विदेशी पर्यटकका लागि भुटान खुला

विदेशी पर्यटकका लागि भुटान खुला

एजेन्सी,थिम्पु। झन्डै दुुई वर्ष लामो प्रतिबन्धपछि भुटान विदेश पर्यटकहरुका लागि पुनः खुला भएको छ। कोभिड–१९ महामारीपछि बन्द रहेको सिमाना हिमालयन राज्यले पुनः खोलेको हो। स्थानीय अर्थतन्त्रलाई पुनरुत्थान गर्न पर्यटनमा आबद्ध अधिकारीहरूसहित २३ विदेशी पर्यटक शुक्रबार भुटान पुुगेका छन्। प्राकृतिक सौन्दर्य र पुरातन बौद्ध संस्कृतिका लागि परिचित चीन र भारतको बीचमा जोडिएको भुटानले पहिलो संक्रमित भेटिएपछि सन् २०२० मा सिमाना बन्द गरेको थियो। करिब ८ लाख जनसंख्या भएको भुटानमा ६१ हजारलाई संक्रमण भएको छ भने २१ जनाको मृत्यु भएको छ। तर, कोभिडका कारण यहाँको अर्थतन्त्र भने धरासायी भएको छ।

‘हाम्रो लागि पर्यटन भनेको आम्दानी मात्र होइन’ भुटानको पर्यटन परिषद् (टीसीबी)का महानिर्देशक दोर्जी ध्राधुलले राजधानी थिम्पु नजिकै रहेको अन्तर्राष्ट्रिय विमानस्थलमा पहिलो पटक आगन्तुकलाई स्वागत गरेपछि भने। पर्यटकहरुलाई मह, बेसार सिम कार्ड दिएर स्वागत गरिएको थियो।

काठमाडौंबाट पहिलो उडानमा पुुगेका प्रत्येक आगन्तुकलाई उपहारस्वरूप अर्गानिक मह, चिया, बेसार र स्थानीय सिमकार्डको सानो प्याक उपहारस्वरूप दिइएको भारतीय समाचार संस्था एनडीटीले जनाएको छ।