आम निर्वाचनः प्रवासीको नोट चल्यो, भोट चलेन
सुरेश खड्का । म लामो समयदेखि प्रवासमा छु। विदेशमा बस्दा मलाई राजनीतिभन्दा देशका समसामयिक विषयमा चासो हुन्छ। खेलुकद, गीत–संगीत र सामाजिक कार्यमा मेरो औधी रूची रहन्छ। त्योभन्दैमा राजनीतिसँग मतलब छैन भन्न खोजेको चाहिँ पटक्कै होइन। नेपाली राजनीतिबारे अपेडट भइरहन्छु। राजनीति पनि दैनिकीभित्रकै एउटा पाटो हो। जसले राज्यबासी मूल मर्म बुझेर राज्य सञ्चालन गर्दछ।
भूगोलमा सानो भएपछि नेपाल वैचारिक मन्थनमा फराकिलो मानिन्छ। देशभित्र पूर्ण स्वतन्त्रता र प्रजातन्त्र छ। नयाँ सविधान छ। दिनहुँ समयअनुसार नयाँ–नयाँ कानून बनिरहेका छन्। प्रत्यक पाँच वर्षमा आवधिक निर्वाचनको परिकल्पना गरिएको छ। यतिबेला नेपालीजन नयाँ सविधान बनेपछि दोस्रो आम निर्वाचनको सँघारमा छौँ।
जताततै निर्वाचनको उत्साह छ। भोट माग्दै उम्मेदवारहरू घर–घरमा पुगिरहेका छन्। त्यसो त मतदाता पनि खुसिमय माहोलमा रमिरहेका छन्। मलाई निर्वाचनको मौसम रमाइलो लाग्छ। यो एउटा उत्वस पनि हो।
नेपालमा भएका प्रायः निर्वाचनमा मैले भोट हालेको छु। मैले रूचाएको उम्मेदवार भोट हाल्नु मेरो अधिकार हो। कम्तिमा तीन र बढीमा ६ महिनाको बीचमा म विदामा नेपाल आइरहेको हुन्छु। गत बैशाखमा सम्पन्न स्थानीय चुनावमा पनि म नेपालको गएको थिएँ। तर, यसपटक भने विदा मिलेन। आम निर्वाचनमा मैले भोट हाल्न पाउँदिन्नँ।
करोडौँ नेपाली मतदाता मध्येको एउटा पात्र हुँ, म। अहिले प्रवासमै छु। ज्यान प्रवासमा भएपनि ‘मन–नयन’ नेपाली आम निर्वाचन वरिपरि नै घुमिरहेको छ। देशमा निर्वाचन आयोगले चुनावको तयारी पूरा गरिसकेको छ। आम मतदाताहरू मतदान गर्ने मंसिर ४ कुरेर बसेका छन्। मेरो घर–परिवारका सदस्यहरू पनि मतदानपूर्व चुनावी मन्थनकै चर्चा गर्छन्।
विदेशमा बस्न बाध्य मजस्ता लाखौँ नेपाली युवा निर्वाचनलाई उत्सव ठान्छौँ। तर, मतदानबाट बञ्चित छौँ। चुनावको बेला यस्ता कुराले दुःखी बनाइरहेको हुन्छ। जसले पठाएको रेमिट्यान्सले अर्थतन्त्र धानिरहेको छ, उनीहरूले नै निर्वाचनमा मतदान गर्न पाउँदैनन्। आफूले मन पराएको उम्मेदवार चुन्न पाउने अधिकार खोसिएको छ।
‘विदेशमा रहेका नेपालीलाई उतैबाटै मतदान गर्न पाउने व्यवस्था गरिनुपर्छ’ भनेर धेरैले भाषण गरे। तर, कानुन कसैले बनाएनन्। बोले मात्रै वाचा पूरा गरेनन्। यो निकै गम्भिर विषय हो। विदेशमा श्रम बगाएर देशको अर्थतन्त्र जोगाइरहेका युवामाथि राज्यले अपराध गरेको छ।
विदेशबाट मतदान गराउन चाहे, यो एक हप्ताको काम हो। अहिले प्रविधिले जस्तोसुकै कुरालाई सम्भव बनाइरहेको छ। यदि नेता र सरकारले चाहेको भए अनलानइन मतदान तत्कालै सम्भव छ। मलाई त लाग्छ माथिल्लो तहमा रहेका मान्छेले यो चाहेकै छैनन्। उनीहरूलाई विदेशमा बस्ने नेपालीका बारेमा मतलब नै छैन।
यसको एउटा कारण पनि छ। विदेशमा गएका धेरै मान्छे नेपालको राजनीतिबाट दिक्क छन्। जस्तो विदेश गएका एक सयमा ८० जनाले नेपालका कुनैपनि राजनीतिक दललाई मन पराउँदैनन्। उनीहरूलाई थाहा छ–पार्टीको सिद्धान्त राम्रो भएपनि नेता गतिला छैनन्। यहाँ मैले भन्न खोजेको कुरा के भने, अहिले पार्टी र उनका नेतालाई विदेशमा बस्नेले मन पराउँदैनन्। मन नपर्ने भएपछि उनीहरूले भोट दिने कुरा भएन्। नेताहरूलाई यो कुरा राम्रोसँग थाहा छ कि विदेशबाट हामीलाई भोट आउँदैन। भोट नै नआउने भएपछि त्यत्तातिर किन समय खर्च गर्ने ? विदेशबाट मतदान गर्न पाउने व्यवस्था लागू नहुनुको प्रमुख कारण यही हो।
