लाल मोहम्मद हत्या : ‘सुटर’ का तीन सहयोगी पक्राउ

लाल मोहम्मद हत्या : ‘सुटर’ का तीन सहयोगी पक्राउ

काठमाडौं- काठमाडौंको गोठाटार गोली काण्डमा संलग्न भनिएका तीन अभियुक्तलाई प्रहरीले सार्वजनिक गरेको छ।

‘कपडा व्यवसायी’ लाल मोहम्मद भनिने मोहम्मद दर्जीको हत्यामा संलग्न भएको भनिएको तीन जनालाई प्रहरीले शुक्रबार पत्रकार सम्मेलन गरेर सार्वजनिक गरेको हो।

मोहम्मदको हत्यामा संलग्न रहेको भन्दै प्रहरीले एक महिलासहित तीन जनालाई पक्राउ गरेको थियो।

पक्राउ पर्नेहरूमा वीरगञ्ज महानगरपालिका–१६ का २१ वर्षीय महोरम मियाँ, वीरगञ्ज १५ का रेहान मियाँ र मकवानपुर बकैया गाउँपालिका घर भइ काठमाडौंको कपन बस्ने २१ वर्षीया सुम्मी भनिने सुस्मिता स्याङताङ रहेका छन्।

प्रहरीका अनुसार पक्राउ परेका महोरम र रेहानको हतियार व्यवस्थापनमा मुख्य भूमिका देखिएको छ।

मोहम्मद दर्जीको हत्यामा प्रयोग भएको हतियार उनीहरूले वीरगञ्जबाट काठमाडौं पठाएको अनुसन्धानबाट खुलेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रवक्ता प्रहरी उपरीक्षक दिनेशराज मैनालीले जानकारी दिए।

सुस्मिता भने गोली हानी मारिएका मोहम्मद दर्जीको गतिविधिहरू निगरानी गरेकी थिइन्।

प्रहरीका अनुसार पक्राउ परेका तीनै जनाको सहयोगमा सुटरलाई हतियार उपलब्ध गराउने काम भएको थियो।

गोठाटारमा एडभेन्चर इन्टरप्राइजेज गार्मेन्ट सञ्चालन गर्दै आएका मोहम्मद दर्जीमाथि असोज ३ गते साँझ गार्मेन्टकै अगाडि गोली प्रहार भएको थियो।

उनको उपचारको क्रममा मृत्यु भएको थियो।

प्रहरीले घटनास्थलबाट ‘मेड इन युएस’ लेखिएको पेस्तोल १ थान, ९ एमएम गोलीको खोका ४ थान र ९ एमएमको जङ्गी ४ राउन्ड फेला पारेको थियो।

पक्राउ परेका तीनै जनाविरूद्ध ज्यानसम्बन्धी कसुरमा अनुसन्धान अगाडि बढाइएको प्रहरीले जनाएको छ।