक दशकमा ती दुई मुलुकहरूमा नेपालीहरूको संख्या ७२.५५ प्रतिशतले बढेको तथ्याङ्कले देखाएको सिएनएसका कार्यकारी निर्देशक लोकेन्द्रपुरुष ढकालद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

तथ्याङ्कअनुसार रसमोर नेपालीको सबैभन्दा बाक्लो बसोबास रहेको क्षेत्र कायमै रहेको छ जहाँ नेपालीको जनसंख्या १० हजार ५७५ पुगेको छ। सन् २०११ को जनगणनामा रसमोरमा ६ हजार १३१ नेपाली थिए।

त्यसपछि दक्षिण पूर्वी लण्डनको ग्रीनीच नेपालीको दोस्रो घना बस्ती रहेको क्षेत्रमा कायमै छ जहाँ नेपालीको संख्या ७ हजार ६४९ रहेको छ। सन् २०११ को जनगणनामा त्यहाँ ५ हजार ४०७ नेपाली रहेको तथ्यांक थियो।

त्यसपछि रेडिङमा ५ हजार ३४४ नेपाली छन्। सन् २०११ को जनगणनामा रेडिङ २ हजार ७३५ नेपालीको जनसंख्यासहित चौथो स्थानमा थियो। सन् २०११ को जनगणनामा २ हजार ८०० जनसंख्यासहित तेस्रो स्थानमा रहेको ब्रेन्टमा भने नेपालीको संख्या घटेर १ हजार ९३५ मा झरेको देखिएको छ।

तथ्याङ्कअनुसार बेलायतका २० वटा स्थानमा नेपालीहरूको संख्या १ हजारभन्दा बढी रहेको पाइएको छ।