पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु

पोखरा। नवौं राष्ट्रिय खेलकुदअन्तर्गत पोखरामा प्याराग्लाइडिङ दुर्घटना हुँदा एक खेलाडीको मृत्यु भएको छ। आइतबार विहान साढे ११ बजे पोखरा १८ सराङकोटबाट उडेको प्याराग्लाइडिङ एक्कासी भुईंमा खसेको थियो। दुर्घटनामा नेपाल आर्मीका खेलाडी पोखरा १० अस्पताल चोकका २६ वर्षीय निसिम थापाको मृत्यु भएको हो।

दुर्घटनामा घाइते भएपछि उालाई उपचारका लागि मेट्रोसिटी अस्पताल पुर्‍याइएको थियो। उपचारकै क्रममा थापाको मृत्यु भएको राष्ट्रिय खेलकुद परिषद्ले जनाएको छ। खेलाडीको मृत्यु भएपछि राखेपले दुख ब्यक्त गरेको छ। राखेप बोर्ड सदस्य अन्जन धमलाले खेलाडीको मृत्युले राखेप मर्माहत भएको बताए।

‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्युले मर्माहत बनाएको छ। यो दुखद घटनाको दुख ब्यक्त गर्दछौं,’ उनले भने, ‘प्रतिश्पर्धाकै क्रममा खेलाडीको मृत्यु हुनु राम्रो होइन। यसका बारेमा हामी छानविन गर्छौं र निष्कर्ष बाहिर ल्याउछौं।’ सराङकोटबाट उडेको केही बेरमै थापा बनिरहेको घरमा ठोकिएएको कास्की प्रहरीले जनाएको छ। पोखरा प्याराग्लाइडिङको हव भएकोले आठौं प्रतियोगिता देखि पोखरामा प्याराग्लाइडिङको प्रतिश्पर्धा हुँदै आएको छ।

राखेपले विमा संस्थानसँग खेलाडी र खेलसँग सम्बन्धित सबैको वीमा गरेको छ। खेलका क्रममा कोही घाइते भए विरामीको उपचारका लागि १ लाख दिने र कारणबश मृत्यु भए १० लाख दिने गरी व्यवस्था गरिएको धमलाले बताए। यसबाहेक सम्बन्धित प्रदेशले पनि बीमा गरेको छ।



No ads found for this position