विदेशमा कमाएको पैसा विलासितामा होइन उत्पादनको क्षेत्रमा लगानी गरौं ⁚ श्रममन्त्री कुँवर

विदेशमा कमाएको पैसा विलासितामा होइन उत्पादनको क्षेत्रमा लगानी गरौं ⁚ श्रममन्त्री कुँवर

काठमाडौं।श्रम,रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेर बहादुर कुँवरले विदेशमा कमाएको पैसा उत्पादनका क्षेत्रमा लगानी गर्नुपर्ने बताएका छन्।

चन्द्रलोक प्रतिष्ठानद्धारा शुक्रबार आयोजित वैदेशिक रोजगारका क्षेत्रमा देखिएका समस्या र समाधानका उपाय विषयक अन्तरक्रिया एवं बधाई तथा सम्मान कार्यक्रममा बोल्दै मन्त्री कुँवरले विदेशमा दुःख गरी कमाएको पैसा विलासितामा खर्च भइरहेकोले त्यसलाई उत्पादन क्षेत्रमा लगानी गर्नुपर्ने बताएका हुन्।

उनले विदेशी पुँजी र सिपलाइ देश निर्माणमा लगाउन सबैमा आग्रह गरेका छन्। ‘नेपालीहरुले दुःख गरी विदेशमा पैसा कमाउनु हुन्छ तर त्यो पैसा विलासिताका सामान किन्नमा खर्च भइरहेको छ।

त्यो रकमलाई उत्पादनका क्षेत्रमा लगाउन सक्यो भने बिस्तारै विदेश जाने बाध्यता पनि हटेर जान्छ र त्यसले रोजगारी पनि सिर्जना गर्छ,’ उनले भने। नेपालीहरु वैदेशिक रोजगारमा जानु रहर नभई बाध्यता भएकाले विदेशमा कमाएको पैसालाई पनि त्यहीअनुसार उपयोग गर्नुपर्ने उनको भनाई रहेको छ।

वैदेशिक रोजगारको नाममा ठगिनेहरुको संख्या धेरै भएकाले यसबारे नागरिकहरु आफू पनि सचेत हुनुपर्ने र विदेश जाँदा सबै जानकारी लिएर मात्रै जान पर्ने मन्त्री कुँवरको भनाई छ।साथै रोजगारीका लागि विदेश पठाईदिन्छु भन्दै विभिन्न बहानामा ठगी गर्नेहरुलाई उजुरीका आधारमा सरकारले कारबाही गरिरहेको समेत मन्त्री कुँवरले बताए।

कार्यक्रममा बोल्दै मन्त्री कुँवरले गैरकानुनी रुपमा विदेश गएका कामदारहरुको शवलाई नेपाल ल्याउन नसकिरहेको अवस्थामा आफुले परराष्ट्र मन्त्रालयसँग आवश्यक छलफल गरिरहेको पनि जानकारी दिएका छन्।