दसैंमा घुम्नुहोस् यी ठाउँहरु
काठमाडौं। दसैं तथा तिहारमा देश तथा विदेशमा रहेका अधिकांश नेपालीहरू घरघरमा पुग्छन्। आफ्नो काम गरिरहेको ठाउँमा बिदा लिन्छन्। तर, सबै मानिसको दसैं टीका नै हुन्छ भन्ने हुँदेन। कसैले दसैं मनाउँदैनन् भने कसैको कुनै वर्ष दसैं हुँदैनन्। यस्तो बेला धेरैले घुम्ने ठाउँको खोजी गरिरहेका हुन्छन्। पछिल्लो समय चाडपर्वको अवसर पारेर देशभित्रकै विभिन्न नयाँ-नयाँ स्थानहरुमा घुम्ने प्रचलन बढिरहेको हो।
घुम्ने प्रचलन बढेसँगै नयाँ-नयाँ प्राकृतिक र सांस्कृतिक गन्तब्यहरुको पहिचान समेत बढ्दो छ। विविध सास्कृतिक र प्राकृतिक दृष्टिकोण पर्यटकीय रुपमा धनी नेपालसँग धेरै रमणीय स्थानहरु छन्। साहसीक पर्यटन, जल पर्यटन, वाइल्डलाइफ पर्यटन, ट्रेकिङ, माउन्टेन क्लाइम्विङसँगै विविध संस्कृतिको धनी नेपालमा गन्तब्यहरु धेरै छन्। यसमध्ये केही केही गन्तब्यबारे लेखेका छौं।
खप्तड
सुदूरपश्चिमको आध्यात्मिक भुगोल मानिने खप्तडलाई धर्तीको स्वर्गको रुपमा चिनिन थालेको छ। स्कन्द पुराणमा खेचराद्री भनिएको खप्तड हुँदै युधिष्ठिर स्वर्ग गएको विश्वास रहिरहेको र खप्तड बाबा आधा शताब्दीसम्म खप्तडमा बसेको आध्यात्मिक इतिहास छ।
खप्तडमा त्रिबेणीधाम, सहस्त्रलिंग, केदारढुँगा लगायत धार्मिक मन्दिर छन्। खप्तड समुन्द्री सतहबाट ३ हजार २ सय ७६ मिटर उचाइमा छ। त्यहाँ २२ वटा पाटन छन्। थरिथरिका चरा, वनस्पति र जडीबुटी पाइन्छ। सरकारले ०४३ असार ९ गते घोषणा गरेको २ सय २५ वर्ग किलोमिटरमा फैलिएको खप्तड राष्ट्रिय निकुञ्ज बाजुरा, डोटी, बझाङ र अछाममा पर्छ।
काठमाडौं–धनगढी पुग्न पूर्व पश्चिम राजमार्ग हुँदै जाँदा ६ सय ६२ किलोमिटर छ। यद्यपि कठमाडौंबाट धनगढी पुग्न हवाइमार्ग प्रयोग गरे ५५ मिनेटमा पुग्न सकिन्छ। धनगढी–सिलगढी २ सय किमि। बसमा आठ घन्टा। अथवा काठमाडौं–धनगढी १ घन्टा हवाई यात्रा। डोटी सदरमुकाम सिलगढीबाट हिँडेर जाँदा झिग्रानाममा एक रात बसेपछि भोलीपल्ट ८ घन्टा हिँडे निकुञ्ज मुख्यालय पुगिन्छ।
मुक्तिनाथ
मुस्ताङ जिल्लामा अवस्थित मुक्तिनाथ एक उत्कृष्ट धार्मिक तथा प्राकृतिक गन्तब्यको रुपमा लिइन्छ। समुन्द्रि सहतबाट ३ हजार ८ सय मिटर उचाइमा रहेको मुक्तिनाथ हिन्दु र बौद्धमार्गिको साझा तिर्थ समेत मानिन्छ। मन्दिर दर्शन पछि मन्दिर हाताको १ सय ८ धारामा नुहाए पाप पखालिने जनविश्वास छ।
मुक्तिनाथ हातामा नरसिंह गुम्बा, ज्वालामाई मन्दिरका साथमा शाक्यमुनि बुद्ध र गुरु पद्मसंभवका ठूल–ठूला मूर्ति छन्। मन्दिर मुन्तिर रानीपौवा बजारमा दुई दर्जन होटल र दुईटा धर्मशाला छन्।