विदेशमा बस्ने नेपालीले देशको विकास भएको मात्रै हेर्न चाहान्छन्। जोसुकै दल आएपनि विकास गरोस् भन्ने चाहाना हुन्छ। त्यसैले उनीहरू नयाँ अनुहारको खोजिमा छन्। प्रवासी नेपालीलाई मतदानमा सहभागी गराउन नेता डराउनुको मुख्य कारण यही नै हो।
होइन भने अरू देशले गरिरहेका छन्, नेपालले चाँहि किन गर्न सक्दैन त ? जस्तो फिलिपिन्सको चुनाव हेरौं। केही महिनाअघि भएको फिलिपिन्सको चुनावमा विदेशमा रहेका फिलिफिनो नागरिकले भोट हाले। उनीहरूले आफू रहेको आफ्नो देशको दूतावासमा गएर मतदान गरे। यो व्यवस्थापन सरकारले मिलाएको थियो।
अहिले नेपालका प्राय ठाउँमा दूतावासहरू स्थापना भइसकेका छन्। जहाँ बढी नेपाली छन्, त्यहाँ दूतावास छ। फिसिपिन्सले जस्तै नेपालले पनि दूतावासमार्फत मतदान गर्ने व्यवस्था मिलाउन सक्छ। अनलाइनमार्फत भोट व्यवस्था गरियो भने झनै सहज। स्थानीय तहमा कठिनाइ भएपनि कम्तिमा सामानुपातिकतर्फ भएपनि विदेशमा बस्ने नेपालीलाई सहभागी गराइनुपर्छ।
मतदाता परिचय–पत्र नै चाहिन्छ भन्ने छैन। विदेशमा बस्ने सबैसँग राहदानी हुन्छ। राहदानी नम्बरको आधारमा मतदानमा सहभागी गराउन सकिन्छ। यो विश्वासिलो पनि हुन्छ। दूतावासमा सरकारी कर्मचारी नै हुन्छन्। यहाँ पनि चुनावमा खट्ने भनेको सरकारी कर्मचारी नै हुन्। यहाँ जस्तो प्रणाली हुन्छ, त्यही उता पनि प्रयोग गरेर सजिलै मतदान गराउन सकिन्छ।
चुनावको बेला नेपालका पार्टीहरूले विदेशमा बस्ने नेपालीका लागि यो गर्छौं, त्यो गर्छौं भनेर घोषणा–पत्र सार्वजानिक गर्छन्। तर, उनीहरूले चुनाव जितेपछि गर्ने केही होइनन्। मलाई त घोषणा–पत्रमा भनिएका सबै कुरा बकवास लाग्छन्। व्यवहारमा लागू नभएपछि घोषणा–पत्रमा लेखेर मात्रै के गर्नु रू गर्ने हो भन्ने सबै कुरा सम्भव छ। तर, लेखेर मात्रै हुँदैन, भित्रैदेखि गर्नुपर्छ भन्ने भावना हुनुपर्छ।
विदेशमा बस्ने नेपालीहरू इमान्दार छन्। अर्काको देशमा पसिना, आँसु र रगत बगाएका छन्। खासै ठूलो अपेक्षा पनि राख्दैनन्। उनीहरूले वैदेशिक रोजगारीको प्रक्रिया सहज र सरल होस् भन्ने चाहेका हुन्छन्। आफूहरू विदेश–आउँदा झन्झट् नहोस् भन्ने कामना छ। तर, उनीहरूको दुःख कस्ले सुन्ने ? प्रत्येक पाइला–पाइलामा उनीहरूलाई विभिन्न बहानामा दुःख दिइन्छ। श्रम कार्यालयदेखि विमानस्थल सबै ठाउँमा उनीहरूले कष्ठ झेलिरहेका हुन्छन्।
वैदेशिक रोजगारीमा जाने नेपालीहरू श्रमिक ठगीमा परिरहेका छन्। उता पुगेपछि पनि चरम श्रोषणमै पर्छन्। विरामी हुँदा घर फर्किन पाउँदैनन्। तलब रोकिन्छ। मृत्युवरण गरेका श्रमिकको शव समेत उतै रोकिन्छ। श्रमिकले भोगिरहेका यस्ता समस्या समाधानमा कसैको नजर पुग्दैन। खाली घोषणा–पत्रमा ठूला–ठूला कुरा लेख्छन्। शीर्ष नेताहरूले लाखौँ श्रमिकका हजारौँ समस्या समाधान गर्न सकेका छैनन्।
पटक–पटक फेल भइसकेका ‘टेस्टेड एण्ड फेल्ड’ नेताबाट यो सम्भव नभएपनि युवा नेतृत्व जाग्नैपर्छ। आखिर प्रवासी नेपालीले चाहेको यही हो। राजनीतिक चेतमा अब्बल विचार–दृष्टिकोण भएका कैयौँ नेपाली युवाहरू चुनावी मैदानमा उत्रिएका छन्। गत स्थानीय तह चुनावको परिणामले देशभर युवा जमातलाई हौसाएको छ। त्यसैले प्रवासबाटै भएपनि हामीले भन्नैपर्छ ‘नो नट एगेन’।
(काठमाडौं कलंकीका खड्का ओमनको इन्टरकन्टिनेन्टल होटलमा हाउसकिपिङ म्यानेजरको रूपमा कार्यरत छन्।)