कतारको नेपाली दूतावासमा समाजसेवीहरूको ‘तमासा’, अशोभनीय ‘हर्कत’ले देशकै बेइज्जत

कतारको नेपाली दूतावासमा समाजसेवीहरूको ‘तमासा’, अशोभनीय ‘हर्कत’ले देशकै बेइज्जत फोटो सौजन्य : दीप सञ्चार अनलाइन

काठमाडौं। गत शुक्रबार कतारको दोहास्थित नेपाली दूतावासमा थुप्रै नेपालीहरूको जमघट थियो। तिहार तथा छठको अवसरमा शुभकामना आदान–प्रदान गर्न एउटा विशेष कार्यक्रमको आयोजना गरिएको थियो।

तिहार–उत्सव दूतावास परिसरमै गरिएपनि आयोजक भने गैरआवासीय नेपाली संघ (एनआरएनए) को कतार शाखा थियो। कतारका लागि नेपाली राजदूत नरेशविक्रम ढकाल त्यो समारोहको प्रमुख अतिथि थिए। अनि कार्यक्रमको अध्यक्षता गरिरहेका थिए, एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तादा।

कार्यक्रममा कतारमा स्थापित दजनौँ नेपाली सामाजिक संघ–संस्थाका अगुवाहरू अतिथि थिए। समारोहमा शुभकामना मन्तव्य दिने क्रम चलिरहेको थियो। लगतै कार्यक्रम सञ्चालक पदम गिरिले वाग्मती प्रदेश कतारका अध्यक्ष राज देवकोटालाई शुभकामना मन्तव्य व्यक्त गर्नका लागि मञ्चमा बोलाए।

शान्तपूर्ण वातावरणमा चलिरहेको कार्यक्रममा अध्यक्ष देवकोटाले सम्बोधन गरिरहँदा भने एक्कासी हल्लीखल्ली मच्चियो। देवकोटाले बोलेको माइक खोस्नेदेखि गाली गलौज र ठेला-ठेलका दृश्य देखा परे।

मञ्चमा पुगेका अध्यक्ष देवाकोटाले एउटा बेग्लै प्रसंग कोट्याएको भन्दै कार्यक्रमको अध्यक्षता गरिरहेका एनआरएनए कतारका अध्यक्ष मुक्तदाले माइक खोस्ने प्रयास गरेका थिए। अध्यक्ष मुक्तादा र महासचिव गिरिले माइक खोस्न थालेपछि विवाद अझ बढ्यो।

उनीहरूबीचको मनमुटाव लडाइँमा परिणत हुने संकेत देखेपछि मञ्चमा बसिरहेका राजदूत ढकालसहित अन्य अतिथिहरू उठेर विवाद–लफडा मत्थर पार्ने प्रयास गरे। तर, हो–हल्ला साम्य हुनुको सट्टा थप बढ्यो। अनि केहीबेर कार्यक्रम नै विथोलियो।

के बोलेका थिए देवकाटाले ?

सो कार्यक्रम हुनुभन्दा ठिक एक हप्ताअघि अन्तर्राष्ट्रिय नेपाली मुस्लिम समाज कतारको प्रथम अधिवेशन थियो। मुस्लिम समाजको कतार शाखा स्थापना गर्न प्रोफेसर रम्जान अलि मियाँको भूमिका अग्रणी मानिने एक नेपाली बताउँछन्। मियाँ समाज गठन गर्नेबेला तदर्थ समितिका संयोजक थिए।

मुस्लिम समाजको अधिवेशनमा मियाँलाई पनि अतिथिका रुपमा बोलाइएको थियो। कार्यक्रममा मियाँलाई संस्थापक नभनी वौद्धिक समाजसेवी भनेर मञ्चमा बोलाइएको बताइन्छ। आफैले स्थापना गरेको संस्थामा योगदानको कदर नभएको पाइएपछि मियाँको चित्त दुखेको कतारमा रहेका एक नेपालीको भनाइ छ।

यता मुस्लिम समाजले भने पछिल्ला दिनहरुमा मिँया समाजमा त्यत्ति धेरै सक्रिय नभएकोले उनको भूमिकालाई विशेष मह्त्व नदिएको ती नेपाली बताउँछन्।