काठमाडौंबाट मुक्तिनाथको यात्रामा निस्किदा सबैभन्दा पहिला बेनी पुग्नुपर्छ। बेनी पुग्न काठमडौंबाट २ सय ८२ किलोमिटर छ। त्यसपछि बेनी–जोमसोम ७५ किलोमिटर छ। यद्यपि पोखरा गएर जोमसोमबाट हवाइयात्रा गरे उडान १८ मिनेट मात्रै छ। त्यसपछि जोमसोम–मुक्तिनाथ २२ किलोमिटर मात्रै छ।
जोमसोमबाट दक्षिण दुई किलोमिटर दुरीको ठिनी गाउँमा एक रात बिताउन सकिन्छ। जोमसोम–मुक्तिनाथ जीप र बसहरु चल्छन्। ठिनीसम्मै जिप र मोटरसाइकल पुग्छन्।
राराताल
बिदा मनाउन उत्कृष्ट गन्तव्य खोजिरहेकाहरुका लागि मुगुको रारालाई राम्रो विकल्प हुन सक्छ। धर्तीको स्वर्ग पनि भनिने रारा पुग्दा जोकोहीको पनि प्रकृतिक मनोरममा भुल्न सक्छ।
रारा जान सुर्खेतबाट २ दिनमा सजिलै सडक यात्राबाट रारा पुग्न सकिन्छ। कर्णालीको राजधानी सुर्खेतबाट हवाई यात्रामा गए त्यही दिन नै राराको अवलोकन गर्न पाइन्छ।
राराका लागि कम्तिमा सुर्खेतदेखि रारासम्मका लागि कम्तीमा ६ दिनको समय लाग्छ। सुर्खेतबाट हिँडेको पहिलो दिन दैलेखको रानीमत्ता हुँदै राकम कर्णाली भएर कालिकोटको नाग्मसम्म सहजै पुग्न सकिन्छ। नाग्मबाट ९३ किलोमिटरको यात्रा तय गरेपछि रारात पुग्न सकिन्छ।
खस राज्यको राजधानीको रूपमा रहेको, विराट राजाको दरबार रहेको, कनकासुन्दरी देवीको मन्दिर र पाण्डव गुफा समेत रहेको उक्त सिंजा क्षेत्र मनोरम छ। त्यहाँबाट भुलभुलेमा हुँदै मुगु जिल्लाको सिमानामा गाडी पार्किङ गरेर करीब आधा घण्टा हिँडेपछि धर्तीको स्वर्ग राराको दर्शन पाइन्छ। अनि रारा किनारै किनार पैदल हिडे एक घण्टामा रारा पुगिन्छ। रारा यात्रामा अग्ला हिमालहरूको दृश्यावलोकन गर्ने अवसर समेत पाइन्छ।
सौराहा
नेपालको एक उत्कृष्ट पर्यटकीय गन्तव्य चितवनको सौराहा पनि मानिन्छ। खासगरी सौराहा वाइल्डलाइफ टुरिजमका लागि प्रशिद्ध रहेको छ। सौराहाको पर्यटन चितवन राष्ट्रिय निकुञ्ज र त्यहाँका जनावर, पंक्षीहरुमा अडिएको छ। हात्ती चढेर जंगल सफारी गर्नु, वन्यजन्तुहरु हेर्नु, राप्ती नदिमा डुङ्गा सयर गर्नु, सूर्यास्त हेर्नु, थारु संस्कृतिको अवलोकन गर्नु सौराहाका आकर्षणहरु हुन्।
सौराहामा प्रसस्त तारे होटलहरु भएकाले दसैंलगायतका बिदा मनाउन नेपालीहरु प्रशस्त छन्। सौराहामा हात्ती सफारी सहकारीले चलाउने गरको छ।
सौराहा नेपालको मध्यमाञ्चल विकास क्षेत्र, नारायणी अञ्चलको चितवन जिल्लामा अवस्थित छ। सौराहा पुग्न काठमाडौंबाट पृथ्वी राजमार्ग हुँदै १ सय ६५ किलोमिटरको दुरीमा रहेको छ।
