२० लाख युवालाई देशमै रोजगारी दिने माओवादीको प्रतिबद्धता

२० लाख युवालाई देशमै रोजगारी दिने माओवादीको प्रतिबद्धता

काठमाडौं । नेकपा माओवादी केन्द्रले ४ मंसिरमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि घोषणापत्र सार्वजनिक गर्दै आगामी पाँच वर्षभित्र २० लाख युवालाई रोजगारी दिने प्रतिबद्धता गरेको छ।

प्रतिबद्धतापत्रमा रोजगारी र उद्यमशीलता विकासमा महिलालाई प्राथमिकता दिइने उल्लेख छ ।

‘आगामी पाँच वर्षभित्र २० लाख युवालाई छोटो माध्यमबाट रोजगार र स्वरोजगार बनाउने गरी राष्ट्रिय रोजगार प्राधिकरणले स्थानीय तहमा रहेको जनसंख्याको आधारमा ५०० देखि १००० जनासम्म युवालाई अभिमुखीकरण तालिम, बीउ पूँजी, सहुलियतपूर्ण कर्जा र प्राविधिक सहयोग उपलब्ध गराउनेछ। यसका साथै प्राधिकरणले श्रम क्षेत्रका सम्पूर्ण समस्याहरूको प्याकेजमा सम्बोधन गर्नेछ,’घोषणापत्रमा भनिएको छ।

वैदेशिक रोजगारीमा रहेका युवाहरूलाई नेपाल फर्केपछि रोजगारी–स्वरोजगारी सुनिश्चित गर्न राष्ट्रिय रोजगार प्राधिकरणले अनलाइनमार्फत परामर्श दिई उद्यम-व्यवसायको परियोजना प्रस्ताव तयार गर्न सहयोग गर्ने प्रतिबद्धतापत्रमा जनाइएको छ।

विपन्न, असहाय तथा ज्येष्ठ नागरिकका लागि सामुदायिक आवास बनाउने, ५ वर्षमा गरिबीको दर आधा घटाउने,  गरिबिको रेखामुनि रहेका जनतालाई व्यवसाय गर्न ५ लाख रुपैयाँसम्मको बिउ पूँजीविना धितो २ प्रतिशत ब्याजदरमा उपलब्ध गराइने पनि माओवादीले घोषणापत्रमा उल्लेख गरेको छ।