‘मियाँ जी अन्य सामाजिक कार्यमा सक्रिय हुनुहुन्छ। उहाँ मानव अधिकारवादी संस्थाको प्रतिनिधि पनि हो। पछिल्ला दिनहरुमा उहाँको समाजमा सक्रियता कम थियो,’ उनले प्रवास खबरसँग भने, ‘मुस्लिम समाजमा भन्दा अन्य सामाजिक कार्यहरूमा क्रियाशील रहेकोले उहाँलाई कार्यक्रममा वौद्धिक व्यक्तिको रुपमा आशन ग्रहण गराइएको हो भन्ने मुस्लिम समाजको भनाइ छ।’

मियाँको यो विषय समाजभित्रको आन्तरिक कुरा थियो। त्यस कार्यक्रममा भएका कमि–कमजोरीको समीक्षा गर्ने मुस्लिम समाजको काम थियो। तर, देवकोटाले भने अर्कै कार्यक्रमको मञ्च प्रयोग गरेर मियाँको अपमान भएको आशय व्यक्त गरेका थिए।

मियाँ संस्थापक संयोजक भएकोले उनलाई सोही किसिमले सम्मान र कदर गर्नुपर्ने आशय देवकोटाको थियो। तर, उनले बोल्दै गर्दा एनआरएनए कतारका अध्यक्ष मोहम्मद मुक्तादा उठेर प्रतिकार गरेका थिए। मुक्तादाले आफूहरुको कार्यक्रममा आएर अरु संस्थाको बारेमा नबोल्न भन्दै माइक थुत्न खोजेका थिए। जसका कारण कार्यक्रम विथोलिएको थियो।

राजदूतलाई अपमान महसुस

दूतावास परिसरमै आयोजित कार्यक्रममा लफडा मच्चिएपछि राजदूत ढकाल दुःखी बनेका छन्। आफू प्रमुख अतिथि रहेकै कार्यक्रममा झै–झगडा र ठेला–ठेल भएपछि उनी चिन्तित बनेका हुन्।

‘उहाँ एकदमै निराश देखिनुहुन्थ्यो। वरिष्ठ समाजसेवी भनेर कहलिएकाहरूले नै त्यस्तो हर्कत देखाए,’ कार्यक्रममा सहभागी एक नेपालीले भने, ‘कम्तिमा राजदूतलाई सम्मान गर्न भएपनि झगडा गर्नु हुँदैन्थ्यो। उहाँले अपमान महसुस गर्नुभएको छ।’

आँखैअघि तमासा नियालिरहेका राजदूत ढकालले सोही दिनदेखि एउटा प्रण समेत गरेका थिए– कतार सरकारसँग अनुमति लिएका बाहेक अन्य कुनै पनि नेपाली कार्यक्रममा सहभागि नहुने।

‘प्रमुख अतिथि बनेको कार्यक्रममा उहाँलाई झगडा छुट्याउन्ने बाध्यता आइलाग्यो। राजदूतज्यूलाई निकै लज्जाबोध भएको छ,’ कार्यक्रममा सहभागी ती नेपालीले सुनाएका छन्।

नेपाली समुदाय विभाजित, मागियो मुक्तादाको राजीनामा

शुक्रबारको घटनापछि कतारको नेपाली समुदाय विभाजित भएको छ। सार्वजानिक कार्यक्रममा देखाइएको अशोभनीय हर्कतले देशकै इज्जत र प्रतिष्ठामा आँच पुग्ने भन्दै धेरै नेपालीले आलोचना गरेका छन्।

एउटा भिडियो अहिले सामाजिक सञ्जालमा भाइरल छ। कतिपय नेपालीहरूले असम्बन्धित कार्यक्रममा फरक प्रसंग निकालेर विवाद बढाउन खोजेको भन्दै वाग्मती समाजका अध्यक्ष देवकोटाको आलोचना गरेका छन्। यता एनआरएनए अध्यक्ष मुक्तदाले पदीय मर्यादा बिर्सेर माइक खोस्न गएको भन्दै तीव्र रुपमा विरोध खेपिरहेका छन्।

