इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता

इरानमा बालबालिकाको मृत्युप्रति युनिसेफको चिन्ता

न्युयोर्क। इरानमा जारी विरोध प्रदर्शनका क्रममा बालबालिकाको मृत्यु भएको विषयलाई लिएर संयुक्त राष्ट्रसङ्घीय बालकोष (युनिसेफ) ले गम्भीर चिन्ता व्यक्त गरेको छ।

इरानमा जारी विरोधक्रममा ५० जना बालबालिकाले ज्यान गुमाएका युनिसेफद्वारा जारी विज्ञप्तिमा जनाइएको छ। इरानमा दुई महिनाभन्दा बढी समयदेखि जारी अशान्तिप्रति युनिसेफ, एम्नेस्टी इन्टरनेशनल र अन्य मानवअधिकारवादी सङ्घसंस्थाले बालबालिकाविरुद्धको अपराध र मानवअधिकार उल्लङ्घनमा कारबाही गर्न माग गरेका छन्।

इरानमा बालबालिकाको हत्या भएको, विभिन्न घटनामा उनीहरू घाइते भएका तथा कुनै गम्भीर कसुरमा दोषी नहुँदा पनि हिरासतमा लिइएकामा युनिसेफ गहिरो चिन्ता व्यक्त गरेको छ। गत बुधवार सात जना बालबालिका मारिएका थिए। मारिनेमा एक जना १० वर्षका बालक रहेका बताइएको छ। आफ्ना मातापितासँग कारमा यात्रा गरिरहेको ती बालकको गोली हानी हत्या गरिएको थियो। उनका बुबा गोली लागेर घाइते भएका उनकी आमाले सञ्चार माध्यमलाई बताएकी जनाइएको छ। इरानी मानव अधिकार समूहकाअनुसार प्रदर्शन सुरु भएदेखि कम्तीमा तीन सय ७८ जना मारिएका छन्।