वैदेशिक रोजगारीको सूचना प्रणाली श्रमिकमैत्री बनाइँदै

वैदेशिक रोजगारीको सूचना प्रणाली श्रमिकमैत्री बनाइँदै

काठमाडौं। वैदेशिक रोजगार सम्बन्धी सूचना व्यवस्थापन प्रणालीकाबारेमा वैदेशिक रोजगार सम्बन्धी विविध विषयमा सम्बन्धित सरोकारवाला निकायसँग श्रम मन्त्रालयलले छलफल गरेको छ।

श्रम रोजगार तथा सामाजिक सुरक्षा मन्त्री शेरबहादुर कुँवरले वैदेशिक रोजगारीमा जाने श्रमिकले अनलाइनबाट लिने सेवालाई अझ प्रभावकारी र गुणस्तरीय बनाउनका लागि सम्बन्धित सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

उनले प्रविधिमैत्री समयमा मन्त्रालयले दिने सेवालाई सहज, गुणस्तरीय र प्रधावकारी ढंगले काम गर्न सम्बन्धित निकायलाई अनुरोध गरेका थिए।

कुनैपनि बेला श्रमिकलाई समस्या भएको गुनासो सुन्न नपर्नेगरी काम गर्नु सबैको दायित्व भएको उनले बताए।

ग्रामिण भेगबाट सेवा लिन आउने सेवा ग्राहीले समेत यो राज्य मेरो पनि हो है भन्ने खालको अनुभूति हुनेगरी काम गर्न सबै कर्मचारी र सरोकारवाला निकायलाई आग्रह गरेका छन्।

अहिले प्राविधिक क्षेत्रमा नयाँ तरिकाले काम गर्न अथवा अनलाईन सेवा सुरु गर्न आर्थिक समस्या भए मन्त्रालयले रकम उपलब्ध गराउन पनि तयार रहेको बताए।

वैदेशिक रोजगारमा ९ लाखसम्म ठगिएका गुनासो आइरहेकाले अब सरकार, म्यानपावर कम्पनी र संवयम् कामदारबीच समन्वय गरेर श्रमिक ठगिने गुनासो न्यूनिकरणमा लाग्ने बताए। मन्त्री कुँवरले विदेशमा काम गर्ने श्रमिकले ठूलो मात्रामा रेमिट्यान्स पठाइरहेकाले त्यो पैसालाई एकीकृत गरेर व्यवस्थित गर्ने, बैंक प्राणीलाई प्रभावकारी बनाउने र अझै श्रमिकलाई प्रोत्साहन हुने काम गर्ने बताए।

अहिले सरकारले परिचयपत्र, इ पासर्पोट, श्रम स्वीकृत, कल सेन्टर, विदेशबाटै श्रम स्वीकृत गर्ने, औषधी उपचार सेवा दिने जस्ता कामहरु अनलाईन बाटै गरिरहेको छ। त्यस्तै अनलाइनबाट दिने सेवामा सबैभन्दा प्रभावकारी श्रम स्वीकृत दिनेकाम भइरहेको छ।

छलफल कार्यक्रममा मन्त्रालयका सचिव, उपसचिव, वैदेशिक रोजगार विभाग, बोर्ड, सामाजिक सुरक्षा कोष, अध्यागमन विभाग, कन्सुर विभाग, राहदानी विभाग, सूचना प्रविधि विभाग, राष्ट्रिय परिचयपत्र तथा पञ्जिकरण विभागलगायतका कर्मचारीको सहभागि रहेको थियो।

उनीहरुले आफूहरुले दिने सेवालाई छिटो छरितो र प्रभावकारी बनाउनका लागि सबै विभागबाट एक, एक जना प्रतिनिधि मिलेर समिति समेत बनाएका छन्। समितिले प्राविधिक रुपमा देखा परेका समस्यालाई पहिचान गरी समाधानका लागि पहल गर्ने काम गर्ने छ।