सामाजिक सञ्जालमा लेखिएका स्टाट्स र प्रतिक्रियाले यो घटनालाई लिएर कतारको नेपाली समुदाय दुई चिरामा विभाजित भएको प्रष्ट छ। केही नेपालीहरूले भने अध्यक्ष मुक्तादाले तुरुन्तै राजीनामा दिनुपर्ने माग गरेका छन्। सामाजिक सञ्जालमार्फत् राजीनामा मागिएको हो।

अपमानित हर्कत क्षमायोग्य छैनः देवकोटा

यस विषयमा थप बुझ्न खोज्दा देवकोटा सम्पर्कमा आएनन्। उनको फोन उठेन। यसबारेमा उनले वाग्मती प्रदेश कतारको तर्फबाट प्रेस विज्ञप्ति जारी गरेका छन्। उनले मुक्तादालाई समाजको नेतृत्वदायी भूमिकाबाट वञ्चित गर्नुपर्ने माग गरेका छन्।

‘शुभकामना कार्यक्रममा बोलाइएको अतिथिमाथिको अपमानित हर्कत क्षमायोग्य छैन। सिङ्गो समाजको नेतृत्व गर्ने हुँ भन्ठान्नेबाट यस्ता अहंकारी र दम्भिपनाले समाजलाई डोर्याउने खाल्डो तिर नै हो,’ विज्ञप्तिमा भनिएको छ, ‘तसर्थ यस्ता कुन्ठित विचार बोकेबाट समाजको सर्वोपरी हित नहुने र समाजमा अराजकतावादी तत्वहरू हावी हुने हुँदा यसबारे नेपाली राजदूतावासले आवश्यक कदम उठाई मुक्तदा मुसलमानलाई समाजको नेतृत्वको भूमिकाबाट वञ्चित गरियोस् भनी ध्यानाकर्षण गर्दछौँ।’

समाधानको लागि छलफलमै छौंः अध्यक्ष मुक्तादा

यस विषयमा एनआरएनए कतारको औपचारिक धारणा भने अहिलेसम्म सार्वजनिक भएको छैन। प्रवास खबरले मुक्तादालाई यस विषयमा सोधेको थियो।

उनले छोटो जवाफ दिँदै भने, ‘अहिले हामिले यही विषयमा छलफल गरिरहेका छौं। समाधानको लागि छलफलमै छौं। पछि जानकारी गराउँछु,’ उनले भने।

दुवै पक्षलाई बोलाएर सहमति गराउँदैछुः राजदूत ढकाल

यस विषयमा प्रवास खबरले राजदूत ढकाललाई समेत सोधेको थियो।

उनले यो त्यत्ति ठूलो झगडा नभएको बताएका छन्। तर, यस्ता किसिमका झै–झगडाले नेपाली समाजलाई विश्व जगतले हेर्ने दृष्टिकोण नराम्रो हुने भन्दै यस्ता गतिविधिले सिंगो देशलाई असर पर्ने चिन्ता व्यक्त गरे।

‘आयोजक हामी होइनौँ, एनआरएनए हो। विषय त्यत्ति ठूलो र गम्भीर त होइन तर, यस्ता क्रियाकलपाले नराम्रो असर पार्छ। देशकै इज्जत र प्रतिष्ठाको सवाल हुन्छ,’ उनले प्रवास खबरसित टेलिफोनमा भने।

यो विवादलाई साम्य पार्न आफूले दुवै पक्षलाई दूतावासमा बोलाएर सहमति गराउने प्रयास गरिरहेको जनाएका छन्। ‘दुवै पक्षलाई बोलाएर मिलाउने प्रयास भइरहेको छ। सायद केही समयमा उहाँहरूबीच सहमति भएको विज्ञप्ति पनि आउला,’ उनले भने।

दुवै पक्षबीच व्यक्तिगत इगोका कारण पनि सो कार्यक्रममा समस्या सिर्जना भएको राजदूतको बुझाइ छ। ‘एकआपसबीच व्यक्तिगत इगो पनि थियो भन्ने सुनिएको छ। नेपालीहरू जहिले एकआपसमा विवाद गर्छन्,’ उनले चिन्ता व्यक्त गर्दै भने, ‘अहिले त विदेशीहरुले पनि थाहा पाइसके नेपालीहरु आफू–आफूहरूबीच झगडा गर्छन् भनेर। यो पक्कै राम्रो होइन।’