कालिञ्चोक
दोलखा जिल्लामा अवस्थित कालिञ्चोक पनि बिदा मनाउन एक गन्तब्यको रुपमा लिन सकिन्छ। कालिञ्चोक समुन्द्रि सतहबाट ३ हजार ७ सय मिटर मिटरको एउटा शक्ति पिठ हो। त्यहाँ भगवती, गणेशका मूर्ति र शिवपार्वती कुण्ड छन्। कालिञ्चोक दर्शनले मनोकामना पुरा हुने जनविश्वास छ।
कालिञ्चोक बेस क्याम्प कुरी भञ्ज्याङमा प्रसस्त होटलहरु छन्। जहाँ पाँच सयदेखि तीन हजार रुपैयाँसम्मका कोठा पाइन्छ। कुरी बजारबाट हिँडेर मन्दिरमा पुग्न एक घन्टा लाग्छ। कालिञ्चोकबाट सूर्योदय, सूर्यास्त र हिमालको रोचक दृश्य देखिन्छ। त्यहाँबाट लाङटाङ, गौरीशंकर, नुम्बुरदेखि सगरमाथासम्म देखिन्छ। काठमाडौं–चरिकोट जम्मा १ सय ३३ किलोमिटर छ भने चरिकोट–कालिञ्चोक १७ किलोमिटरको दुरीमा छ।
लुम्बिनी
शान्तीका प्रतिक भगवान बुद्धको जन्मस्थल लुम्बिनी पनि बिदा मनाउन जानका लागि एक उत्कृष्ट गन्तब्यको रुपमा लिन सकिन्छ। काठमाडौंबाट करीब ३ सय किलोमिटरको दुरीमा रहेको लुम्बिनी ऐतिहासिक दृष्टिकोण अत्यन्तै प्रसिद्ध मानिन्छ। अझै संसारभरका बौद्ध धर्मावलम्बीहरुका लागि एक सर्बोत्कष्ट गन्तब्यको रुपमा लिइन्छ।
लुम्बिनीमा मायादेवी मन्दिर छ। मन्दिरमा इसापूर्व तेस्रो शताब्दीदेखि सातौं शताब्दीसम्मका भग्नावशेष छन्। सिद्धार्थको जन्मस्मारक शिला पनि छ। त्यहाँ चौथो शताब्दीको मूर्ति छ। त्यसले सिद्धार्थको जन्मदृश्य झल्काउँछ।
हलेसीधाम
हलेसीधाम हिन्दु, बौद्धमार्गी र किराँतीको साझा तीर्थ मानिन्छ। हलेसी दर्शनले दुःखबाट मुक्ति, पदोन्नति, खडेरीबाट मुक्ति, सन्तान लाभ र निरोगी हुने जनविश्वास छ। गुफामा धर्मद्वार, जन्मद्वार र पापद्वार छन्। त्यहाँ दुइटा ठुला गुफा छन् भने वरपर अरू गुफा छन्।
हलेसीमा नेपाली सामान्यत एक रात बस्छन्। त्यहाँ मध्यम खालका होटल छन्। पानीको समस्या छ। काठमाडौंदेखि बनेपा–बर्दिबास सडकको खुर्कोट खण्डबाट मध्य पहाडी लोकमार्ग हुँदै घुर्मीबाट हलेसी पुग्न २ सय १६ किलोमिटर छ। काठमाडौंको चाबहिल र कोटेश्वरबाट जीप छुट्छन्। जीपमा १० घण्टामा हलेसी पुग्न सकिन्छ।
पोखरा
पोखरा पनि प्रकृतिक रुपमा निकै सुन्दर शहर हो। पोखराको एउटा सानो उपत्यकामा मन बहलाउने धेरै चिज छन्। हिमाल, ताल, गुफा, मन्दिर, गुम्बा, नदी र झरना, प्याराग्लाइडिङ, अल्ट्रालाइट, बन्जीजम्पजस्ता साहसिक खेल पनि त्यहीँ खेल्न पाइन्छ।
त्यहाँबाट माछापुच्छ्रे, पुठ्ठा हिउँचुली, धौलागिरि, मोदित्से, अन्नपूर्ण, घान्द्रुक, हिउँचुली, नीलगिरि, मर्दी लम्जुङ, मनास्लुलगायत दर्जनौं हिमाल देखिन्छ। फेवाताल, बेगनास ताल रूपा, खास्टे, दिपाङ, गुँदे, मैदी र न्युरेनी लगायतका सुन्दर तालहरु पोखरामा छन्।
इलाम
चियाबारीले चर्चित इलाम पनि एक उत्कृष्ट गन्तब्य हो। सदरमुकाममा बडाहाकिम गजराजसिंह थापाले विसं १९२० मा चिया रोपेका थिए।
चिटिक्क परेको इलाम बजारमा राई, लिम्बू, बाहुन, क्षत्री, मगर, नेवार, शेर्पा, लाप्चा र मधेसी अनुहार भेटिन्छन्। माइपोखरी, सन्दकपुर, कन्याम, अन्तुडाँडा, छिन्टापु, मिकलाजोङ, टोड्के झरना, माङमालुङ, सिद्धिथुम्का, गजुरमुखी, माइखोला, पाथिभरा, मंगलबारे लगायतका सुन्दर घुम्ने ठाउँ पनि छन्।
इलामको अग्लो डाँडो सन्दकपुर ३ हजार ६ सय ३६ मिटर उचाइमा छ। त्यहाँबाट कुम्भकर्ण, कञ्जनजंघालगायत दर्जनौं हिमाल देखिन्छ।
स्वर्गद्वारी
प्युठान जिल्लामा रहेको स्वर्गद्वारी पनि एक धार्मिक गन्तब्य हो। त्यहाँबाट धौलागिरि, नीलगिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, हिमचुली, मनास्लु, चुरेन, पुथालगायत हिमशृंखला देखिन्छ। प्राकृतिक सौन्दर्यले भन्दा धार्मिक कारणले स्वर्गद्वारी चर्चित छ।
स्वर्गद्वारी २ हजार ४८ मिटरको उचाइमा छ। पाँच पाण्डव यतैबाट स्वर्ग गएका हुँदा स्वर्ग जाने ढोका भएकाले स्वर्गद्वारी भनिएको किंवदन्ती छ।
बन्दीपुर
तनहुँको पुरानो सदरमुकाम बन्दीपुर पनि एक उत्कृष्ट पर्यटकीय गन्तव्य हो। बन्दीपुरमा गुरुङ, मगर, नेवार, क्षत्री, बाहुनको बसोबास छ। बजार छेउको टुँडिखेलबाट धौलागिरि, माछापुच्छे्र, अन्नपूर्ण, लमजुङ, मनास्लु, हिमचुली, बौद्ध, दोर्जे लाक्पा, गणेश र लाङटाङ हिमशृंखला देखिन्छ।
काठमाडौंबाट मुग्लिन हुँदै डुम्रेसम्म बसमा गएर आठ किलोमिटर उकालोमा बन्दीपुर बजार आउँछ। डुम्रेमा बन्दीपुर जाने बस र जीपहरु प्रसस्त पाइन्छन्।
भेडेटार
धनकुटा जिल्लामा रहेको भेडेटार पछिल्लो समय आन्तरिक पर्यटनको उत्कृष्ट गन्तव्य बनेको छ । धरान उपमहानगरपालिकाबाट करिब १७ किलोमिटर उत्तरमा सुनसरी र धनकुटा जिल्लाको सिमानामा अवस्थित रहेको भेडेटार समुन्द्री सतहबाट १,४३० मिटर उचाईमा पहाडी क्षेत्रमा छ। जहाँ चिसो वातावरणमा रम्न र पहाडी एवं हिमाली भेगको सुन्दरता हेर्न जान सकिन्छ। भेडेटारको भ्यू टावरबाटसप्तकोशीको मनोरम दृष्य, पूर्वी तराईका फाँटहरूका साथै मकालु, कञ्चनजङ्घा, कुम्भकर्ण जस्ता हिमश्रृंखलाहरू एकै पटक हेर्नसकिन्छ।